गृहपृष्ठ भोजपुरे खुकुरीको माग बढ्दो
भोजपुरे खुकुरीको माग बढ्दो
देश, विदेशमा पहिचान बनाएको भोजपुरे खुकुरीको माग धान्न समस्या हुने गरेको छ । दक्ष कालीगढ अभावमा उत्पादन कम हुँदा भोजपुरे खुकुरीको माग धान्न समस्या भएको हो ।
पुस्तान्तरण नहुँदा तथा संरक्षणको अभावले कालीगढ पेसा लोप हुने अवस्थामा पुगेपछि खुकुरी उत्पादनमा कमी आएको छ । स्थानीय र बाहिरी जिल्लासँगै अन्तर्राष्ट्रिय बजारसम्म यसको माग हुने भए पनि माग अनुसारको खुकुरी उत्पादन हुन नसकेको व्यवसायी बताउँछन् । खुकुरी बनाउने पेसालाई अपहेलनाको रुपमा हेरिने गरिएकाले यो पेसा संकटमा परिरहेको व्यावसायी बताउँछन् ।
उद्योगबाट भोजपुरे, सिरुपाते र चित्लाङले कोथीमोडालगायतका खुकुरी बन्ने गरेका छन् । यस्ता खुकरी विश्व बजारमासमेत प्रख्यात छन् । यहाँ उत्पादन भएका खुकुरी आकार अनुसार न्यूनतम एक हजारदेखि अधिकतम दश हजारसम्म पर्छ ।
बाहिर जिल्लाबाट दुई/चार सय खुकुरीको माग आउने भए पनि धेरै माग भएको खण्डमा धान्न समस्या हुने रञ्जीता खुकुरी उद्योगका सञ्चालक गणेश गजमेरले बताए । ‘भोजपुरे खुकुरीको माग धान्न मुस्किल छ’, गजमेरले भने, देशका विभिन्न ठाउँबाट माग आउछ । माग अनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।’
विगतका वर्षमा धेरै कालीगढ भए पनि पछिल्लो समयमा आएर व्यावसायिक रुपमा यो काम गर्ने मानिसको संखया न्यून हुँदै गएको छ । बढी मेहनत गर्नुपर्ने साथै व्यवसाय गर्नको लागि आवश्यक हुने कच्चापदार्थ अभावले नयाँ पुस्तामा यसप्रति मोह कम भएको कालीगढ हर्कबहादुर विश्वकर्माले बताए ।
स्थानीय सरकार सञ्चालनमा आए पनि प्रोत्साहनमूलक सहयोग नपाएको कालीगढ प्रेमकुमार लुवारले बताए । व्यवसाय सञ्चालन गर्न स्थानीयस्तरमा पाउने कच्चा पदार्थको अभाव रहेको उनको भनाइ छ ।
‘राज्यको तर्फबाट हामीले सहयोग पाउन सकेका छैनौँ’, लुवारले भने, ‘हामीलाई व्यवसाय सञ्चालन गर्न धेरै समस्या छ । दैनिक कामकाजको लागि चाहिने, कोइला, बिँड, दापका लागि चाहिने काठ आदिको समस्या हुन्छ ।’ सामुदायिक वनबाट काठ सहज रुपमा ल्याउन पाउने अवस्था नरहेको उनीहरुको भनाइ छ । आफूहरुले उत्पादन गरेका खुकुरीले पनि मेहनत अनुसारको मूल्य पाउन नसकेको कालीगढको भनाइ छ ।
राज्यले उचित वातावरणसँगै साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय संकटमा परेको उद्योग सञ्चालकको भनाइ छ ।
कालीगढ पेसालाई बचाइ राख्नको लागि खुकुरी बनाउने लगायतका तालिम सञ्चालन गरिए पनि युवा शक्ति विदेश जाने लहरले समस्या भएको स्थानीय खुकुरी उद्योग सञ्चालक हीरा श्रेष्ठ बताए । ‘खुकुरीको स्थानीयस्तरमै माग बढी छ’, व्यवसायी श्रेष्ठ भन्छन्, ‘गाउँघरमा परम्परागत रुपमा गरिने पेसा धेरैले छाडी सके । सदरमुकाममा उत्पादन भएका खुकुरी गाउँतिर पठाउनुपर्ने अवस्था छ । बाहिरबाट आएको माग पूरा गर्न सकिएको छैन् । यही अवस्था रहेमा पेसालाई जोगाएर अर्को पुस्तामा लैजान नै समस्या छ । भोजपुरे खुकुरी नै संकटमा पर्ने अवस्था छ ।’
प्रकाशित समय : १३:०८ बजे



















