गृहपृष्ठ सरकारले थप आठ थरी वस्तुमा निर्यात अनुदानको सुविधा दिने

सरकारले थप आठ थरी वस्तुमा निर्यात अनुदानको सुविधा दिने

सरकारले थप आठ थरी वस्तुमा निर्यात अनुदानको सुविधा दिने

सरकारले थप आठ थरी वस्तुमा निर्यात अनुदानको सुविधा दिने भएको छ । निर्यातमा अनुदानप्रदान गर्नेसम्बन्धी (दोस्रो संशोधन) कार्यविधि, २०७९ मार्फत थप ८ थरी वस्तुमा अनुदान दिन लागिएको हो । योसँगै सरकारबाट निर्यात अनुदान पाउने वस्तुको संख्या ३४ पुगेको छ ।

यसपल्ट शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित तीन वस्तुमा अनुदान थपिएको छ । जसमा दुग्धजन्य पदार्थ (दूध, चिज, पनिर, छुर्पी), फलफूल, अम्रिसो (कुचो) छन् । संशोधित व्यवस्थाअनुसार यी वस्तुहरू विदेशी मुद्रामा तेस्रो मुलुक निर्यात गरेमा करिब ८ प्रतिशतसम्म अनुदान मिल्नेछ ।

त्यस्तै, अनुसूची–२ अन्तर्गत उत्पादनको कुल निर्यात मूल्यमा ३ प्रतिशत नगद अनुदान पाउने वस्तुको संख्या ११ वटा थियो । यो सूचीमा ५ वस्तु थपेर १६ वटा पुर्‍याइएको छ । थपिएका वस्तुहरूमा उच्च निर्यात सम्भावना भएका क्लिंकर, सिमेन्ट, स्टिल, रोजिन तथा तार्पेन, प्लाइउड छन् ।

यी सबै वस्तुमा करिब ८ प्रतिशतसम्म निर्यात अनुदान मिल्नेछ । गत असोज ३१ मा राजपत्रमा प्रकाशित उक्त कार्यविधिमा निर्यात अनुदान पाउन अनुसूची–१ मा रहेका वस्तुहरूको उत्पादनमा मूल्य अभिवृद्धि कम्तीमा ५० प्रतिशत र अनुसूची–२ मा रहेका वस्तुहरूको उत्पादनमा कम्तीमा ३० प्रतिशत हुनुपर्ने उल्लेख छ ।

मूल्य अभिवृद्धि ५० प्रतिशतभन्दा कम भएमा कम भएको मूल्य अभिवृद्धिअनुरूप वस्तु निर्यात गरेसरह अनुदान रकम उपलब्ध हुनेछ । मूल्य अभिवृद्धि ५० प्रतिशत वा सोभन्दा बढी भएमा वस्तु निर्यात गरेसरह अनुदान रकम प्राप्त हुनेछ ।

कुनै एक उद्योगले एक आर्थिक वर्षमा आफ्नो उत्पादित वस्तु ५० करोड रुपैयाँभन्दा बढी निकासी गरेमा बढी निकासी भएको मूल्यका आधारमा बढीमा ८ प्रतिशतसम्म नगद अनुदान सरकारले दिने भएको छ ।

प्रकाशित समय : १०:४७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु