global ime bank Long Banner Ad
Global IME

गृहपृष्ठ गठबन्धनमा भागबण्डाको लफडा, एक्लै पासा पल्टाउने तयारीमा ओली

गठबन्धनमा भागबण्डाको लफडा, एक्लै पासा पल्टाउने तयारीमा ओली

यस्ता छन् दलहरुका चुनावी रणनीति...

गठबन्धनमा भागबण्डाको लफडा, एक्लै पासा पल्टाउने तयारीमा ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राजनितिक रुपमा जतिसुकै खराब भए पनि केही पक्षमा अब्बल छन्, जसले उनको भावभंगीमा कहिल्यै परिवर्तन आउँदैन । उनी कहिल्यै आफूलाई कमजोर ठान्दैनन् । बरु जोसँग पनि अर्गेलो गर्नैपर्ने ओलीको स्वभाव उनकाे पहिचानजस्तै बनेको छ । अहिले ओलीका लागि निकै कठिन समय चल्दैछ । मंसिर ४ को संसदीय निर्वाचनमा एमालेविरुद्ध आठ दल मोर्चाबन्दीमा जान लागेपछि गत निर्वाचनको १२१ सिट खर्लप्पै हुनसक्ने डरले ओलीलाई चिन्ता लाग्नु स्वभाविकै हाे । यद्यपि उनकाे भावभंगीमा हलचल भएका छैन । बरु आफूलाई अझै शक्तिशाली देखाउने प्रयासमा ओली अहोरात्र लागिपरेका छन् ।

ओलीले स्थानीय तहमा पाँच दललाई कर्‍याककुरुक पार्छु भनेका थिए । अहिले आठ दललाई पछार्ने हिम्मत जुटाइरहेका छन् । किनकि ओली विरुद्धको पाँच दलीय मोर्चा प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा समेत तालमेल गर्दै जाने निर्णयका साथ भागबण्डामा केन्द्रित बनेको छ ।

महन्थ ठाकुरको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र डा. बाबुराम भट्टराईको नेपाल समाजवादी पार्टी (नेसपा)सहित बामदेव गौतमको नेकपा राष्ट्रिय एकता अभियानसमेत सामेल भएर शक्ति बढाउने तयारी चलिरहेको छ । यस्तो बेला एमालेको रणनीति के हुनसक्छ ? आफ्नो छुट्टै गठबन्धन बनाएर शक्ति बढाउने कि एक्लै निर्वाचनमा गएर शक्ति परीक्षण गर्ने ? अथवा एमालेको बलियो विगत र हल्लिएको वर्तमानलाई धुलिसात बनाउन गठबन्धन के-केसम्म गर्न सक्ला ? आजभोलि राजनीतिक वृत्त यिनै प्रश्नमा केन्द्रित भएर तरंगित बनिरहेको छ ।

अबको झण्डै एक सय दिनपछि देश मूल नेतृत्व परिवर्तनका लागि निर्वाचनमा जाँदैछ । यसका लागि अहिलेदेखि नै चुनावी रस्साकस्सी सुरू भइसकेकाे छ । दलहरु शक्ति बढाउने भागदौडमा केन्द्रित बनेका छन् । अझै भनौं, चुनावको पूरापुर सरागर्मीले दलहरुलाई छोइसकेको छ । निर्वाचनमा सहभागी हुन आइतबारसम्म ४० दल दर्ता भएका छन् । अब दल दर्ताका लागि तीन दिनको समय बाँकी छ । कति दल सामेल हुन्छन् त्यसको यकिन संख्या भदौ १ सम्म आइसक्ने छ । तर एउटा सत्य के हो भने निर्वाचन दुई ध्रुवमा जाने करिब पक्कापक्की छ ।

ती दुईमध्ये एउटाको नेतृत्व एमाले गर्नेछ भने अर्काे सत्ता गठबन्धनले गर्नेछ । सत्ता गठबन्धनमा हाल रहेका दलको संख्या पाँच हो । अब यो चाँडै आठमा पुग्दैछ । तर त्यसको विपक्षमा जाने इतर समूहमा दलहरुको संख्या एकदमै कम छ । अहिलेकै अवस्था कायम रहे एमाले आठ दलविरुद्ध एक्लै चुनावमा जानु पर्नेछ । तर राप्रपा सहितका केही दलसँग एमालेको तालमेल हुनसक्ने चर्चाले समेत निर्वाचन ‘गठबन्धन भर्सेस गठबन्धन’ जस्तो बन्दैछ । तर एमालेसँग भएका दलहरु निकै साना छन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसँग तालमेलको सम्भावना छ, जुन पार्टी विगतमा एक सिटमा सीमित बनेको थियो । उनीहरुबीच शनिबार पनि भेटवार्ता पनि भएको छ । दुवै पार्टीका अध्यक्षबीच भएको भेटवार्तामा तालमेलको सकारात्मक वातावरण बनेको नेताहरु बताउँछन् ।

अर्काे राप्रपाबाटै चोइटिएर बनेको राप्रपा नेपाल छ । जसको नेतृत्व कमल थापाले गरेका छन् । यसको पनि प्रभाव ज्यादै न्यून छ । सीके राउत नेतृत्वको जनमत पार्टीसँग तराई मधेशमा तालमेलको सम्भावना छ । तर थापाको जस्तै राउतको पार्टी पनि यो संसदीय निर्वाचनमा डेब्यु गर्दैछ ।

त्यस बाहेकको अर्काे दल भनेको हृदेयश त्रिपाठी नेतृत्वको प्रगतिशील पार्टी, नेपाल हो । विगतमा एमालेसँगै सामेल भएर एमालेकै चुनाव चिन्हमार्फत निर्वाचन जितेका त्रिपाठीसँग यसपटक पनि तालमेल हुनसक्ने सम्भावना देखिन्छ । तर त्यसले खासै तात्विक भिन्नता देखाउने छैन । यस्तो बेला एमाले कुन रणनीति लिएर अघि बढ्ला ? आम चासोको विषय बनेको छ ।

बिहीबारमात्रै सचिवालय बैठक राखेर आगामी चुनावी रणनीतिबारे एमालेले घनिभूत छलफल चलाएको छ । बैठकले अध्यक्ष ओलीकै नेतृत्वमा निर्वाचन परिचालन समिति गठन गरेको छ भने वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा चुनावी घोषणापत्र मस्यौदा समिति गठन गरेको छ । तर गठबन्धन गर्ने वा के गर्ने भन्ने विषयमा ठोस कुरा बाहिरिएको छैन । एमाले उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार निर्वाचनमा आवश्यकता हेरेर गठबन्धन हुनेछ । उनले विचार र सिद्धान्त मिल्ने पार्टीसँग तालमेलको सम्भावना रहेको बताए । ‘हाम्रा एजेन्डासँग सहमत हुने, हाम्रा विचारसँग सहकार्य गर्न तयार दलसँग हामी सहकार्य नै गर्दैनौं भन्ने होइन,’ उनले भने, ‘उहाँहरुसँग छलफल हुनसक्छ । सहकार्य हुनसक्छ । तर हामी आफ्नो खुट्टामा, आफ्नै बलबुतामा निर्वाचनमा जान्छौं ।’

निर्वाचनमा हार्ने अवस्था आए पनि एमाले चाहेर वा नचाहेर एक्लै जाने र शक्ति परीक्षण गर्ने तयारीमा रहेको पनि देखिन्छ । किनकि जम्बो गठबन्धन अर्काेतिर उभिएका बेला एमालेभित्रै नेताहरुले सुरक्षित ठाउँ खोजिरहेका छन् । आगामी निर्वाचनमा उठ्न नेतालाई निकै चुनौतीपूर्ण बन्दै गएको छ । चुनाव हारिने डरले ‘हेभीवेट’ नेताहरु झनै तनावमा परेका छन् ।

यस्तो बेला एमालेका लागि सहयोगी के हुनसक्छ भने, विभाजन भएर चोइटिएका कार्यकर्तालाई तान्नु अपरिहार्य छ । केही भरपाईँ गर्नकै लागि भए पनि भर्खरै विभाजन भएर चोइटिएका कार्यकर्तालाई तान्ने अथवा गठबन्धनको भागबण्डामा असन्तुष्ट बनेकाहरुलाई रिझाउनु उसका लागि सहयोगी हुनसक्छ ।

तथापि एमाले नेताहरु घमण्ड गर्न छोडेका छैनन् । एमाले शक्तिशाली भएकै कारण आठ दलीय गठबन्धन बनेकोतर्फ गर्व गर्दै उनीहरु आफूले चाहेको खण्डमा दुई दिनमै गठबन्धन भत्काउन सक्ने बताउँछन् । त्यसका लागि बिरालोलाई दुध देखाएजस्तो प्रचण्डलाई केही देखाइदिनुपर्ने उनीहरुको तर्क छ । ‘हामीलाई गठबन्धन भत्काउनु ठूलो कुरै होइन नि,’ एमालेका पोलिटब्यूरो सदस्य ईश्वरी रिजालले भने, ‘प्रचण्डलाई कांग्रेसले भन्दा बढ्ता भाग दिएको खण्डमा उनी आफैँ आउँछन् । तर हामी अहिले नै त्यस्तो गर्ने पक्षमा छैनौं ।’

अब लागौं एमालेविरुद्ध एमालेजस्तै तयारी चलाइरहेको सत्ता गठबन्धनतर्फ । बिहिबार नै सत्ता गठबन्धनले बालुवाटारमा छलफल गर्दै आगामी चुनावी रणनीतिका बारेमा घनिभूत छलफल चलाएको थियो । उसको अर्काे बैठक साउन ३१ का लागि तय भएको छ ।

पाँच दलबीच भागबण्डा टुंग्याउनु आफैंमा जटिल विषय हो । हुन त पहिल्यै पाँच दल रहेको गठबन्धन, त्यसमा तीन दल थपिएपछि उसका लागि यो निर्वाचन हाइसञ्चाेजस्तो छ । तर स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्दागर्दै पनि एमाले जनाधारका हिसाब टक्करमा देखिएपछि सहजै चुनाव जित्नु गठबन्धनका लागि ‘बालुवामा पानी रोक्नु’जस्तो छ । तथापि सत्ता गठबन्धनमा मुख्य चार विषयलाई आधार बनाएर भागबण्डा टुंग्याउन खोजिएको छ ।

गठबन्धनको बैठकमा केही मुख्य विषयहरु उठेका छन् । जसले भागबण्डा गर्न सहज हुने माओवादी केन्द्रका नेता एवं गठबन्धनको भागबण्डा कार्यदलका सदस्य देव गुरुङले बताए । ‘एउटा त २०७४ सालमा पाएको सिट संख्या नै हो,’ उनले भने, ‘सँगसँगै त्यतिबेला समानुपातिकतर्फ पाएको मतसंख्यासमेत निर्णायक रुपमा हेरिएको छ । यससँगै गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पाएको मत र सिट संख्यालाई समेत आधार मानेर भागबण्डा टुंग्याउने तयारी चलिरहेको छ ।’ त्यसबाहेक राजनीतिक विषयलाई समेत ध्यानमा राखेर भागबण्डा गर्ने नेताहरु बताइरहेका छन् ।

मुख्यतः २०७४ सालको प्रतिनिधिसभामा जितेको सिट संख्या, समानुपातिकतर्फ पाएको मत र स्थानीय तहको मतपरिणामसँगै शीर्ष सहितका प्रभावशाली नेताहरुको जितलाई सुनिश्चित गर्नेगरी आधार बनाउन खोजिएको छ ।

२०७४ सालमा कांग्रेसले प्रत्यक्षतर्फ २३ सिटसहित ६३ पुर्‍याएको थियो । नेकपा माओवादी केन्द्रले एमालेसँगको तालमेलमा ३६ प्रत्यक्षसहित ५४ सिट बनाएको थियो । एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी)सँग अहिले प्रत्यक्ष १२ सिट कायम रहेको छ । जसपाको ८ र जनमोर्चाको एक सिट छ ।

गठबन्धनको कार्यदलले भागबण्डाको मुख्य आधार यसैलाई मान्दा विगतमा जितेका निर्वाचन क्षेत्रमै तत् तत् दलको हक रहनेछ । एमालेले जितेका १२१ मध्ये विभाजनपछि बाँकी रहेका सिटमा भने दलहरुले भागबण्डा गर्नेछन । तर यसो गर्दा प्रभावशाली मानिएका तर विगतमा चुनाव हारेका नेताहरुको व्यवस्थापनमा गठबन्धनलाई निकै ठूलो संकट आउनेछ ।

१६५ निर्वाचन क्षेत्रमध्ये कुन दललाई कति दिने, कसले कुन क्षेत्र छाड्ने भनेर दलहरु गृहकार्यमा जुटेका छन । शीर्ष नेतृत्वबाहेक सबै दलका अरु नेताहरुले सम्मानजनक सिट बाँडफाँड नभए क्षति हुने बताइरहेका छन् । पार्टी पहिलो शक्ति बन्न कम्तीमा सय सिट आफूहरुले पाउनुपर्ने र बाँकी रहने ६५ सिट मात्र अरु दलका लागि छाड्न कांग्रेस सभापति शेरबहादुर देउवालाई पदाधिकारी र नेताहरुले दबाब दिइरहेका छन् । तर आठ दलीय गठबन्धन बनाउन खोजिरहेका बेला कांग्रेसको चरम महत्वाकांक्षी योजनाले भागबण्डामा चुनौती थपिरहेको छ । त्यसमा पनि केही यस्ता निर्वाचन क्षेत्र छन्, जहाँ भागबण्डा मिल्न निक्कै सकस छ ।

२०७४ सालमा कम्युनिस्टहरुको गठबन्धनसँग प्रतिस्पर्धा गर्दा कांग्रेसका प्रभावशाली नेताहरु समेत पराजित भएका थिए । रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला, विश्वप्रकाश शर्मा र मोहन बस्नेतलगायत धेरै नेताहरूकाे निर्वाचन क्षेत्रमा भागबण्डाको लफडा छ । विमलेन्द्र निधि, गोपालमान श्रेष्ठको क्षेत्रमा समेत गठबन्धनकै नेता विजयी भएका छन् । त्यस्ता क्षेत्रमा नेताहरुको व्यवस्थापन गर्नु चुनौतीको विषय हो ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई तनहुँको क्षेत्र नम्बर १ बाट नेकपा (एकीकृत समाजवादी)का नेता कृष्णकुमार श्रेष्ठ (किशान)ले पराजित गरेका थिए । अब त्यो क्षेत्रमा गठबन्धनले भागबण्डा मिलाउँदा पौडेलले छोड्ने कि श्रेष्ठले छोड्ने भन्ने चुनौती हुनेछ । झापा १ बाट वामगठबन्धनका उम्मेदवार राम कार्कीले नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई हराएका थिए ।

माओवादी केन्द्रले विगतमा निर्वाचित क्षेत्र दाबी गर्दा शर्माले छाड्ने वा अर्काे क्षेत्रबाट चुनाव लड्ने अवस्था आउन सक्छ । तर शर्मा आफ्नै क्षेत्रमा चुनावी तयारी चलाइरहेका छन् । उसो त झापामै कृष्णप्रसाद सिटौलाको भविष्य पनि जोखिममा छ । कांग्रेस प्रवक्ता प्रकाशशरण महत यसपालि नुवाकोट-१ बाट चुनाव लड्ने तयारीमा छन् । गत निर्वाचनमा दाजु रामशरण महतले माओवादी केन्द्रका नेता हितबहादुर तामाङसँग हार ब्यहोरेका थिए । काठमाडौं-५ छोडेर गृहजिल्लामै हानिएका महतले माओवादीसँग भागबण्डा मिलाउन सकसपूर्ण छ । सबैभन्दा ठूलो भिडन्त सिन्धुपाल्चोक-१ मा हुने देखिएको छ । सभामुखको जिम्मेवारीमा रहेका अग्नि सापकोटा माओवादीबाट निर्वाचित हुँदा कांग्रेसका मोहनबहादुर बस्नेत पराजित भएका थिए । अहिले आफूले टिकट नपाएर पुनः सापकोटाले पाए विद्रोह गर्ने चेतावनी बस्नेतले दिएका छन् ।

डोटीमा कांग्रेसका वीरबहादुर बलाएर र एकीकृत समाजवादीका प्रेम आलेबीच टकराव छ । ललितपुर-३ मा माओवादीकी पम्फा भुसाल र कांग्रेसका मदन आमात्यको संघर्ष छ । जाजरकोटमा माओवादीबाट निर्वाचित शक्ति बस्नेतले कांग्रेसका राजिवविक्रम शाहीलाई छोड्ने अवस्था छैन । गत निर्वाचनमा कांग्रेस नेता विमलेन्द्र निधि लोसपाका नेता राजेन्द्र महतोसँग पराजित भएका थिए । लोसपा गठबन्धनमा सामेल भए निधिले टिकट पाउनै मुस्किल छ । तथापि सत्ताको नेतृत्व र सांगठिक हिसाबले बलियो भएका कारण कांग्रेसले अन्य दललाई दबाबमा राख्नेछ ।

पहिले जितेका स्थानमा जितेकै दललाई दिने र हारेका नेताहरुलाई सम्बोधन गर्न सके भागबण्डा सहजै मिल्न पनि सक्छ । किनकि कांग्रेस र माओवादीबीच विगतदेखि नै समन्वयकारी भूमिका खेल्दै आएका र सफल पनि भएका नेता कृष्णप्रसाद सिटौला कार्यदलको संयोजक छन् ।

माओवादीसँगका हरेक सम्झौता र सहकार्यको तालमेल गर्नमा कांग्रेसभित्र सिटाैला सफल छन् । त्यसबाहेक असोज २ र ३ गतेसम्म समानुपातिक तर्फको बन्दसूची पेश गर्नैपर्ने निर्वाचन आयोगको कार्यतालिकाले गठबन्धनमा त्योभन्दा अघि नै भागबण्डा मिलाउनुपर्ने दबाब परेको छ ।

स्थानीय चुनावमा प्राप्त लोकप्रिय मतले एमालेको जनमत अझै पनि बलियो रहेको देखाउँछ । तर पार्टीका नेताहरुले दाबी गरेजस्तो पहिलेकै स्थानमा एमाले छैन । करिब १० लाख मत नेकपा एकीकृत समाजवादी बनेपछि प्रभावित भएको देखिन्छ । स्थानीय तहको चुनावी मतपरिणामलाई हेर्दा १६५ क्षेत्रमध्ये कांग्रेस ७६ स्थानमा अगाडि छ । एमाले ७१ स्थानमा अघि हुँदा माओवादी ८, जसपा ५ र एकीकृत समाजवादी १ स्थानमा अगाडि छन् ।

एमालेविरुद्ध आठ दलीय मोर्चा बनेर चुनावमा इमान्दार तालमेल भएको खण्डमा एमाले अगाडि रहेका केही क्षेत्रको पकडसमेत गठबन्धनमा जानेछ । तथापि ओली कार्यकर्तामा परेको मनोवैज्ञानिक दबाबलाई भगाउन हिम्मतको घुट लगाइरहेका छन् ।

प्रकाशित समय : १२:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु