गृहपृष्ठ संखुवासभा बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख दिइने
संखुवासभा बस दुर्घटनाका मृतक परिवारलाई जनही एक लाख दिइने
संखुवासभाको मादी नगरपालिकाले बस दुर्घटनामा मृत्यु भएका १५ जनाको परिवारलाई जनही एक लाख रुपैयाँ दिने भएको छ ।
गत बिहीबार मादी नगरपालिका-६, सातघुम्तीमा बस दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको थियो । सोमबार बसेको मादी नगरकार्यपालिकाको बैठकले मृतकका परिवारलाई जनही एक लाख रुपैयाँ दिने निर्णय गरेको नगरप्रमुख विदुरकुमार लिङथेपले जानकारी दिए ।
यस्तै बैठकले घाइतेलाई उपचार खर्चबापत जनही ५० हजार रुपैयाँ समेत दिइनेछ भने मृतक र घाइतेको सम्झनामा भूमेश्वर महादेवको स्मारकसमेत बनाउने निर्णय पनि गरेको नगरप्रमुख लिङथेपले बताए । सो स्मारकमा घाइते र मृतकको नाम लेखिने उनको भनाई छ । मादीको ओखरबोटे बजारबाट झापाको दमकतर्फ जाँदै गरेको ४ ख ७३५ नं को बस दुर्घटना हुँदा १४ जनाको घटनास्थलमै मृत्यु भएको थियो भने एक जनाको उपचारका क्रममा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मृत्यु भएको थियो ।
बस दुर्घटनाका घाइते डम्बरबहादुर कार्की, करिश्मा तामाङ, तुलसा कटवाल, सुवास तामाङको उपचार बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भइरहेको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको नगरप्रमुख विदुरकुमार लिङथेपले बताए ।
प्रकाशित समय : २२:४७ बजे



















