nmb bank

गृहपृष्ठ जलवायु परिवर्तनका कारण हिमनदीको अन्त्य !

जलवायु परिवर्तनका कारण हिमनदीको अन्त्य !

जलवायु परिवर्तनका कारण हिमनदीको अन्त्य !

‘निकट भविश्यमै जलवायु परिवर्तनका कारण एक-एक गरेर हिमनदीहरुको अन्त्य हुँदैछ’ भन्दा उस्तै मान्छेहरुले नपत्याउलान् नै । उनीहरुले पत्याउने कसरी ? तर, जोे विषय विज्ञ हो, उसले त नपत्याउने कुरै भएन । तर, जलवायुसम्बन्धी विषय विज्ञहरुले त विगत लामो समयदेखि नै विश्वमा तीव्र गतिमा फैलिएको जलवायु परिवर्तनको असरका कारणले सुरुमा हिमनदी पग्लने र विस्तारै हिमनदी सुक्ने, हिमताल पनि फुटने र सुक्ने एवं प्रकारले हिमालमा रहेका सेतो हिऊँ पनि पग्लेर नांगो डाँडो (काला पहाड/भीर)मा परिणत हुने अनुमान गरेका छन् ।

यसरी विश्वमा तीव्र गतिमा फैलिएको जलवायु परिर्वतनको असरका कारणले हिमनदी पग्लने र विस्तारै हिमनदी सुक्ने, हिमताल पनि फुटने र सुक्ने एवं प्रकारले हिमालमा रहेका सेतो हिऊँ पनि पग्लेर नांगो डाँडो (काला पहाड/भीर)मा परिणत हुने क्रमलाई रोक्न वा कम गर्नका लागि सम्बन्धित विषयमा चासो राख्ने विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता, वातावरणविदलगायत जलवायु परिवर्तनका बारेमा चिन्ता व्यक्त गर्नेहरुले जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा कटौती गर्नुपर्ने भन्ने सम्बन्धमा धेरै पहिलेदेखि आवाज उठाउँदै आएका छन् । तर, उनीहरुको आवाज जति सुन्नुपर्ने हो । सम्बन्धित पक्षले सुनेको नसुनेझैं गरिरहेका छन् ।

त्यसो भए पनि जलवायु परिवर्तनका कारण हुने स्वच्छ हावाको कमी, वातावरण विनाश, बेमौसममा बढ्ने गर्मी र बेमौसममा हुने जाडो, बिना सिजनमा पर्ने पानी, मुसलधारे वर्षा, हिउँद याममा पनि अचानक आउने बाढी, पहिरोले गर्दा हिमालभन्दा तल वस्ती रहेका मानिसहरुले अचानक र बेमौसममा प्राकृतिक विपत्तिहरु सहनु परेको छ । यसरी हिमनदी पग्लने क्रमले गर्दा हिमाली र पहाडी क्षेत्र (खास गरी नदी आसपास)मा बसोवास गर्ने मानिसहरुमा पार्ने दीर्घकालीन असरका साथै भविश्यमा कञ्चन, सफा, निर्मल र स्वच्छ पानीको मुहान नै सुक्ने वा अन्त्य हुने सम्भावना रहेको देखिन्छ । त्यसैले त होला, विषय विज्ञहरु यस्ता बेमौसममा आउने बाढी, पहिरो आदिका लागि कसले जिम्मेवारी लिने ? र यसका रोकथामका लागि कसरी काम गर्ने ? भन्ने विषयमा बहस र छलफल गरिरहेका छन् । तर, पनि हालसम्म मतैक्य भने हुन सकेको देखिदैन ।

त्यसो त जलवायु परिवर्तनमा प्रत्यक्ष असर गर्ने हरित गृह ग्यास उत्पादनमा विश्वका ठूला (विकसित र औद्योगिक देशहरु) जस्तो कि अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, ब्राजिल, इटाली, भारत, दक्षिण अफ्रिका, टर्की, भियतनाम, मलेसिया आदि देश नै मुख्य हुन् । तर, उनीहरुबीच जलवायु परिवर्तनसम्बन्धी कस्तो नीति अपनाउने ?, कस्तो मापदण्ड बनाउने ? भन्ने सम्बन्धमा एक मत नभएकाले धेरै पछिसम्म यसबारेमा गलफत्ती भइरहयो, अझै पनि सो सम्बन्धमा गलफत्ती भइरहेकै अवस्था हो । तर, पछिल्लो समय विश्वका उदाउँदो अर्थतन्त्र भनी चिनिएका देशहरु जस्तै चीन, भारत, ब्राजिल, टर्की, भियतनाम, दक्षिण अफ्रिका, मलेसिया आदि देशले चाहिँ आफूहरु भर्खरै मात्रै उद्योग धन्दा र कलकारखाना चलाउने देशमा दरिएको हुनाले गर्दा र, विकसित देशहरु अमेरिका, रुस, चीन, अष्ट्रेलिया, जापान, जर्मनी, बेलायत, फ्रान्स, इटलीले भन्दा कमै मात्र हरित गृह ग्यास उत्पादन गर्ने हुँदा सजाय, अन्य दायित्व पनि कमै हुनुपर्ने भन्ने तर्क गरिरहेका छन् ।

जे भए तापनि अहिलेको अवस्थामा आइपुग्दा विकसित तथा औद्योगिक देशहरुले मात्रै विश्वको ३२-३३ देखि ३६-३७ प्रतिशत पानी र अधिकांश प्राकृतिक सोत साधनहरु दोहन गर्दै आएका छन् भन्ने विज्ञहरुको लेखाजोखा रहेको छ । त्यस्तै यी औद्योगिक देशहरुले मात्रै विश्वको झण्डै ८१-८२ प्रतिशत वायु प्रदुषणजन्य ग्यास, धुवाँ, फोहरलगायत जलवायु परिवर्तनमा प्रत्यक्ष असर पार्ने खालका फोहरजन्य पदार्थ उत्पादन गर्दै आएका छन् । त्यसको प्रत्यक्ष असर चाहिँ नेपाललगायत कम विकशित तथा अल्पविकशित देशहरुले धेरै नै भोग्नु परेको तीतो सत्यको रुपमा रहेको छ । 

हुन त हालै आएको एक समाचारअनुसार विश्वका प्रायः सबै हिमनदीहरु तीव्र गतिमा पग्लिन थालेका छन् । त्यसमा पनि हिमालय क्षेत्रको चीनको स्वशासित क्षेत्र तिब्बतको पठार क्षेत्रको चिङ-घाई आसपासमा बढी नै तीव्र गतिमा हिमनदी पग्लेको देखिएको भन्ने छ । केही समयअघि सहयोगी ‘काठमाण्डौ प्रेस’को अनलाइन संस्कणमा संयुक्त राज्य अमेरिकाको ‘टेक्सास ए एन्ड एम विश्वविद्यालय’का अनुसन्धानकर्मीहरुलाई उद्यृत गर्दै लेखेको फिचर लेखमा जनाइएअनुसार अनुमान गरेभन्दा धेरै छिटो हिमनदीहरु पग्लने क्रम बढेको छ । यसरी अनुमान गरेभन्दा छिटो र तीव्र गतिमा हिमनदी पग्लने क्रम बढ्नुमा ‘पोजेटिभ आइस-लस फिडब्याक’ भन्ने वैज्ञानिक प्रक्रिया वा भनौं सिद्धान्तअनुसार हिमनदी पग्लने क्रम बढेको हो भन्ने अध्ययनमा संलग्न वैज्ञानिकहरुको भनाइ रहेको छ ।

हुन पनि नेपाल, चीन, भारत, पाकिस्तान, भुटान, अफगानिस्तानलगायत हिमालय क्षेत्रका देशहरु र केही युरोपेली देशहरुमा समेत बेमौसमी बाढी र पहिरो आउने क्रम बढेको देखिन्छ । जस्तै गत वर्ष हिउँद याम (फेब्रुअरी महिना)मै भारतको नन्दादेवी हिमाल आसपासको हिमनदी र हिमाल पग्लेर बाढी पहिरो आएको थियो । जुन बाढी र पहिरोले गर्दा नजिकैको जलविद्युत परियोजना रहेको ड्याम र आसपासका गाउँ-वस्तीहरु तहसनहस बनाएको थियो । यसरी बेमौसममा बाढी पहिरो आउने क्रम बढ्नुमा सहायक कारणहरु अरु नै हुन सके तापनि मुख्य कारणको रुपमा जलवायु परिवर्तनको असर नै हो भन्ने ठम्याई विषय विज्ञ, वैज्ञानिक, खोज-अनुसन्धानकर्ता तथा वातावरणविदहरुको रहेको छ । जलवायु परिवर्तनले विश्वव्यापी रुपमा ल्याउने नकारात्मक र दीर्घकालीन असरलाई कसरी रोक्ने वा कम गर्ने ? भन्नेबारे, वैज्ञानिक, विषय विज्ञ, खोज-अनुसन्धानकर्ता तथा वातावरणविदहरु चिन्तित छन् । तर, आखिरमा जसले जे भने तापनि यो मामिलामा शक्तिशाली, विकसित र औद्योगिक भनिएका देशका नेताहरुको मतैक्य नरहेसम्म यो मामिलाले किनारा लाग्न धेरै समय लाग्ने देखिन्छ ।

हुन त के पनि भनिन्छ भने, जलवायु परिवर्तनका सम्बन्धमा विकसित देशहरुको अटेरीपन र दादागिरी कायमै रहेमा अबको ५० वर्षमा अरु कुरोहरुका साथै पानीको संकट, घरबास संकटका साथै खाद्यान्न संकटको पनि ठूलो समस्या आइपर्ने पक्का छ ।

प्रकाशित समय : १९:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु