गृहपृष्ठ देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
देशका अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना
अझै केही दिन देशको अधिकांश भू–भागमा हल्कादेखि मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
प्रिमनसुन गतिविधि सक्रिय रहेकाले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा र अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विभागका मौसमविद् राजु प्रधानांगाले बताए ।
उनका अनुसार प्रिमनसुन सक्रिय हुनुका साथै स्थानीय वायु, भारतको उत्तर प्रदेश, विहार आसपास रहेको न्यूनचापीय रेखा र पश्चिमी वायुको प्रभावसमेत रहेको छ ।
‘यी प्रणालीको प्रभाव मनसुन भित्रिएपछि मात्र कमजोर हुने देखिएको छ,’ मौसमविद् प्रधानांगाले भने । मनसुन भित्रिने औसत समय जुन १३ मानिएको छ । रातका समयमा प्रदेश नम्बर १, मधेस प्रदेशका थोरै स्थानमा र बागमती प्रदेश, गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
बिहीबार देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा भई प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणानुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १८ दशमलव ६ डिग्री र अधिकतम तापक्रम २६ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।
त्यस्तै, आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम ११ दशमलव सात डिग्री र सबैभन्दा धेरै दिपायलको अधिकतम तापक्रम ३८ दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।
प्रकाशित समय : ००:२१ बजे



















