मिटरब्याजी नियन्त्रणका लागि गृह मन्त्रालयले बनायो कार्यदल
वि.सं.२०७९ साउन २७ शुक्रवार १४:४३
shares

सरकारले मिटरब्याजी अपराध नियन्त्रणका लागि कार्यदल गठन गरेकाे छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिस्तरीय निर्णयबाट गृह मन्त्रालयका सहसचिव डा. भिष्म भूसालको संयोजकत्वमा ६ सदस्यीय कार्यदल गठन गरेका हुन् ।
कार्यदलकाे सदस्यमा नेपाल प्रहरीका केन्द्रीय अनसुन्धान ब्युराेमा कार्यरत एसएसपी दिनेश आचार्य, गृह मन्त्रालयका कानुन उपसचिव श्रीकृष्ण पौडेल, नेपाल प्रहरीको अपराध अनुसन्धान शाखामा कार्यरत एसपी कृष्णप्रसाद कोइराला, राष्ट्रिय अनुसन्धान विभागका उप-अनुसन्धान निर्देशक मुकुन्द मरहठ्ठा रहेका छन् । कार्यदलको सदस्य सचिव नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा कार्यरत डीएसपी रोशन खड्कालाई तोकिएको छ । कार्यदललाई एक महिनाभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान गृहमन्त्री बालकृष्ण खाण, नेपाल प्रहरीका महानिरीक्षक धिरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र गृह मन्त्रालयका सहसचिवलाई बोलाएर मिटरब्याजी समस्या समाधानका लागि निर्देशन दिएका थिए ।
कार्यदलले मिटरब्याजी समस्या बढी भएका जिल्लाहरूमा स्थलगत भ्रमण गरी समस्याका कारकहरू तथा समाधानका उपायहरू पहिचान गर्ने र मिटरब्याजी अपराधमा संलग्न व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याउने छ ।
























