global ime bank Long Banner Ad

गृहपृष्ठ बालेन-हर्कका सय दिन : बेलुनको हावा खुस्किएजस्तो

बालेन-हर्कका सय दिन : बेलुनको हावा खुस्किएजस्तो

बालेन-हर्कका सय दिन : बेलुनको हावा खुस्किएजस्तो

अहिले सामाजिक सञ्जाल दुई स्वतन्त्र मेयरको चर्चाले तात्तिएको छ । देशमा दुई यस्ता मेयर छन्, जो बेस्मारी फुर्किएका छन् । एउटा काठमाडौं महानगरका बालेन्द्र शाह (बालेन) र अर्का धरान उपमहानगरका हर्क साम्पाङ राई ।

राजनीतिक दलबाट वाक्कदिक्क बनेपछि गत स्थानीय तहको निर्वाचनमा स्वतन्त्रका नाममा उनीहरुलाई मतदाताले जिताइदिए । उनीहरुको अहं यतिसम्म बढेको छ कि, आफू नभए आकाशै खस्ला, धर्ती नै फाट्लाजसरी हैकम देखाइरहेका छन् ।

देशमा ७५३ वटा पालिका छन् । ती सबैमा मेयरहरु पनि छन् । तर यो सिंगाे देश यी दुईले थामेजस्तो चर्चा परिपर्चा सामाजिक सञ्जालभरी छ । रातारात मेयरलाई ‘भगवान’ बनाउनेहरुको समूह छ । उनीहरु त प्रधानमन्त्री नै बन्नुपर्छ भन्नेहरुको समूह छ । परिणाम, यही भगवान बनाउनेहरुकै कारण उनीहरु अराजक बन्दै गएका छन् ।

उपलब्धि हेर्दा उत्साह जगाउनेक किसिमकाे छैन । उत्पातै चर्चा गर्न आवश्यक पनि देखिँदैन । एउटा, काठमाडौंको फोहोरले थिचिएरै उठ्न नसक्ने अवस्थामा छन् । अर्काे, ढुंगा बोके पनि, गिट्टी कुटे पनि अहिलेसम्म एउटै ठोस कार्यक्रम र योजना देखाउन सकिरहेका छैनन् । टालटुले कामलाई योजनाजस्तो देखाएर दिनभर फेसबुकमा पोस्ट्याउनु नै उनीहरुका लागि उपलब्धिजस्तै बनेको छ ।

साम्पाङ मेयर हुन्, तर उनी ठोक्ने र बोक्नेभन्दा अर्काे कुरै गर्दैनन् । अर्का बालेन, कसैको आलोचना सुन्नै सक्दैनन् । प्रश्न गर्ने कोही भेटिए सन्किएर खपिनसक्नु हुन्छ । निर्वाचनका बेला परिवर्तनका संवाहक भनिएका, दलीय व्यवस्थाका विकल्प भनिएका र अबको आशा भनिएका उनीहरुको हर्कत हेर्दा उनै दलहरुभन्दा गएगुज्रेका लाग्छन् । मेयर भएको सय दिन बितेको छैन । बिताउनुपर्ने अझै चार वर्ष ७ महिना छ । तर उनीहरुका कार्यशैली र व्यवहार हेर्दा उनै ओली, प्रचण्ड र देउवाकाे भन्दा भिन्न छैन । बरू कतिपय सन्दर्भमा अझ बढी पनि ।

आम मानिसहरु ओली, प्रचण्ड र माधवहरुको जुहारी हेर्दा-हेर्दा वाक्कदिक्क छन् । उनीहरुले एकअर्कालाई गर्ने तथानाम गालीगलौजका कारण राजनीतिलाई एउटा फोहोरी खेलमा सीमित राखिएको छ । अब स्वतन्त्रहरु पनि त्यही घानमा मिसिएपछि केको परिवर्तन ? हिजो निर्वाचनका बेला दिलोज्यान दिएर समर्थन दिएकाहरु समेत आज निराश बनिरहेका छन् । किनकि अहिले बालेन-हर्कबीच चलिरहेको घोचपेच कुनै उत्साहप्रद विषय हाेइन ।

उपलब्धि हेर्दा उत्साह जगाउनेक किसिमकाे छैन । उत्पातै चर्चा गर्न आवश्यक पनि देखिँदैन । एउटा, काठमाडौंको फोहोरले थिचिएरै उठ्न नसक्ने अवस्थामा छन् । अर्काे, ढुंगा बोके पनि, गिट्टी कुटे पनि अहिलेसम्म एउटै ठोस कार्यक्रम र योजना देखाउन सकिरहेका छैनन्

स्थानीय तहको निर्वाचनमा लौरोको चर्चा खुब भयो । बालेन र हर्कले लौरो चिन्हबाटै निर्वाचन लड्ने भएपछि एक हिसाबले यसको ब्राण्डिङ नै गरियो । तर अहिले लौरोमाथि लौरो बजारिएको छ । लौरोमाथि उनीहरुको माथापच्ची चलिरहेको छ । याे सुरु भएको एकसाता बितिसक्दासमेत रोकिने कुनै छाँट देखिएको छैन ।

धरान उपमहानगरका मेयर हर्क साम्पाङ गत साता काठमाडौं आए । निर्वाचित भएपछि पहिलोपटक काठमाडौं आएका उनी यहाँको फोहोर देख्नेबित्तिकै आफ्नो स्टाटसमार्फत फायर खोल्न थाले । काठमाडौं टेकेपछि उनको पहिलो फायर थियो, ‘काठमाडौंको चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डाखुल्डी बाटो भए पनि धरानै सफा लाग्यो । प्रधानमन्त्री र मन्त्रीहरु बस्ने सहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’

हुन पनि हो । राजधानीको अवस्था त्यस्तै छ । जता गयो फोहोर, जहाँ हेर्‍यो फोहोर । हर्कले यतिसम्मको चासो राख्नु र श्रमदान नै गर्न खोज्नुलाई स्वभाविक नै लिन सकिन्छ । किनकि उनी धरानमा श्रमदानबाटै खानेपानी ल्याउने तयारीमा छन् । वृक्षारोपणदेखि विद्युत उत्पादनसम्म उनले श्रमदानबाटै गराएका छन् ।

तथापि यो स्टाटसको उद्देश्य फरक थियो । काठमाडौंका मेयर बालेनको नामै उल्लेख नभए पनि यो उनीप्रति लक्षित थियो । यहाँबाट उनले बालेनको कामलाई गिज्याउन खोजेका थिए ।

त्यो सिलसिला एकपछि अर्काे बढ्दै गयो । उनी बसेका होटलका कोठा-कोठा पुगेर युटुबरमात्रै होइन, नाम चलेका पत्रकार र मिडिया हाउसले धमाधाम अन्तर्वार्ता लिन थालेपछि भने साम्पाङलाई आफ्नो कद बढेको महसुस भएकाे हुनसक्छ । उनले एकपछि अर्काे सुझाव दिन थाले । बालेनलाई ‘स्ट्रोङ’ बन्न भने । ‘बि लाइक द गभर्मेन्ट’ भन्दै सरकारजस्तो भएर काम गर्न अर्ती दिए ।

आफू भए श्रमदान गरेरै फोहोर उठाइदिने ठोकुवा गरे । कसैले अवरोध गरे ठोकेरै भए पनि फोहोर तह लगाउन सक्ने आफ्नो क्षमता रहेको करारसमेत गरे । साम्पाङको यस्तो हर्कतले बालेन भित्रभित्र आगो भए पनि बाहिर ‘रियाक्सन’ दिन सकिरहेका थिएनन् ।

साम्पाङले काठमाडौंमा दुईचार जना मन्त्रीहरु भेटे । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भेटे । काठमाडौंमा धेरैलाई भेटन् भ्याए । यत्रतत्र सर्वत्र फोहोरफोहोरै देखेपछि घोचपेचका स्टाटसहरु फ्याँकिरहे ।

बालेनको कमेन्टबाट साम्पाङ झनै आक्रोशित भए । किनकि लौरो चिन्हको विषयसमेत बालेनले उठाएका थिए । लौरो आफ्नै सम्पत्ति भएको र लौरो चुनाव चिन्ह पाएकै कारण साम्पाङलाई चुनाव जित्न सहज भएको अर्थमा प्रस्तुत भएपछि साम्पाङ झनै आक्रोशित बनेका हुन् ।

तर फायरिङले बालेनलाई त्यतिबेला घाइते बनायो जतिबेला बुधबार साँझ साम्पाङ धरान फर्किएर कटाक्षपूर्ण स्टाटस लेखे । केही केटीकेटीजस्तो, केही जिस्काएजस्तो, केही ‘सिरियस’ भएजस्तो र केही निशाना बनाएरै प्रहार गरे जसरी उनले फेसबुकमा लेखे, ‘जसले जे भनोस् । तर, म काठमाडौं नगएको भए फोहोर उठ्ने नै थिएन रैछ । कमसेकम काम सुरु त गरे ।’ साम्पाङको स्टाटस यस्ताे  थियो ।

यसले बालेनलाई नमज्जाले घोच्यो । असह्य भएपछि त्यसकै कमेन्टमा लेखिदिए । ‘होनी । तपाईकै लौरो चुनाव चिन्ह लिएर मैले चुनाव पनि त जितेको हो नि ।’ जहाँ ५० हजारको हाराहारीमा लाइक गरिएको छ । दुवै जनाको यो जुहारीपछि सामाजिक सञ्जालमा एकखालको बबालै मच्चियो । अधिकांशले बालेनको प्रतिक्रियालाई समर्थन गरे । साम्पाङको स्टाटसभन्दा बालेनको कमेन्ट सुपरहिट भयो । धेरैले साम्पाङलाई फेसबुक कम चलाउन र अलि जिम्मेवार बन्न सुझाव दिए ।

यता, बालेनको कमेन्टबाट साम्पाङ झनै आक्रोशित भए । किनकि लौरो चिन्हको विषयसमेत बालेनले उठाएका थिए । लौरो आफ्नै सम्पत्ति भएको र लौरो चुनाव चिन्ह पाएकै कारण साम्पाङलाई चुनाव जित्न सहज भएको अर्थमा प्रस्तुत भएपछि साम्पाङ झनै आक्रोशित बनेका हुन् । त्यसपछि लगालग लेखिएका अन्य स्टाटसमा उनले बालेनलाई नालायक करारसमेत गरेका छन् । त्यसमध्येको एउटा स्टाटस थियो, ‘आलोचना नै सुझाव हो भन्ने नबुझ्नेले के राजनीतिक गर्नु बेकारमा ।’ फेरि अर्काे थपे, ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइँदैन । मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो । तिमीहको रिस उठोस् बेस्सरी । काम गर काम, हावा तालका हो ।’

विषय यतिकैमा रोकिएन । मुलुकको प्रमुख सार्वभौम थलो संसदमा समेत यसले प्रवेश पायो । नेकपा एमालेको तर्फबाट काठमाडौं-३ मा निर्वाचित सांसद कृष्ण राईले संसदमै दुई स्वतन्त्र जुहारीमाथि कटाक्ष गरे । उनले भने, ‘सम्बन्धित मन्त्रालय र काठमाडौंका मेयर बालेन शाहले फोहोर उठाउन लाचारी गरिरहेकै बेला धरानका मेयर हर्क साम्पाङले म आएर फोहोर उठ्यो भन्ने घोषणा नै गर्नुभएको छ । यसमा दुवै जनाको दोहोरी नै चलेको देखियो ।’ उनले महानगर र सरकारको जिम्मेवारीमाथि पनि प्रश्न उठाएका छन् । उनले भनेका छन्, ‘यो महानगरले उठाउने विषय हो कि संघीय सरकारको हो ? कुनै पनि निकायले योजना बनाएको देखिएन । पुरानै तरिकाले माटोले पुर्ने गरेको देखिएको छ ।’

स्थानीय तहको निर्वाचनमा ठूला दललाई माथ खुवाएर देशै चकित बनाउने गरि जितेको दुई पात्रको विषय संसदमै उठेपछि यसले झनै चर्चा पाएको हो । यसै पनि काठमाडौंको फोहोर व्यवस्थापन विगतदेखिकै जटिल विषय हो । महानगरको एक्लो बलबुतामा फोहोर व्यवस्थापन सम्भव पनि देखिएको छैन । महानगरको नेतृत्वका लागि चुनावमा होमिदै गर्दा बालेनले ६ महिनाभित्र यसको व्यवस्थापन गर्ने वाचा गरेका थिए । त्यसका लागि निर्वाचित भएकै दिन बञ्चरेडाँडा पुगेर त्यहाँका स्थानीयसँग छलफलसमेत गरे ।

बालेनलाई यतिसम्म प्रहार गरिरहेका साम्पाङले धरानमा चमत्कार नै गरेका छन् त ? कि कामभन्दा धेरै हल्ला हो ? यसलाई चासोका साथ हेरिएको छ । स्थानीयहरुका अनुसार हल्ला भएजति काम भएको छैन ।

त्यसयता निरन्तर प्रयासरत रहे पनि सफल भएका छैनन् । बरु प्रधानमन्त्री शेरबहादुर देउवाको साथ नलिई बालेनले फोहोर विसर्जन गर्नै नसक्ने अवस्था छ । यसअघि पहिलोपटक अवरोध हुँदासमेत देउवाकै पहलमा सहमति भएपछि फोहोर विसर्जन गरिएको थियो । बुधबार पनि देउवासँगको भेटवार्तापछि मात्रै स्थानीयसँग सहमति भयो र फोहोर विसर्जन थालिएको छ । यसर्थ राजनीतिक नेतृत्वको शरण नपरी फोहोर विसर्जन असम्भव देखिएकाे छ । राजनीतिक दलको नेतृत्वसमेत स्वतन्त्रका नाममा उदाएका बालेनलाई पहिला घुँडा टेकाउने अनिमात्रै समस्या समाधानतर्फ लाग्ने गरेको देखिन्छ ।

तर यता साम्पाङ रोकिएका छैनन् । आइतबार बिहानसम्म फेसबुक लाइभ आएर बालेनविरुद्ध बोल्नेदेखि स्टाटस पोस्ट्याउने क्रम चलिरहेको छ । उनले फेरि लेखेका छन्, ‘मेरा विरोधीलाई धन्यवाद ! फोहोर उठाउ के भन्देको रिसाएछन् धेरै ! मेरो एक स्टाटसमै यति धेरै हल्लिएको हो ? ल फोहोरमै बसिराख न त ! बधाई छ !’ यो उनकै शब्दमा उनैले लेखेको स्टाटस थियो । बालेनले जवाफ दिएको विषयलाई साम्पाङले फेसबुक लाइभमै आएर प्रतिवाद गरेका छन् । उनले भनेका छन्, ‘चुनौतीको रुपमा लिनु अनि उत्तर शब्दले होइन कामले दिनू ।’

यसले हामीले आश गरेका स्वतन्त्रहरु कतिसम्म प्रतिशोधी छन् भन्ने प्रस्ट पार्छ । खुरुखुरु आफ्नै नगरको काम गर्न छोडेर अरुमाथि खनिएका साम्पाङ शैलीलाई धेरैले रुचाएका छैनन् । उनको नियतमा शंका छैन । तर, उनको शैली र अभिव्यक्तिहरु भने विवादास्पद छन । यो तरिकाले अल्पकालीन रुपमा उनलाई फाइदा पुग्न सक्ला, तत्कालिक लोकप्रियता बढ्ला । तर, दीर्घकालमा आफ्नो कामबाट कुनै ठोस परिणाम देखाउन सकेनन् भने कुनै बेला ४२२ मतमा खुम्चिएका उनी फेरि त्यही नपुग्लान् भन्न सकिन्न ।

किनकि अहिले पनि उनी आफ्नो नगरमा सफल छैनन् । सहकारी प्रकरणपछि उनको लोकप्रियता घटेको छ । मेयरले कति वजनदार र अर्थपूर्ण कुरा लेख्ने भन्ने विषयमा साम्पाङ अनविज्ञ जस्तै छन् । यस्तो बेला रातारात हिरोबाट जिरो बन्न बेर लाउने छैन । दिनमा २० वटा स्टाटस लेख्दैमा काम गरेको देखिने पनि होइन । यदि बालेनको कामसँग चित्त नबुझैकै भए उनले भेटेर सल्लाह सुझाव दिने ठाउँ थियो । आडभरोसा दिने ठाउँ थियो । तर उनी बालेनविरुद्ध यसरी खनिए कि, मानौं बालेनलाई सकाएपछिमात्रै आफू एक्लो हिरो बन्न पाइन्छ । यी दुवैबीचको मनमुटावले अन्य स्वतन्त्रमाथि संकट ल्याएको छ । स्वतन्त्र हुँदैमा मानिस सही नहुन सक्छ भन्ने मान्यता स्थापित गर्दैछ । यसले आगामी निर्वाचनमा समेत स्वतन्त्र उम्मेदवारी दिने तयारीमा रहेका युवा चिन्तित छन् । ‘धैर्यताका साथ काम गर्नुपर्छ । उहाँहरुमाथि जुन खालको विवाद भइरहेको छ यसलाई चिर्नेगरी काम गर्नुपर्छ ।’

प्रतिनिधिसभाको निर्वाचनमा काठमाडौं-८ बाट उम्मेदवारी घोषणा गरेका सुमन सायमीले भने, ‘हेराईमा फरक पर्छ । आफूले गरेका काम सामाजिक सञ्जालमा राख्नु ठिकै हो । तर त्यसरी छुताछुल्ल हुनेगरी विरोधमा उत्रिनु सही होइन ।’

बालेनलाई यतिसम्म प्रहार गरिरहेका साम्पाङले धरानमा चमत्कार नै गरेका छन् त ? कि कामभन्दा धेरै हल्ला हो ? यसलाई चासोका साथ हेरिएको छ । स्थानीयहरुका अनुसार हल्ला भएजति काम भएको छैन । उनले बुधबारमात्रै सय दिनका कामहरु सार्वजनिक गरेका छन् । ८७ दिनमै सय दिनका काम सार्वजनिक गर्न हतारिएका साम्पाङले नेपालमा श्रमसंस्कृतिको क्रान्ति सुरु गरेको बताएका छन् । जबकि मनमोहन अधिकारीकै पालामा एमालेले ‘आफ्नो गाउँ आफैँ बनाउ’जस्ता अभियान सुरु गरेको थियो । अहिले पनि प्राय सबै गाउँघरमा श्रमबाटै बाटो घाटो बनाउने थिति कायमै छ । बरु सहरकेन्द्रित क्षेत्रमा हराउँदै गएको श्रमसंस्कृतिलाई पुनर्ताजगी गरेको भन्न सकिन्छ ।

उनीहरुकै प्रेरणाबाट आगामी संसदीय निर्वाचनमा पनि स्वतन्त्रको एउटा सशक्त पंक्ति संसद प्रवेश गरोस् भन्ने सबैको चाहना छ । तर निर्वाचित भएको सय दिन नपुग्दै स्वतन्त्रको निभ्ने मति देखिएको छ । यसले ‘दलको विकल्प कहिल्यै स्वतन्त्र हुँदैनन्’ भन्ने भनाईलाई थप बल प्रदान गरेको छ ।

खानेपानीको मुहान थप्नु उनको अर्काे उपलब्धि हो । जुन केही समयलाई मात्रै भए पनि दीर्घकालका लागि उपलब्धिपूर्ण छैन । बाटो मर्मतसम्भार, विद्युत परीक्षण, तटबन्ध, लागुऔषध विरूद्धकाे अभियान सुरुवात र शिक्षा स्वास्थ्यमा जोड दिएको बताए पनि उनका कुनै योजना दीर्घकालीन छैनन् । यस्तो बेला उनले अरुको आलोचना गर्नु नै जायज छैन । कसले ‘हाइहाइ’  भन्दिएकै भरमा मात्तिन आवश्यक पनि छैन । किनकि साम्पाङ आफैँ आन्दोलनबाट आएका योद्धा हुन् । आजभन्दा झण्डै दश वर्षअघि धरानका सडकमा एक्लै निस्किएर आन्दोलन थाल्दा उनको अघिपछि कोही थिएन । अहिले उनलाई धरानले पत्याएको छ । काममा आफैँ खट्ने स्वभावका कारण देशले पत्याएको छ । तर हर्कका यस्ता हर्कतले उनकै ओज घटाइरहेको छ ।

अर्काेतर्फ बालेन योग्यता र क्षमताका हिसाबले बलिया भए पनि उनको सामाजिक अनुभव बलियो छैन । र्‍यापर यमबुद्धको सालिक बनाउनेजस्ता निर्णयले उनलाई झनै बद्नाम गरेको छ । ‘डिस्टर्ब नगर, काम गर्न देऊ’ भन्ने स्टाटस र लगत्तैको डिलिटले पनि उनको अपरिपक्कता दर्शाएको थियो । झन पछिल्लो समय प्रचण्डका घरबेटीसँग जोडेर लेखिएको प्रतिक्रियामा समेत बालेन आलोचित बनेका छन् । किनकि त्यही कुरा उनले प्रचण्डसँगको भेटमा गरेका थिएनन् ।

जब समस्या पर्‍यो तब ओकल्ने बानीले उनीहरु समस्याबाट भाग्न सक्छन् भन्ने पनि देखाएको छ । राजनीतिक दलका विरुद्ध बलिया विरासत ढालेर आएका उनीहरुकै कारण एकखाले आश पलाएको थियो । तर अहिले उनीहरुको नियतमाथि प्रश्न उठिरहेको छ । ‘उनीहरुलाई सामाजिक सञ्जालले जन्माएको हो । उनीहरु सामाजिक सञ्जालकै कारण चुनाव जित्न सफल पनि भए ।’

त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक तथा राजनीतिक विश्लेषक सुरेश आचार्यले भने, ‘सामाजिक सञ्जालको समर्थन सामाजिक सञ्जालमै सकिन सक्छ । तर उनीहरुको जुहारीलाई पानीको फोकाजस्तो लिनुपर्छ । यो राजनीतिक इस्यु पनि होइन । किनकि उनीहरु राजनीतिक दलका विकल्प बन्न सक्दैनन् ।’ स्वतन्त्रहरुमाथि समेत एउटाको अपजस अर्काेलाई दिने रोग देखिएको उनको भनाइ छ ।

उनीहरुले बोल्ने शैलीदेखि प्रहार गर्ने शब्दका चोटसम्म दलकै नेता जस्तो हुँकार देखिन्छ । हिजो ओली-प्रचण्डको गाली मन नपराएका जनताले नै उनीहरुलाई भोट दिएका हुन् । तर त्यो परिवर्तन स्वतन्त्रमा देखिएन । यसले हामी सबैलाई लज्जित बनाइरहेको छ । यो स्वतन्त्र  अभियानमाथिको सबैभन्दा भद्दा मजाक हो । तर जनताले बालेन र साम्पाङहरु हारेको हेर्न चाहेका छैनन् । उनीहरुकै प्रेरणाबाट आगामी संसदीय निर्वाचनमा पनि स्वतन्त्रको एउटा सशक्त पंक्ति संसद प्रवेश गरोस् भन्ने सबैको चाहना छ । तर निर्वाचित भएको सय दिन नपुग्दै स्वतन्त्रको निभ्ने मति देखिएको छ । यसले ‘दलको विकल्प कहिल्यै स्वतन्त्र हुँदैनन्’ भन्ने भनाईलाई थप बल प्रदान गरेको छ ।

प्रकाशित समय : १२:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु