गृहपृष्ठ कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै फाइल तस्बिर ।

नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान १०ः३० बजे बस्ने बैठकमा पार्टी केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रदीप गिरिको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।

समाजवादी चिन्तक गिरिको ललितपुरको भैँसेपाटीस्थित मेडिसिटी अस्पतालमा क्यान्सर रोगको उपचारका क्रममा शनिबार राति ९ः३० बजे निधन भएको हो ।

गिरिको पार्थिव शरीरलाई आज बिहान ९ देखि ११ बजेसम्म मेडिसिटी अस्पताल प्रांगणमा रहेको शिवालय मन्दिरमा श्रद्धाञ्जलिका लागि राखिने र बिहान ११ः३० बजेदेखि दिउँसो २ः०० बजेसम्म कांग्रेस पार्टीको केन्द्रीय कार्यालय सानेपामा श्रद्धाञ्जलिका लागि राखिने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

यसपछि उनको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लैजाने कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ । विगत लामो समय भारतको मुम्बईका विभिन्न अस्पतालमा घाँटीको क्यान्सरको उपचार गराएर नेपाल आउनासाथ निमोनिया देखिएपछि उनलाई गत साउन ९ गते ललितपुरस्थित मेडिसिटी अस्पताल भर्ना गरिएको थियो ।

नेपालको समकालीन राजनीतिका एक प्रखर विचारक नेता गिरी २०२१ पछि राजनीतिमा सक्रिय हुनुभएको हो । हाल प्रतिनिधिसभा सदस्य रहेका उनी २०२४ मा वनारसमा नेपाल छात्र संघमा निर्वाचित भएका थिए ।

उनी २०५१ को संसदीय निर्वाचनमा सिरहा ५ बाट निर्वाचित हुनुका साथै संविधानसभा सदस्य निर्वाचन २०६४ मा कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भई संविधान निर्माणको जिम्मेवारीमा संलग्न भएका थिए । यसैगरी दोस्रो संविधानसभा सदस्य निर्वाचन २०७० मा पनि कांग्रेसको तर्फबाट समानुपातिक सभासद चयन भएका थिए ।

नेता गिरि प्रतिनिधिसभा सदस्य निर्वाचन २०७४ मा सिरहा-१ बाट निर्वाचित भएका थिए । २००४ मा सिरहाको वस्तीपुरमा पिता मित्रलाल गिरि र आमा पुण्यप्रभा गिरिका सुपुत्रका रूपमा उनको जन्म भएको थियो ।

प्रकाशित समय : ०९:१७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु