गृहपृष्ठ मोटरसाइकलमा सवार समूहद्वारा युवकलाई गोली प्रहार
मोटरसाइकलमा सवार समूहद्वारा युवकलाई गोली प्रहार
रुपन्देहीको ओमसतियामा एक युवकलाई गोली प्रहार भएको छ । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका-१, बेलहिया बस्ने विकास गुरुङ घाइते भएका छन् ।
ओमसतिया गाउँपालिका-४, वसन्तपुरमा अज्ञात समूहले गुरुङमाथि गोली प्रहार गरेको थियो । नम्बर नखुलेको पल्सर मोटरसाइकलमा सवार तीन जनाको समूहले मोटरसाइकलमै सवार गुरुङमाथि आइतबार राति पौने १२ बजेतिर एक राउण्ड गोली हानेको प्रहरीले जनाएको छ ।
रोहिणी गाउँपालिका-१, बाइपासस्थित सिद्धार्थ कटेजमा गएराति उक्त समूह लुटपाट गरी भाग्दै थियो । त्यही बेला ओमसतियाको वसन्तपुर वडा कार्यालयअगाडि जम्का भेट भएका गुरुङमाथि लुटपाट गर्ने समूहले गोली प्रहार गरेको बताइएको छ ।
पेटको बायाँतर्फ गोली लागेका गुरुङको युनिभर्सल मेडिकल कलेज भैरहवामा उपचार भइरहेको छ । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
प्रकाशित समय : ०९:१२ बजे



















