global ime bank Long Banner Ad

गृहपृष्ठ चाडवाडमा पनि रोकिएन मजदुरी गर्न भारत जानेको लर्काे

चाडवाडमा पनि रोकिएन मजदुरी गर्न भारत जानेको लर्काे

चाडवाडमा पनि रोकिएन मजदुरी गर्न भारत जानेको लर्काे

विगतका वर्षहरुमा असोज लागेपछि पश्चिमी सीमा नाका गौरीफन्टा र गड्डाचौकी भएर स्वदेश फर्किने नेपालीहरुकोे लर्को हुन्थ्यो । वर्षभरि मुग्लानमा पसिना बगाएका नेपालीहरु दशगजामा पुग्दा दंग हुन्थे । तर, अहिले ती सुदूरपश्चिमका अनुहार र पश्चिमी सीमा नाकाको दृश्य फेरिएको छ ।

अहिले स्वदेश फर्किनेको संख्याभन्दा रोजगारीका लागि भारत जाने नेपालीको संख्या चार गुणा बढी छ । कोरोना भाइरसको प्रभावले छाक टार्न मुस्किल भएपछि भारत जाने नेपालीको लर्काे छ । केही समय पहिले कोरोना महामारीमा भारतबाट ज्यान जोगाउन नेपाल आएका नेपालीहरु यति बेला भोकले ज्यान जान थालेपछि पुन: रोजगारीका लागि भारत जान बाध्य छन् ।

देशमा रोजगारीको गतिलो माध्यम नभएपछि पेट पाल्नकै लागि भए पनि भारत जानु सुदूरपश्चिमका नागरिकको बाध्यता छ । कोरोनाकै प्रभावका बीच केही महिना पनि घर फर्किएका उनी अहिले पुन त्रिनगर–गौरीफन्टा नाका भएर भारत गइरहेका छन् ।

कैलालीको लम्कीका लोकेश विष्ट तीन महिनाअघि भारतमा कोरोना महामारी देखिएपछि स्वदेश फर्केका थिए । १४ दिन क्वारेन्टिन बसेर घर गएका बिष्ट फेरि कोरोना महामारीकै बीच भारत जान थालेका हुन् । नेपालमा कुनै विकल्प नभएपछि भारत जानु आफ्नो बाध्यता भएको उनले बताए ।

अहिले कहिल्यै भारत नगएका सुदूरपश्चिमबासी पनि रोजगारीका लागि भारत जान बाध्य भएका छन् । नेपालीको महान् चाड दशैं आउन एक महिना मात्र बाँकी रहेका बेला रोजगारीकै लागि भारत जान लागेको कैलालीका अर्जुन विष्ट पनि भारतमा कोरोना महामारीकै कारण स्वदेश फर्केका थिए । घरमा ६ जनाको परिवारलाई भारतमै रोजगारी गरेर पालिरहेका बिष्टलाई तीन महिना बेरोजगार भएर घरमा बस्नुपर्दा परिवार पाल्न निकै मुस्किल प-यो । तीन महिना घरमा बस्दासम्म कुनै तहबाट रोजगारीको आश्वासनसमेत नपाएपछि उनी फेरि भारत जान लागेका हुन् ।

दशैं नजिकै आउदै गरेको भए पनि दैनिकी चलाउनै मुस्किल हुन लागेपछि भारत गइरहेको छु,’ उनले भने, ‘स्थानीय र प्रदेश सरकारले रोजगारीको वातावरण बनाउँला भन्ने विश्वास छैन ।’ त्यही भएर भए पनि भारत जानुको विकल्प नभएको उनले गुनासो गरे ।

गत चैतदेखि सुरु भएको कोरोना भाइरसको प्रभावका कारण लाखौं सुदूरपश्चिमबासी स्वदेश फर्किएका थिए । कतिपय कोरोनाको त्रासले फर्किएका थिए भने कतिपय रोजगारी गुमेपछि घर आएका थिए । झण्डै चार/पाँच महिनाको स्वदेश बसाइपछि घर खर्च चलाउनसमेत नसकिने भएपछि फेरि पनि भारत जानु परेको कञ्चनपुरका जगदीश नाथले गुनासो गरेका छन् ।

भारत नगएपछि उनको ७ जनाको परिवार भोकले मर्ने चिन्ता यति बेला उनलाई परेपछि चाडपर्वको मुखमा उनी पुनः भारत जान बाध्य छन् । असोज सुरु भएपछि मात्र गौरीफन्टा नाका भएर झण्डै ७ हजार प्रदेशबासी भारत परेका छन् । सशस्त्र प्रहरीको तथ्यांकअनुसार असोज १ गते पाँच सयभन्दा बढी, २ गते नौ सयभन्दा ६४ जना, ३ गते ९४६ जना, ४ गते एक हजार ३६ जना, ५ गते एक हजार २८७ जना र ६ गते एक हजार ६०९ जना ७ गते एक हजारभन्दा बढी सुदूरपश्चिमेलीहरु भारत पसेका छन् ।

धनगढी उपमहानगरपालिका सीमा हेल्थ डेस्क प्रमुख दिनेश ठकुल्लाले २ साता यता भारत जाने नेपालीको संख्या उच्च रहेको बताए । उनका अनुसार विश्वमा कोरोना भारइसको महामारी सुुरु भएपछि रोजगारीका लागि भारतलगायत अन्य मुलक रहेका धेरै नेपाली स्वदेश फर्किएका थिए ।

प्रकाशित समय : १५:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु