गृहपृष्ठ १३औं वर्षमा मेगा बैंक : वित्तीय सूचकहरुमा उत्साहजनक उपलब्धि
१३औं वर्षमा मेगा बैंक : वित्तीय सूचकहरुमा उत्साहजनक उपलब्धि
मेगा बैंक नेपाल लिमिटेड १२ वर्ष पूरा गरी १३ वर्षमा प्रवेश गरेको छ । १२औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहले बैंकलाई देशकै अग्रणी बैंक बनाउन अहं भूमिका निर्वाह गर्ने सबैलाई धन्यवाद व्यक्त गरे । आजभन्दा ठीक तेह्र वर्ष अगाडि १२ सय १९ जना संस्थापक सेयरधनीको लगानीमा १४ जना संस्थापक र ४ जनाको रणनीतिक समूहको अथक मेहनत र सहजीकरणमा मेगा बैंक नेपाल लिमिटेडको स्थापना भएको उनले बताए ।
अध्यक्ष शाहले मेगा बैंकले तर्जुमा गरेका रणनीतिक पञ्चवर्षीय योजना, बजेटको सही प्रक्षेपण र कार्यान्वयनले छोटो समय (१२ वर्षको अवधि)मै कतिपय विधाहरुमा अग्रणी बैंकको रुपमा स्थापित हुन पुगेको बताए । विगतमा विभिन्न बैंकसँग मर्जर र एक्वीजिशनको सन्दर्भलाई जोड्दै उनले मेगा बैंकले स्थापित गरेका मान्यताहरुमा विचलन नआउनेमा विश्वस्त रहेको बताए ।
‘यस बैंकको व्यवसाय एवं कार्य क्षेत्र तथा दायरा विस्तार गरी र लगानीको दृष्टिकोणले भरपर्दो र विश्वासिलो बैंक बनाउन पश्चिमाञ्चल डेभलपमेन्ट बैंक, टुरिज्म डेभलपमेन्ट बैंक, गण्डकी विकास बैंकजस्ता आ-आफ्ना क्षेत्रका अब्बल बैंकहरुसँगको मर्जर तथा प्राप्तिले यस बैंकलाई वित्तीय बजारमा स्थापित गराउन अहं भूमिका खेलेकै कारण आज हामी यो स्थितिमा आइपुगेका छौं भने हाम्रा मान्यताहरुलाई कायम राख्दै देशको आवश्यकता, अन्तर्राष्ट्रियस्तरको प्रतिस्पर्धा, कोरोनाका कारणले व्यवसायमा परेको प्रभाव आदिजस्ता कुराहरुले गर्दा ३७ वर्षको इतिहास भएको नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जरको लागि एमओयू भई सैद्धान्तिक सहमति प्राप्त भइसकेको व्यहोरा यहाँहरुसमक्ष निवेदन गर्दै हामीले स्थापित गरेका मान्यताहरुमा विचलन आउने छैन भन्ने कुरामा हामी विश्वस्त छौं,’ उनले भने ।
मेगा बैंककी कायममुकायम सीईओ रविना देशराज श्रेष्ठले वित्तीय बजारमा मेगा बैंक एक प्रतिष्ठित, अब्बल तथा जनप्रिय बैंकको रुपमा स्थापित भएको बताइन् । उनले कामु सीईओ श्रेष्ठले दिगो विकासका साथ नयाँ प्रविधिसहित अघि बढ्दै मेगा बैंकलाई आधुनिक प्रविधिमैत्री ‘डिजिटलाइज्ड बैंक’ बनाइएको बताइन् ।

ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकको बितेको १२ वर्षमा पुँजी, व्यवसायको आकार र शाखा सञ्जालमा बृहत वृद्धि भएको छ । देशको २८औं वाणिज्य बैंकका रुपमा स्थापना भएको मेगा बैंक चुक्ता पुँजीका हिसाबले ७औं स्थानमा छ । २०७९ साल असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ५६ अर्ब र कुल कर्जा करिब १ खर्ब ५० अर्ब रहेको छ । मेगा बैंकले १८ सयभन्दा बढी कर्मचारीबाट देशभरका ६१ जिल्लामा फैलिएका २ सय ८ शाखा सञ्जाल, १ सय ४५ वटा एटीएम, २५ वटा एक्टेन्शन काउन्टर र ६० वटा शाखारहित बैंकिङ सेवामार्फत १४ लाख ७५ हजारभन्दा बढी ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।
समता अस्पताललाई पाँच लाख सहयोग
मेगा बैंक नेपाल लिमिटेडले १२औं वार्षिकोत्सवका अवसरमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाडौंको बौद्धस्थित समता सामुदायिक अस्पताललाई पाँच लाख रुपैयाँ सहयोग गरेको छ ।
बैंकका अध्यक्ष शाहले समता अस्पतालका अध्यक्ष उत्तर सञ्जेललाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरे । एक सय रुपैयाँमा सर्वसाधारणको उपचार गराउँदै आएको उक्त अस्पतालबाट न्यून आय भएका सर्वसाधारणको उपचारमा मद्दत मिलोस् भन्ने उद्देश्यले आर्थिक सहयोग गरिएको मेगा बैंकले जनाएको छ ।
प्रकाशित समय : ०९:०५ बजे



















