global ime bank Long Banner Ad

गृहपृष्ठ असन्तुष्ट समूहलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह

असन्तुष्ट समूहलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह

असन्तुष्ट समूहलाई मूलधारको राजनीतिमा आउन गृहमन्त्रीको आग्रह

गृहमन्त्री बालकृष्ण खाणले वर्तमान ब्यवस्थाप्रति केही असन्तुष्टि जाहेर गर्दै मूलधारको राजनीतिभन्दा बाहिर रहेका दलहरूलाई पनि राष्ट्रिय राजनीतिको मूलधारमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् । उनले असन्तुष्टि जाहेर गर्ने अधिकार सबै नागरिक र दलहरूलाई भए पनि निर्वाचन बिथोल्ने अधिकार भने कसैलाई नभएको स्पष्टसमेत पारे ।

बुटवलमा बुधबार आयोजित लुम्बिनी प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले कुनै दल वा समूहका नाममा निर्वाचन खल्बलाउने र जनताले आफ्ना नेता चुन्ने अधिकार खोसिदिने अधिकार नभएको भन्दै मूलधारको राजनीतिमा आउन आग्रह गरे । ‘हामी मिल्नेसम्म लचक भएर असन्तुष्ट दलहरूसँग संवाद र छलफल गरिरहेका छौ’, उनले भने, ‘कतिपय माग ऐन संशोधनबिना सम्वोधन गर्न सकिँदैन । सरकारले ऐन तर्जुमा गरेर भए पनि जायज माग सम्वोधन गरी असन्तुष्ट समूहलाई मूलधारमा ल्याउने प्रयत्न गरिरहेको छ ।’

गृहमन्त्री खाणले यो कुनै दल वा नेतालाई जिताउने र हराउने निर्वाचन मात्रै नभएर प्राप्त अधिकारको संरक्षण गर्ने र नागरिकको जीवनस्तर बदल्ने अभियान भएको पनि बताए । ‘जनताले आफ्नो अधिकार प्रयोग गरेर आफूले चाहेको दल र नेता जिताउने र उनीहरूको माध्यमबाट प्राप्त अधिकार संरक्षण गर्ने, विकासको ढोका खोल्ने र जीवनस्तर फेर्ने अवसर हो,’ उनले भने, ‘त्यसैले कुनै दल वा समूहलाई निर्वाचन विथोल्ने र नागरिकको अधिकार खोस्ने अधिकार छैन ।’

उनले सरकार भयरहित, शान्तिपूर्ण र स्वतन्त्र निर्वाचन गराउन प्रतिवद्ध भएको बताउँदै त्यसअनुसार जुट्न सुरक्षाकर्मीहरुलाई आग्रहसमेत गरे । ‘सबै नागरिक सुरक्षित होउन् । ढुक्कसँग मतदानस्थलसम्म पुगेर आफूले रोजेको व्यक्तिलाई मतदान गरेर फर्कन सक्ने वातावरण बनाउनुपर्छ,’ उनले भने, ‘त्यसका लागि सुरक्षा व्यवस्थापनमा कुनै कसर बाँकी नराख्नु ।’

गृह मन्त्रालय र आन्तरिक मामिला, कानुन तथा संचार मन्त्रालय लुम्बिनी प्रदेशले आयोजना गरेको सुरक्षा गोष्ठीमा प्रदेशका १२ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख सशस्त्र, नेपाली सेना र अनुसन्धानका अधिकारीहरु सहभागी छन् । उनीहरुले दिनभर सुरक्षा छलफल गरेर सुरक्षा योजना बनाउने प्रदेशका आन्तरिक मामिला सचिव कोमलप्रसाद धमलाले जानकारी दिए ।

प्रकाशित समय : १७:४६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु