गृहपृष्ठ बजेट अभावमा संग्रहालय निर्माण अलपत्र
बजेट अभावमा संग्रहालय निर्माण अलपत्र
सबभन्दा पुरानो मानिएको बखान सहकारी संस्था लिमिटेडले स्थापना गर्न लागेको राष्ट्रिय सहकारी संग्रहायल बजेट अभावमा अलपत्र परेको छ । चितवनको भरतपुर-१९ स्थित शारदानगरमा स्थापना गर्न लागिएको संग्रहायल बजेट अभाव भएपछि अलपत्र परेको सहकारीका अध्यक्ष रेशमराज गुरुङले बताए ।
२०७४ को प्रतिनिधिसभा निर्वाचन अघि नेपाल सरकारबाट पाँच करोड रुपैयाँ निकासा भएर स्थापना गर्न लागिएको संग्रहालयको काम अधुरै छ । पाँच करोड रुपैयाँमा संग्रहालयको ठूलो बैठक कक्ष, साना बैठक कक्ष, विशिष्ठ व्यक्तिका लागि बस्ने कोठा, कार्यालय कक्ष र अन्य केही कोठा निर्माण गरिए पनि थप बजेट निकासा नहुँदा संग्रहालय निर्माणले मूर्तरुप लिन नसकेको उनको गुनासो थियो । सुरुमा सरकारले प्रदान गरेको बजेटबाट करिब आधा काम सकिए पनि थप बजेट नआउँदा संग्रहालय निर्माणको काम अलपत्र परेको अध्यक्ष गुरुङले बताए ।
संग्रहालय निर्माणका लागि थप पाँच करोड रुपैयाँ लाग्ने बताइएको छ । उक्त संग्रहालयमा फर्निचर, बिजुली बत्ती, भवनको प्लास्टरसँगै रङरोगनलगायत पर्खाल निर्माणको काम बाँकी रहेको छ । देशका ७७ वटै जिल्लाको चिनारी झल्किनेगरी राष्ट्रिय सहकारी संग्रहालय निर्माणको काम अगाडि बढाइएको उनको भनाई थियो । सबै जिल्लाका कृषिलाई प्राथमिकता दिएर संग्रहालय निर्माणको काम अगाडि बढाइने सहकारीको योजना थियो ।
प्रकाशित समय : १७:४४ बजे



















