गृहपृष्ठ बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा
बाघको बासस्थान व्यवस्थापन गर्न आवश्यक छ : प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रकृतिको विशिष्ट र दुर्लभ वन्यजन्तुका रुपमा रहेको बाघ आर्थिक, सामाजिक, सांस्कृतिक, पर्यावरणीय र पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण रहेको बताएका छन् ।
विश्व बाघ दिवसका अवसरमा र्राष्ट्रिय बाघ संरक्षण समिति नेपालद्वारा आज आयोजित समारोहलाई सम्बोधन गर्दै उनले बाघको संरक्षणबाट वातावरण स्वच्छ हुने भएकाले यसको संरक्षणमा जुट्न आह्वान गरेका छन् । बाघ पाइने विश्वका सीमित देशमध्ये नेपाल पनि एक भएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले बाघको संरक्षणबाट पर्यटकीय क्रियाकलाप गरी आर्थिक उपार्जन बढ्ने बताए ।
बाघको बासस्थान व्यवस्थापन गरेर स्थानीयवासीको जीविकोपार्जन सुधार गर्न आवश्यक रहेको प्रधानमन्त्री देउवाले बताए । बाघ संरक्षणका चुनौती अन्त्य गर्न थप अध्ययन अनुसन्धान आवश्यक भएको उनको भनाइ छ । संरक्षित क्षेत्र वरपरको बस्तीलाई सुरक्षित गर्न आवश्यक भएको पनि प्रधानमन्त्री देउवाले बताए ।
बाघको छाला, हड्डीलगायतका कारण चोरी सिकारी हुनसक्ने भएकाले संरक्षणका चुनौती सामना गर्ने गरी तयारी गर्न मन्त्रालयलगायत सरोकार निकायलाई उनले निर्देशन दिए। उनले बाघ संरक्षणका लागि कर्मचारी वृद्धि, क्षमता वृद्धि, अन्तर्राष्टिय सहायता संस्थासँग समन्वय आवश्यक भएको बताए।
हालै सरकारले वन्यजन्तु मैत्री पूर्वाधार निर्देशिका जारी गरेकाले त्यसअनुसार काम हुने विश्वास प्रधानमन्त्री देउवाले व्यक्त गरे । समारोहमा पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले बाघको संरक्षणका लागि मन्त्रालय र यसअन्तर्गतका निकायलाई आग्रह गरेका छन् । बाघ संरक्षणका क्षेत्रमा राम्रो काम गर्नेलाई पुरस्कृत गर्न पनि उनले सुझाव दिए ।
प्रकृतिको संरक्षण गर्न नसके कुनै पनि जनावरको रक्षा गर्न नसकिने भएकाले सबैले आ-आफ्नो स्थानबाट संरक्षणमा जुट्नुपर्ने उनको भनाइ थियो । वन तथा वातावरण मन्त्रालयका सचिव पेमनारायण कँडेलले बाघको संरक्षण गर्दा सङ्ख्या वृद्धि हुनुका साथै वातावरण संरक्षणमा पनि सहयोग पुग्ने बताए । बाघको सङ्ख्या वृद्धिका लागि विशेष कार्यक्रम सुरु गरिएको उनले बताए । बाघ पाइने स्थानको पहिचान गरी नेपाली सोनाकोसमेत सहयोगले बाघ संरक्षण गर्न सकिएको उनले जानकारी दिए ।
सो अवसरमा हाल नेपालमा बाघको सङ्ख्या ३५५ पुगेको जानकारी गराइएको थियो । २०१० अघि १२१ बाघमात्र नेपालमा थियो । र्राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु विभागका महानिर्देशक रामचन्द्र कँडेलले २०१० मा बाघको सङ्ख्या घटेकामा हाल उल्लेखनीयरुपमा बढेको बताए । नौ प्रजातिका बाघमध्ये विश्वमा तीन प्रजाति लोप भएर तीन प्रजातिमात्र थियो । विश्वका १३ देशले गरेको प्रतिबद्धताअनुसार नेपालले दोब्बर बनाउन सफल भएको जानकारी दिए । बाघ संरक्षणमा नेपाल सफल देशका रुपमा स्थापित भएको छ ।
प्रकाशित समय : १३:५५ बजे



















