गृहपृष्ठ बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
बिरामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, चार घाइते
म्याग्दीको बेनी नगरपालिका ४ फापरखेतमा बिहीबार राति भएको जिप दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार घाइते भएका छन् ।
मालिका गाउँपालिका ३ पात्लेबाट बिरामी लिएर बेनीतर्फ आउँदै गरेको ग. १ ज ६७८८ नम्बरको जिप सडकबाट म्याग्दी नदीमा खसेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले मालिका ३ का ६२ वर्षीय गोविन्द रोकाको बेनी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
रुखबाट लडेर घाइते भएका रोकालाई उपचारका लागि पोखरा लैजाँदै गरेको जिप दुर्घटना भएको हो । घाइते चालक मालिका १ निस्कोटका ३० वर्षीय नरबहादुर रोकालाई थप उपचारका लागि पोखरा सिफारिस गरिएको छ ।
मालिका ३ पात्लेका २९ वर्षीय रवीन्द्र रोका, २० वर्षीया रेजिना रोका र ३८ वर्षीय खगेन्द्र रोकाको बेनी अस्पतालमा उपचार भइरहेको छ । चालकबाहेक मृतक र घाइते एकै परिवारका सदस्य हुन् ।
तातोपानी प्रहरी चौकी, तातोपानी र पखेरका स्थानीय बासिन्दाले घाइतेको उद्धार गरेका थिए । दुर्घटनाबारे अनुसन्धान जारी रहेको प्रहरी नायब उपरीक्षक राईले जनाए ।
प्रकाशित समय : १३:१३ बजे