कांग्रेसको प्रदेश अधिवेशन : प्रदेश-२ बाहेक सबैमा आज मतदान हुँदै
वि.सं.२०७८ मंसिर १८ शनिवार १४:३८
shares

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत अहिले प्रदेश अधिवेशन चलिरहेको छ । पहिलोपटक संघीयताको अभ्यास गरेको कांग्रेसमा प्रदेशले नेतृत्व पाउँदैछन् । केन्द्रीय राजनीतिमा प्रभाव जमाएका नेताहरु नै प्रदेशमा झरेका छन् ।
प्यानल बनाएरै प्रतिस्पर्धामा होमिएका उनीहरुबीच आज मतदान हुँदैछ । नेपाली कांग्रेसले जनाए अनुसार आज प्रदेश-२ बाहेकका ६ वटा प्रदेशमा प्रदेश कार्यसमिति चयनका लागि मतदान हुँदैछ ।
संघीय संरचनाअनुसार कांग्रेसले पहिलोपटक प्रदेश अधिवेशन गरेको हो । अधिवेशनले सभापति, दुई उपसभापति, दुई महामन्त्री र एक महिलासहित तीनजना सहमहामन्त्रीको निर्वाचित गर्नेछ ।
प्रदेश अधिवेशनमा १६५ प्रतिनिधि सभा र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रबाट निर्वाचित भएर आएका महाधिवेशन र प्रदेश अधिवेशन प्रतिनिधिले मतदान गर्नेछन् । केन्द्रीय निर्वाचन समितिका अनुसार प्रदेश २ मा भने आज मात्र उम्मेदवारी दर्ता हुने भएको छ । अन्य ६ प्रदेशमा आजै नेतृत्व चयनका लागि मतदान हुनेछ ।
प्रदेश-१ सभापतिका लागि गुरुराज घिमिरे र उद्धव थापा भिड्दै छन् । प्रदेश-२ मा रञ्जीत कर्ण, रामसरोज यादव र कृष्ण यादवले दाबेदारी प्रस्तुत गरेका छन् । बागमती प्रदेशमा भीमसेनदास प्रधान, जगदीश्वरनरसिंह केसी र इन्द्र बानियाँले उम्मेदवारी दिएका छन् । गण्डकी प्रदेशको सभापति पदमा अर्जुनप्रसाद जोशी र शुक्रराज शर्माबीच प्रतिस्पर्धा हुँदैछ ।
लुम्बिनी प्रदेशमा भरतकुमार शाह र अमरसिंह पुन मगरले उम्मेदवारी दिएका छन् । कर्णाली प्रदेशमा भूपेन्द्रजङ शाही, ललितजङ शाही र मोतिराज बमले उम्मेदवारी दिएका छन् । त्यसैगरि सुदूरपश्चिम प्रदेशमा वीरबहादुर बलायर र नारायणदत्त मिश्रबीच प्रतिस्पर्धा हुँदैछ ।
























