गृहपृष्ठ अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरेको छैन, चुनौती दिनेलाई सम्मान छ : ओली
अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरेको छैन, चुनौती दिनेलाई सम्मान छ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी महाधिवेशनमा आफू अध्यक्षमा उठ्ने वा नउठ्ने निर्णय गरिनसकेको बताएका छन् । मंगलबार सम्पादकहरुसँगको अन्तर्क्रियामा उनले आफूलाई चुनौती दिनेलाई सम्मान र स्वागत गर्ने बताए ।
एमालेको अध्यक्षको रुपमा ओली नै दोहोरिने निश्चित प्राय भएको बेलामा उनले आफ्नो उम्मेदवारी टुंगो नभएको बताएका हन् । 'मैले अध्यक्षमा उठ्ने वा नउठ्ने कुनै निर्णय गरेको छैन। उठ्ने भएँ भने अध्यक्षमा अरुलाई नउठ्न भन्दिनँ', उनले भने ।
अध्यक्षमा यसअघि नै भीम रावलले पनि उम्मेदवारी घोषणा गरिसकेका छन् । तर, त्यसलाई चुनौतीको उनले चर्चा गरेनन् । 'रावलजीले मलाई चुनौती दिनुभएको होइन । उहाँले मप्रति आदर सम्मान नै गर्नुभएको छ । तपाईंलाई थकाइ लाग्यो होला, म उठ्छु भन्नुभएको छ', उनले भने ।
नेकपा एमाले लोकतान्त्रिक पार्टी भएकाले उम्मेदवारीको सन्दर्भमा कुनै प्रकारको जोरजुलुम वा दबाब नहुने उनको भनाइ थियो । उनले आफूले नउठ्न आग्रह गर्दा दबाब दिएको हुनसक्ने भएकाले आफूले त्यस खालको दबाब वा अभिव्यक्ति नदिने बताए ।
प्रकाशित समय : २१:५३ बजे


















