‘उत्तर कोरियामा प्रेस स्वतन्त्रता छ’
वि.सं.२०७९ भदौ २० सोमवार ०९:४०
shares

विद्यार्थीहरूलाई गरेर सिक्ने वातावरण सिर्जना गर्नका लागि वागीश्वरी कलेजको पत्रकारिता तथा आमसञ्चार विभागले दुई हप्ते अन्तर्राष्ट्रिय मिडिया विषयक कार्यशाला गोष्ठी सुरु गरेको छ ।
विद्यार्थीहरूले विभिन्न मुलुकको पत्रकारिता इतिहास, कानुनी व्यवस्था र आचारसंहिताको खोजी गर्दै गोष्ठीमा आफ्नो कार्यपत्र प्रस्तुत गरी अध्येता र विज्ञहरूमार्फत टिप्पणी गराई कार्यपत्रलाई कसिलो बनाउने गरी गोष्ठी गरिएको हो । गोष्ठीको उद्घाटन गर्दै बागमती प्रदेशका सभास् सुरेन्द्रराज गोसार्ईले कार्यपत्र प्रस्तुतिले विद्यार्थीमा थप सिक्ने वातावरण निर्माण हुने बताए ।
आइतबार विद्यार्थी एलिना भेलेले उत्तर कोरियाको मिडिया विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् । उत्तर कोरियाबारे पश्चिमी मुलुकका मिडियाहरूले अनर्गल ढंगको प्रचार गर्ने गरेको र आफूले खोज्दा पनि त्यस्तै कुराहरू बढी भेटेको र वास्तवमा उत्तर कोरियामा प्रचार गरिएजस्तो तानाशाही नभएको स्पष्ट पारिन् ।
कार्यपत्रमाथि टिप्पणी गर्दै सभासद गोसाईंले आफूले उत्तर कोरियाको भ्रमण गर्दा नितान्त बेग्लै अनुभव पाएको सुनाए । कोरियामा इन्टरनेटको सुविधा व्यापक रूपमा रहेको र विज्ञान तथा प्रविधिको विकास अद्भुत ढंगले भएको पाएको स्मरण सुनाए ।
पश्चिमा मुलुकहरूले झुठको खेती गर्दै संसारलाई समाजवादी व्यवस्था नराम्रो हुने अभिप्रायले उत्तर कोरियाको अनर्गल प्रोपोगन्डा गरेको पाएको उनले स्पष्ट पारे । उत्तर कोरिया समाजवादी मुलुक भएकाले पश्चिमाहरू र खासगरी अमेरिका डराएकैले उत्तर कोरियाको वरपर दक्षिण कोरिया र जापानमा अमेरिकी सेना तैनाथ गरेको उनले बताए ।
उत्तर कोरियाले अमेरिकी आतंकबाट बच्नकै लागि हातहतियारको विकास गर्नु परेको र उसले नयाँ वैज्ञानिक अन्वेषणका लागि नेपालको बजेटभन्दा बढी व्यवस्था गर्ने गरेको जानकारी पनि उनले दिए ।
उत्तर कोरियामा भ्रमण गरेर सो मुलुकको बारेमा अध्ययन गरेका पत्रकार जीवन ढुुंगानाले पनि यता पढेको उत्तर कोरिया र हेरेको उत्तर कोरियाबीच आकाश पातालको फरक भएको बताए । उत्तर कोरियाले देशको सुरक्षाका लागि कडाइ गरेको तथ्य वास्तविक भएको र अमेरिकी दादागिरी अन्त नभएसम्म जारी रहने उनले बताए । देशको सार्वभौमिकता, अखण्डता र स्वाभिमानका लागि उत्तर कोरियाका पत्रकारले देशको हितको लागि लेख्ने गरेको भन्दै विश्वका कुनै पनि मुलुकले देशको विरुद्धमा नलेख्ने दृष्टान्त प्रस्तुत गरे ।
नेपालमा पनि विभिन्न साइटहरू प्रतिबन्ध गरेजस्तो मुलुकलाई हानि गर्ने मिडियाका खबरलाई उत्तर कोरियाले निगरानीमा राख्ने गरेको र सोहीअनुसार नै इन्टरनेटको पहुँच दिएको उनले बताए । अमेरिकी नाकाबन्दीका बाबजुद पनि उत्तर कोरियाले आफ्ना जनतालाई गास, बास र कपासको ग्यारेन्टी गर्दै प्रेस स्वतन्त्रताको अनुभुति दिएको उनले टिप्पणी गरे ।
राजनीति शास्त्रका शिक्षक एवं अधिवक्ता विकल प्रजापतिले उत्तर कोरियाको प्रेस कानुन र अन्य मुलुकको प्रेस कानुनमा तात्विक भिन्नता नभएको तर उत्तर कोरिया जाने बाहिरी पत्रकारले अमेरिकाको लागि जासुस गर्ने गरेको पाएकाले पश्चिमा पत्रकारहरूलाई केही कडाइ गरेको बताए । ‘हामी हाम्रो घरमा शत्रु नछिरोस् भनेर त कडाइ गर्छौं भने उत्तर कोरियाले देशको सार्वभौमसत्ता सुरक्षाका लागि प्रेस माथि नियमन गर्नु सामान्य हो,’ उनले भने ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले विद्यार्थीहरूको ज्ञान अभिवृद्धिका लागि कलेजले वातावरण निर्माण गर्ने गरेको र अन्तर्राष्ट्रिय परिस्थिति बुझ्न बुझाउन यस्ता कार्यक्रम गर्ने वागीश्वरीको संस्कार रहेको बताए । पत्रकारिता तथा आमसञ्चारका शिक्षक पूर्णभक्त दुवालले दुई हप्ते गोष्ठीमा विद्यार्थीहरूले विभिन्न मुलुकको मिडियाबारे अध्ययन गरी कार्यपत्र प्रस्तुत गरी विज्ञहरूको सल्लाह र सुझाव अनुसार परिमार्जन गर्ने जानकारी दिए ।
























