global ime bank Long Banner Ad

गृहपृष्ठ तत्काल लगातारको झरी नहुने, पहिरोको जोखिम भने कायमै

तत्काल लगातारको झरी नहुने, पहिरोको जोखिम भने कायमै

तत्काल लगातारको झरी नहुने, पहिरोको जोखिम भने कायमै

अबको केही दिन लगातारको झरी भने नहुने भएको छ । यद्यपि अहिले मुलुकभर नै मौसम बदली छ । छोटो समयका लागि खण्ड-खण्डमा भने मध्यम र भारी वर्षा हुने मौसमविद्को भनाइ छ । यसबीचमा नेपालको पूर्वी तराई क्षेत्र र पश्चिम क्षेत्रमा मनसुन बढी सक्रिय हुनेछ ।

जल तथा मौसम विज्ञान विभागले अहिले पनि मुलुकभर नै मौसम बदली रहेको र ठाउँ-ठाउँमा वर्षा भइरहेको जनाएको छ । तर बेलाबेलामा सामान्यदेखि चर्काे घाम पनि लाग्छ । अबको तीन दिन विगतमा जस्तो लगातारको झरी भने नहुने विभागका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार यसअघि नै पर्याप्त पानी परेकाले जमिन गलेको हुँदा थोरै पानीले पनि धेरै क्षति गर्न सक्नेतर्फ भने सचेत हुनुपर्ने हुन्छ । यस्तो अवस्थामा पहिराको जोखिम बढी हुन्छ । खण्ड-खण्डमा भारी वर्षा हुँदा केही ठाउँमा पहिरो खसेर जनधनको क्षति गराएको छ ।

उनले अहिले मनसुन न्यूनचापीय रेखा नेपालबाट दक्षिण सरे पनि नेपालनजिक नै रहेको बताए । भोलि र पर्सी अझै केही नजिक आउने हुँदा तराईका क्षेत्रमा वर्षा थपिने सम्भावना छ । देशका अधिकांश क्षेत्रमा बेला-बेलामा घाम लाग्ने र मध्यमखालको वर्षा हुने अर्यालले जानकारी दिए । प्रदेश १, २, ५, गण्डकी, सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा भारी वर्षको सम्भावना कायमै छ । आजभन्दा भोलि र पर्सी भने थोरै बढी वर्षा हुने भए पनि लगातारको झरी नहुने अर्यालले बताउनुभयो । यसअघि असार २५ देखि ३० गते र साउन ४ देखि ६ गतेसम्म लगातार वर्षा भएको थियो । उक्त वर्षापछि आएको बाढी, पहिरो र डुवानले मुलुकका अधिकाँश क्षेत्र प्रभावित बनाएको थियो ।

यस्तै साउनको १२ देखि १६ सम्म पश्चिम क्षेत्रमा बढी वर्षा भयो, तर विगतको जस्तो लगातार वर्षा हुन पाएन । तैपनि केही स्थानमा पहिरो खसेर मानिसको मृत्यु भएको छ भने केही हराइरहेका छन् । उद्धारको काम जारी छ । अबको तीन दिन भने त्योभन्दा केही कम वर्षा हुने जनाइएको छ । केही ठाउँमा भारी वर्षा हुने अनुमान छ । ‘पहिलेको जस्तो लगातार रुपमा वर्षा हुने देखिँदैन, खण्डखण्डमा वर्षा हुन्छ,’ अर्यालले भने, ‘छोटो समयमा केही ठाउँमा भारी वर्षाको सम्भावना पनि छ ।’ आजको तुलनामा भोलि र पर्सी तराईको क्षेत्रका एक/दुई स्थानमा बढी वर्षा हुने जनाइएको छ ।

विगत १० वर्षको तुलनामा यस वर्ष बढी क्षति

विगत १० वर्षको तुलनामा यस वर्ष पहिराले धेरै मानिसको ज्यान लिएको छ । भेलपहिरो खसेर बढी क्षति पुर्‍याएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए । प्राप्त विवरणअनुसार गत वैशाखयता पहिरोबाट १५६ जनाको मृत्यु भइसकेको छ भने ४५ जना बेपत्ता छन् । बाढीबाट छ जनाको मृत्यु १३ जना बेपत्ता भएका र चट्याङबाट ४७ जनाले ज्यान गुमाएका छन् । बाढी, पहिरो र चट्याङबाट वैशाखयता २०९ जनाको मृत्यु, ५८ बेपत्ता र २९९ जना घाइते रहेको प्राधिकरणले जनाएको छ । मनसुन सक्रिय भएको दिन जेठ ३० पछि डेढ महिनाको अवधिमा पहिरोमा परेर मात्रै १५४ को मृत्यु भएको छ ।

प्राधिकरणका प्रमुद अनिल पोखरेलले पूर्वसूचना प्रणालीलाई व्यवस्थित गर्ने, जोखिम कम गर्ने र विपद्का घटना भएमा क्षति कम गर्ने गरी आवश्यक समन्वयमा काम भइरहेको बताए । उनका अनुसार राहत र उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाली प्रहरीको टोलीसहित संघ, प्रदेश र स्थानीय सरकार तथा सरोकारवाला निकाय सक्रिय रहेका छन् ।

प्रकाशित समय : २०:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु