global ime bank Long Banner Ad

गृहपृष्ठ बिमितको उपचार नियमित गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

बिमितको उपचार नियमित गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

बिमितको उपचार नियमित गर्न स्वास्थ्य बिमा बोर्डको आग्रह

स्वास्थ्य बिमा बोर्डले स्वास्थ्य संस्थालाई बिमितको उपचार सेवालाई नियमित गर्न आग्रह गरेको छ । बोर्डका कार्यकारी निर्देशक दामोदर बसौलाले विज्ञप्ति जारी गर्दै स्वास्थ्य संस्थाले पठाएका बिमितको उपचारबापतको भुक्तानीको प्रक्रिया भइरहेकाले बिमितलाई नियमित स्वास्थ्य सेवा प्रवाह गर्न आग्रह गरेका हुन् । 

‘परीक्षण भएका दाबीको भुक्तानी यथाशीघ्र गर्ने कार्यमा बोर्ड लागिपरेको छ । आगामी दिनमा कार्यतालिका तयार गरी नियमित भुक्तानी गरिने व्यहोरा अवगत गराउँदै बिमितलाई नियमित स्वास्थ्योपचार प्रवाह गर्न सम्पूर्ण सेवा प्रदायक स्वास्थ्य संस्थालाई बोर्डले अनुरोध गरेको छ,’ उनले जारी गरेका विज्ञप्तिमा भनिएको छ ।

बिमा बोर्डले बिमितबापतको रकमको भुक्तानी नगरेको भन्दै त्रिवि शिक्षण अस्पताल, बिएण्डसी मेडिकल कलेज र नोबेल मेडिकल कलेजले बिमितको उपचार नगर्ने घोषणा गरेका थिए । उनले स्वास्थ्य बिमा कोष व्यवस्थापन तथा सञ्चालन कार्यविधि, २०७८ अनुसार स्वास्थ्य बिमा कोष स्थापना भइ बोर्डमा प्राप्त सम्पूर्ण रकम उक्त कोषमा मौज्दात रहने व्यवस्था र परीक्षण भएका दाबीको १२ महिना भुक्तानी गर्न सकिने व्यवस्था रहेको जानकारी दिए । 

उनका अनुसार चालु आर्थिक वर्षको जेठ १५ गतेसम्म १८ लाख ५३ हजार ९५३ वटा बिमितको भुक्तानीको दाबी प्राथमिकताका साथ परीक्षण भइरहेको छ । उनले आव २०७८÷७९ मा विगत वर्षका बाँकी रहेका १९ लाख नौ हजार ५७ संख्या र चालु आवमा ३३ लाख ७५ हजार ८३७ बिमित संख्या गरी कुल ५२ लाख ८४ हजार ८९४ बिमित बिरामीको दाबी परीक्षण गरी आठ अर्ब १३ करोड भुक्तानी गरिसकेको जानकारी दिए । 

बोर्डमा दैनिक हुने दाबी बढ्दो क्रममा रहेको दाबी प्रविष्ट हुने र दाबी परीक्षण गर्ने अनुपातमा तादम्यता मिलाउन जनशक्तिको अभावमा केही विलम्ब हुन गएको उनको भनाइ रहेको छ  । उनले आगामी आवमा दाबी परीक्षण कार्यलाई वैज्ञानिक प्रविधि अपनाई परीक्षण गर्ने तयारी भइरहेको बताए । 

हालसम्म ७७ जिल्लाका ७४६ स्थानीय तहमा करिब ५६ लाख ३९ हजार नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएका छन् । प्रतिपरिवार तीन हजार ५०० तिरेर एक लाखसम्मको उपचारबापतको सेवा बिमा कार्यक्रममा दिइने गरिन्छ । हाल सेवा प्रदायक स्वास्थ्य संस्थाबाट दैनिक २५ देखि ३० हजार संख्यामा दाबी गरिरहेका छन् । देशभरिमा ४५० वटा स्वास्थ्य प्रदायक स्वास्थ्य संस्थासँग बोर्डले सम्झौता गरी बिमा कार्यक्रम सञ्चालन गरिरहेको छ ।

प्रकाशित समय : २०:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु