गृहपृष्ठ मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजना पक्राउ
सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिन्छु भनी ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी वृत्त कीर्तिपुरमा दर्ता भएको सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै सुरेश महर्जनसँग एक लाख लिएर ठगी गर्ने नुवाकोटको सूर्यगढी गाउँपालिकाका ५६ वर्षीय अरुण गुरुङ र गोरखाको बोर्लाङका ३७ वर्षीय महेश भट्टलाई पक्राउ गरी आज सार्वजनिक गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार सवारी ज्यानसम्बन्धी मुद्दा मिलाई दिने भन्दै तीन लाख माग गरेकामा एक लाख रकम लिएर ठगी गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो ।
रकम ठगी भएसँगै महर्जनले भदौ ५ गते प्रहरी वृत्त कीर्तिपुरमा निवेदन दिएका थिए । प्रहरीले पक्राउ परेकासँग एक लाख नगद र मोबाइल तीन थान बरामद गरेको छ । पक्राउ परेकामाथि प्रहरीले मुलुकी अपराधसंहिता ऐन, २०७४ को परिच्छेद-२१ को २४९ बमोजिम ठगी गर्न नहुने कसुरमा जिल्ला अदालत काठमाडौंबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।
प्रकाशित समय : १३:२६ बजे




















