गृहपृष्ठ अमेरिकी कंग्रेसकाे अर्को टोली ताइवानमा
अमेरिकी कंग्रेसकाे अर्को टोली ताइवानमा
अमेरिकी प्रतिनिधि सभाकी समाभुख न्यान्सी पेलोसीले भ्रमण गरेको १२ दिनपछि अमेरिकाको कंग्रेसको एक प्रतिनिधिमण्डल अचानक ताइवान पुगेको छ ।
पेलोसीको छोटो र विवादास्पद भ्रमणले आक्रोशित बनेको चीनले ताइवानको वरपरका जलीय क्षेत्रमा व्यापक सैनिक अभ्यास गरेको थियो । ताइवानको राजधानी ताइपेइस्थित वासिङटनको दि फ्याक्टो दूतावासले पाँच सदस्यीय यस कंग्रेस टोलीको भ्रमण सोमबारसम्म रहने जनाएको छ ।
बेइजिङले स्वशासित टापु राष्ट्र ताइवानलाई आफ्नै प्रान्तबाट टुक्रिएको भू-भागको रूपमा लिने गरेको छ । साथै चीनले ताइवान चीनमा गाभिनु अनिवार्य रहेको बताउँछ । आइतबार ताइवानको विदेश मन्त्रालयले अमेरिकी कंग्रेस टोलीका सदस्यहरूलाई विमानस्थलमा स्वागत गर्दै गरेको तस्बिर सार्वजनिक गरेको छ ।
ताइवानस्थित अमेरिकी दूतावासले एक विज्ञप्तिमार्फत जनाएको छ, ‘हिन्द-प्रशान्त क्षेत्रको बृहत भ्रमण कार्यक्रमको एक हिस्सास्वरूप यो टोली ताइवान पुगेको हो । यो टोलीको नेतृत्व डेमोक्रेटिक सिनेटर एड मर्कीले गरेका छन् । यस टोलीले क्षेत्रीय सुरक्षा, व्यापार र लगानीलगायत विषयमा छलफल गर्नुका साथै ताइवानी नेताहरूसँग पनि भेटघाट गर्नेछ ।’
सोमबार यस टोलीले ताइवानी राष्ट्रपति साइ इङ-वेनसँग भेटवार्ता गर्नेछ । साइको कार्यालयले अमेरिकाको यस दोश्रो उच्चस्तरीय भ्रमणले अमेरिकाको ताइवानप्रतिको बलियो समर्थनको संकेत गरेको जनाएको छ । यद्यपि अमेरिकाले ताइवानलाई औपचारिक रूपमा सार्वभौमसत्ता सम्पन्न राष्ट्रको मान्यता दिएको छैन ।
प्रकाशित समय : ०८:०३ बजे



















