गृहपृष्ठ बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब
बैंकबाट रित्तिदै निक्षेप, साउनमै बाहिरियो १ खर्ब ७ अर्ब
साउन महिनामा वाणिज्य बैंकहरूबाट १ खर्ब ७ अर्ब रुपैयाँ निक्षेप बाहिरिएको छ । नेपाल बैंकर्स संघका अनुसार असार मसान्तसम्म कुल ४५ खर्ब ४१ अर्ब रुपैयाँ निक्षेप संकलन भएकोमा साउन मसान्तसम्म आउँदा ४४ खर्ब ३४ अर्बमा झरेको छ ।
साउनको अन्तिम दिन बैंकहरुमा १३ अर्ब रुपैयाँ निक्षेप थपिएको छ । जसले गर्दा साउनको ३० दिनसम्म १ खर्ब २० अर्बले घटेको निक्षेप अन्तिम दिन १३ अर्बको सुधार हुँदा अन्ततः सो महिना समग्रमा निक्षेप १ खर्ब ७ अर्ब घट्न पुगेको हो । विगतका वर्षलाई हेर्दा साउन महिनामा निक्षेप प्रायः घटेको पाइन्छ ।
राजस्व संकलन हुने तर विकास खर्च नहुने तथा आयातित सामानको भुक्तानी बढ्दा निक्षेप घटेको हो । साउन महिनामा कर्जा प्रवाह भने ३ अर्ब घटेको छ । असार मसान्तसम्म ४१ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा साउन मसान्तसम्म आउँदा ४१ खर्ब ७२ अर्बमा झरेको छ ।
वाणिज्य बैंकबाहेक अन्य बैंक तथा वित्तीय संस्थाहरुमा साउन मसान्तसम्म कुल ६ खर्ब रुपैयाँ निक्षेप संकलन भएको छ भने ५ खर्ब २९ अर्ब कर्जा प्रवाह गरेका छन् ।
निक्षेप लगातार घट्न र कर्जा उकालो लाग्न लागेसँगै बैंकहरुको कर्जा-निक्षेप अनुपात (सीडी रेसियो) पनि बढ्न लागेको छ । २७ साउनको वाणिज्य बैंकहरुको औसत सीडी रेसियो ८८.३५ प्रतिशत पुगेको बैंकर्स संघले जनाएको छ ।
लगातार निक्षेप घटेर सीडी रेसियो बढ्न लाग्दा पनि बैंकहरुले भने भदौको लागि पनि निक्षेपको ब्याजदर नबढाउन निर्णय गरेका छन् । राष्ट्र बैंकले भने परिपत्रमार्फत नै बैंकहरुलाई ब्याजदर बढाउन सन्देश दिएको थियो ।
प्रकाशित समय : ११:२५ बजे



















