nmb bank

गृहपृष्ठ पत्रकारसँग डराउँथे, पत्रकारलाई पनि डर हुन्थ्यो

पत्रकारसँग डराउँथे, पत्रकारलाई पनि डर हुन्थ्यो

पत्रकारसँग डराउँथे, पत्रकारलाई पनि डर हुन्थ्यो

पत्रकारिता गर्छु भनेर म यस क्षेत्रमा लागेको होइन । हाइस्कुल पढ्दै गर्दा नै मैले पत्रकारिताबारे केही जान्ने मौका भने पाएको थिएँ । २०३६ सालको आन्दोलनमा निर्दल कि बहुदल भन्ने पक्षमा पत्रकारहरु पनि विभाजित भए । त्यसबेला ‘जनमत’ भन्ने दुईपाने बुलेटिन निकालिन्थ्यो, त्यसमा मलाई काम लगाइयो । त्यसपछि नै हाे मैले प्रेस देखेकाे । पत्रिका कसरी छापिन्छ भन्ने पनि बुझेँ । २०३७ सालमा सिरहाकाे बस्तीपुरबाट एसएलसी पास गरेर म काभ्रेबाट काठमाडौं आएँ । प्रदिप गिरी मुख्य संरक्षक, सुदिप पाठक मुख्य सम्पादक रहेको समता मासिक नामकाे वैचारिक पत्रिका निक्लन्थ्यो । त्यसमा प्रेसको काम र प्रुफ हेर्ने मैलै जिम्मेवारीमा पाएँ । त्यससँगै रत्नराज्यलक्ष्मी क्याम्पसमा पत्रकारिता विषय लिएर भर्ना भएँ । तर पढाइ नियमित थिएन । त्यसपछि म वनारस गएँ ।

वनारसबाटै प्रमाणपत्र तह उत्तीर्ण गरेँ । वनारसमा यताबाट समता नामको पत्रिका गइरहन्थ्यो । पत्रिकामा धेरै जनाको आवद्धता देखाउनकै लागि प्रकाशकले म लगायतको पनि नाम राखिदिन्थे । त्यो नामले मानिसमा खुब आकर्षण पैदा गर्थ्यो । ‘नामै पो छापियो त’ भन्ने हुन्थ्यो । त्यसपछि यो पत्रकारिता त गज्जब कुरा रहेछ । दिनदिनै नाम छाप्न पाइने रहेछ भन्ने भयो । इलाहवादमा स्नातक पढ्ने क्रममा एउटा विषय पत्रकारिता पनि थियो । इलाहवादमै रहँदा एकपटक दिल्लीमा सात महिने पत्रकारिताको तालिम लिने मौका मिल्यो ।

पत्रकारिता यात्रा

म नेपाल फर्केलगत्तै २०४६ सालको जनआन्दोलन सुरु भयो । म प्रधान सम्पादक र तारानाथ दाहाल सम्पादक रहेको उषा नामको पत्रिकामार्फत हामीले जनआन्दोलनको पक्षमा काम गर्‍यौं । त्यसपछि हामी दुवैजना ‘नेपाली आवाज’ भन्ने पत्रिकामा काम गर्न थाल्यौं । जहाँ मैले पहिलोपटक तलबमा काम गरेँ । मासिक तलब थियो २५ सय रुपैयाँ, जिम्मेवारी सम्पादक । त्यसमा जिवेन्द्र शिम्खडाले पनि काम गर्नुभयो । नेपाली आवाजमै रहँदा भूमिगत अवस्थामा रहेका गणतन्त्रवादी नेता रामराजाप्रसाद सिंहसँग अन्तर्वार्ता गर्ने कुरो चल्यो । अनारसिं कार्कीले समन्वय गरिदिनु भएपछि अन्तर्वार्ता गर्ने तय भयो । पटना गएर अन्तर्वार्ता गरेँ । त्यो अन्तर्वार्ता छापेपछि मलाई दरबारका सचिवले सोधपुछ नै गरे ।

यसबीचमै मैले समाजवाद नामको पत्रिका दर्ता गरेको थिएँ । पछि नाम परिवर्तन गरेर नेपाल आवाज साप्ताहिक बनाएँ र टिम मिलाएर पत्रिका चलायौं । त्यो पत्रिका १६ हजार प्रतिसम्म विक्री भयो । जब किशोर नेपाल समाचार सम्पादक भएर कान्तिपुर दैनिकमा जानु भएपछि म पनि त्यसैमा काम गर्न थालेँ, काभ्रेको संवाददाताको रुपमा । पछि कान्तिपुरका सम्पादक याेगेश उपाध्याय र समाचार सम्पादक किशाेर नेपालले नै मलाई डेस्कमै बोलाउनुभयो । तर कान्तिपुरमा धेरै समय मैले काम गरिनँ । त्यसपछि म नेपाल टेलिभिजनमा गएँ । नेपाल टेलिभिजनमा पनि थाेरै समयमात्र काम गरेपछि आर्थिक अभियान दैनिकमा तीन वर्ष बढी काम गरेँ । पछिल्लाे समय केही अनलाइनमा पनि काम गरेँ ।

पत्रकारलाई धेरै दुख थियो

त्यतिबेलाको रोचक कुरा, कुनै रिपोर्टरले पनि समाचार टाइप गर्दैनथे । यो २०५० सालभन्दा अगाडिकै कुरा हो । समाचार कागजमा लेखेर दिन्थ्यौं, अफिसमा टाइपिस्ट हुन्थे । पत्रकारहरुको पहुँचमा इमेल आइसकेको थिएन । पछि कान्तिपुरमा सम्पादकसमेत हुनुभएका र अहिलेका राम्रा सम्पादक हरिबहादुर थापा उबेला टाइप नै गर्नुहुन्थ्यो । जिल्लाका पत्रकारहरुले फ्याक्स गरेर समाचार पठाउँथे वा टेलिफाेनमार्फत टिपाउँथे । नेपालमा २०४६ सालपछि प्रेस स्वतन्त्रतामा व्यापक सुधार आयो । यही बेलाबाट हो अलि खोजमुलक रिपोर्टिङ हुन थालेको । विधागत समाचार लेखन पनि यही बेलाबाट थालिएको हो ।

पत्रकारहरुलाई हाम्रो पालामा धेरै दुख थियो । पैसा पाइन्नथ्यो । तैपनि अधिकांश पत्रकारहरु साह्रै मर्यादित हुन्थे । एकाध पत्रिकाले मात्र पैसा दिन्थे । त्यो पनि अत्यन्त थोरै । काम गर्न धेरै कष्ट थियो । यातायातको सुविधा पर्याप्त थिएन । राजनीतिक गतिविधिहरु जिल्ला सदरमुकाममा मात्रै सीमित हुन्थे । अधिकांश समाचारहरु फोनमार्फत कुराकानी गरेर डेस्कमै बनाइन्थे । धेरै मान्छे राख्ने पत्रिका प्रकाशकहरुको आर्थिक हैसियत नै हुन्थेन । तर, समाचारमा केही गल्ती भइहाले पत्रिकाहरुले विनाहिच्किचाहट क्षमायाचना छाप्थे । अनियमितताहरुको समाचार छापिएपछि सम्बन्धित पक्षले पत्रिकाको कार्यालयमै घेराउ गरेको पनि भोगेको छु । आक्रोशित भएर आए पनि उनीहरु कुरा र बहस भने तर्कसंगत नै गर्थे, अहिलेजस्तो भौतिक आक्रमणमै उत्रिहाल्दैनथे ।

व्यवस्थापक, रिपोर्टर सबै काम सम्पादक आफैँले गर्नुपर्थ्याे । नेशनल ट्रेडिङमा कागज लिनसमेत सम्पादक आफैं जानुपर्ने । रातभर पत्रिका छापेर वितरणमा समेत सम्पादक नै खट्थे । त्यतिका दुख हुन्थ्यो र पनि कतै जाँदा ‘पत्रकार हुँ’ भन्दा खुब इज्जत हुन्थ्यो, अहिले त नाक मुख खुम्च्याउँछन् ।

पत्रकारसँग डराउँथे

पत्रकारलाई हेर्ने दृष्टिकोण अत्यन्त गम्भीर थियो त्यसताका । पत्रकारसँग जोकोही डराउँथे । अनियमितताको समाचार आउनेबित्तिकै सम्बन्धित निकायमा अञ्चलाधीशले स्पष्टीकरण लिन्थे । दरबारसम्म कुरा पुग्थ्यो । सञ्चारमाध्यमले कुरा उठान गरेपछि राज्यले कस्तो दायित्व निर्वाह गर्नुपर्छ भन्ने त्यो बेला झल्किन्थ्यो ।

अहिले त पत्रकारिताको अवमूल्यन र स्खलन भएको छ । २०४९/५० सालसम्म नेपालको पत्रकारिता मर्यादित नै थियो । त्यसपछि हो पत्रकारहरु पनि नेता र सांसदहरुको खल्ती-खल्तीमा पुगेका । खासमा पत्रकारले आफ्नो मर्यादाको सीमाभित्र रहेर समाचार तयार पार्नुपर्ने हो । अहिलेका अधिकांश पत्रकारहरुलाई केही कुराको डर नै छैन । जे लेखे, जे गरे पनि । गलत गरे पनि संगठन, दलले बचाइहाल्छ भन्ने मानसिकता छ । त्यही भएकाले पत्रकारिताको मर्यादा घटेको हो । पहिले पत्रकारहरुको खासै संगठन थिएन । त्यही भएर जताभावी समाचार लेख्न पत्रकारहरुलाई पनि डर हुन्थ्यो । एकदमै तथ्यपरक भएर मात्र समाचार लेख्थे । समाचारमा सत्यता भएपछि दल र राज्य पनि उत्तरदायी हुने भइहाले ।

अहिलेका पत्रकारहरु उम्दा छन्

नबिक्ने हो भने अहिलेका पत्रकारहरु क्षमताका हिसाबले वास्तवमै उम्दा छन् । प्रविधिका हिसाबले, दक्षताका हिसाबले धेरै जान्ने छन् । विश्वभरकै घटना, परिघटनासँग जानकार छन् । के गर्ने र के नगर्ने भनेर पनि उनीहरुलाई राम्ररी थाहा छ । खालि नबिकिदिए हुन्थ्यो । पैसाको पछाडि नदौडिदिए हुन्थ्यो । एउटा पक्षको पछि लागेर भए/नभएको लेखिदिएपछि कसले पत्याउँछ । पत्रकारिता मर्यादित बिल्कुल भएन । अझ अनलाइनमा त एकदमै धेरै उच्छृंखलता बढ्यो । बाजी मार्ने होडमा सत्य र तथ्यभन्दा एकदमै फरक कुराहरु पनि प्रकाशित/प्रसारित भइरहेका छन् । यसले आमपाठकलाई पत्रकारिताप्रति वितृष्णा पैदा गराउँछ ।

(अग्रज पत्रकार यादव थपलियासँग गरिएको कुराकानीमा आधारित)

प्रकाशित समय : २३:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु