nmb bank

गृहपृष्ठ कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्वप्रधानमन्त्रीहरूले के भने ?

कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्वप्रधानमन्त्रीहरूले के भने ?

कांग्रेस नेता गिरिको निधनप्रति वहालवाला र पूर्वप्रधानमन्त्रीहरूले के भने ?

नेपाली कांग्रेसका वौद्धिक नेता प्रदीप गिरिको ७५ वर्षको उमेरमा निधन भएको छ । ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको शनिबार राति साढे ९ बजे निधन भएको हो ।

विभिन्न दलका नेता तथा कार्यकताहरूले उनको निधनप्रति दुःख व्यक्त गरेका छन् । वहालवाला तथा पूर्वप्रधानमन्त्रीहरूले स्व.गिरिले नेपालको राजनीतिमा दिएको योगदानको सामाजिक सञ्जालमार्फत् स्मरण गरेका छन् ।

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गिरिलाई वैचारिक र समाजवादी चिन्तक रहेको बताएका छन् । उनको निधनको खबरले आफू निकै स्तब्ध भएको समेत उनले जनाएका छन् ।

‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका वैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खबरले निकै स्तब्ध भएको छु,’ उनले ट्विटरमार्फत् भनेका छन्, ‘उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुःखद् घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गिरि चिन्तनशील राजनीतिकर्मी भएको बताएका छन् ।

ओलीले ट्विटरमा लेखेका छन्, ‘चिन्तनशील राजनीतिकर्मी, मित्र प्रदीप गिरिको निधनबाट मर्माहत भएको छु । उहाँप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गिरिलाई नेपाली राजनीतिको वौद्धिक व्यक्तित्व र वरिष्ठ समाजवादी चिन्तक भएको स्मरण गरेका छन् ।

‘नेपाली राजनीतिका वौद्धिक व्यक्तित्व वरिष्ठ समाजवादी चिन्तक एवं नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनले स्तब्ध बनाएको छ । उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्दछु,’ प्रचण्डले ट्विटरमा भनेका छन् ।

नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि गिरिलाई प्रखर समाजवादी चिन्तकको रूपमा सम्झना गरेका छन् ।

डा.भट्टराईले लेखेका छन्, ‘प्रखर समाजवादी चिन्तक तथा आत्मीय मित्र प्रदीप गिरिको निधनमा निःशब्द छु। २०३४ सालदेखि ४५ वर्ष निरन्तर उहाँसँगको गहन वौद्धिक विमर्शले मलाई ठुलो ऊर्जा प्रदान गर्ने गरेको थियो । नयाँ समाजवादी धारको विकासमा लागेका हामी सबैलाई उहाँको निधनले ठुलो क्षति पुगेको छ । हार्दिक श्रद्धाञ्जली÷समवेदना ।’

गिरिको आवश्यकता पछिल्लो समय झन् बढ्दै गरेको अवस्थामा उनको निधनले नेपाली राजनीतिमा अपूरणीय क्षति गरेको उनले बताएका छन् ।

‘प्रदीपजी, छिट्टै छोडेर जानुभो । अहिलेको भीषण वैचारिक खडेरीमा हाम्रो सहकार्य/सहयात्रा झन् आवश्यक थियो । टोखाको हार्मोनी हाउजिंगमा सँगै बसेर यो वैचारिक खडेरी चिर्न सहकार्य गर्ने हाम्रो सल्लाह पूरा हुन पाएन । तपाईंले राजनीतिमा गहन वैचारिकी र त्यागको जुन मानक छोड्नुभएको छ त्यो सधैँ रहिरहनेछ,’ उनले भने ।

यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले स्व.गिरिलाई समाजवादी चिन्तकको रूपमा स्मरण गरेका छन् ।

‘नेपाली कांग्रेसका नेता, सांसद् तथा समाजवादी चिन्तक प्रदीप गिरिको शनिबार राति उपचारको क्रममा निधन भएको खबरले अत्यन्त दुःखी बनाएको छ । दिवंगत नेता गिरिप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु,’ नेपालले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

प्रकाशित समय : १४:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु