Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

निषेधाज्ञामा उपभोग्य वस्तु : आपूर्ति सहज, मूल्य वृद्धि

सीता वली वीरेन्द्रनगर वैशाख २५, २०७८       

निषेधाज्ञामा उपभोग्य वस्तु : आपूर्ति सहज, मूल्य वृद्धि

वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ की राजकुमारी शाहीले निषेधाज्ञाभन्दा पहिले प्रतिलिटर २ सय ५० रुपैयाँ हालेको सुर्यमुखी तेललाई अहिले २ सय ८० रुपैयाँसम्म तिर्नु परेको सुनाइन् । आवश्यक खाद्य सामग्री सहज पाइए पनि महँगीले ढाड सेकेको उनको अनुभव छ ।

चामलसमेत प्रतिबोरा एक सयदेखि दुईसय रुपैयाँसम्म बढेर आएको उनले बताइन् । ‘अहिलेसम्म त सामान जे पनि पाइएको छ । तर, एकदमै महँगी बढेको छ,’ उनले भनिन् । महँगीबारे पसलेलाई प्रश्न गर्दा उत्पादन हुने ठाउँबाटै भाउ बढेर आएको सुनाउने गरेको शाहीको भनाइ छ । निषेधाज्ञा भएर घरमै बसिरहेको समयमा खाद्य सामग्रीमा बढेको महँगीले आफूलाई चिन्तित बनाएको उनले सुनाइन् ।

वीरेन्द्रनगर- १५ की सीता चपाईंले समेत स्थानीय बजारमा आधा लिटर तेलको पोकालाई १ सय ६० रुपैयाँसम्म तिरेकी छन् । लकडाउनभन्दा पहिले १ सय २० देखि १ सय ३० रुपैयाँसम्म पर्ने तेललाई उनले अहिले १ सय ६० रुपैयाँ तिर्नुपरेको हो । भन्छिन्, ‘तेल नभई भान्सा चल्दैन । जति परे पनि खानै परेको छ,’ उनले समस्या सुनाइन् । अन्य खाद्य सामग्रीसमेत भनेको समयमा नपाउने गरेको उनले सुनाइन् । बजारमा प्रतिस्पर्धा नहुने भएका कारण पनि व्यापारीहरुले महँगी बढाएको उनको तर्क छ । सीताका अनुसार चामल, तेल, चिनी लगायतका अत्यावश्यक खाद्य सामग्रीमा मूल्य बढेर आउँदा समस्या भएको हो ।

आपूर्ति सहज भए पनि महँगी बढेको व्यापारीहरुको समेत भनाइ छ । वीरेन्द्रनगर- ३ मा रहेको टिका वली सप्लायर्सका सञ्चालक टिका वलीले निषेधाज्ञाको समयमा खाद्य सामग्रीको मूल्यमा वृद्धि भएको सुनाए । उनका अनुसार उनले चामल, चिनी, तेल तथा सुर्तीजन्य पदार्थहरुको भाउ बढेको हो । पहिले एकहजार ६ सय पर्ने चामलको मूल्य अहिले १ हजार ७ सय रुपैयाँ पुगेको उनले सुनाए । चिनीसमेत प्रतिकिलो दश रुपैयाँ बढेर आएको उनको भनाइ छ । सामान नपाउने समस्याभन्दा पनि महँगी थेग्न गाह्रो भएको उनी बताउँछन् । भन्छन्, ‘उपभोक्ताहरुले सप्लायर्सले नै बढाए भन्ठान्छन् । उत्पादन हुने ठाउँबाटै बढेर आएपछि हाम्रो के लाग्छ ?’

वीरेन्द्रनगर- १५, निगालपानीमा रहेको कुबेर खाद्य तथा किराना पसलका सञ्चालक डम्बर खत्रीले उपभोग्य वस्तुमा महँगी बढेको बताए । ‘तेलको मुल्य निषेधाज्ञाभन्दा पहिले पनि आकाशिएकै थियो । पहिले १ हजार ६ सय पर्ने तेललाई अहिले १ हजार ८ सय पर्छ,’ उनले भने । उनले गाउँमा व्यापार गर्नेेहरुलाई आपूर्तिमा समेत समस्या भएको सुनाए ।

व्यापारी र उपभोक्ताले बजारमा खाद्य सामग्रीहरुको मूल्य आकाशिएको बताए पनि सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले भने जिल्लामा ठूला उद्योगहरु नभएको र बाहिरबाटै सामान महँगो भएर आएको बताए । ‘व्यापारीहरुले सामान लुकाएर कृत्रिम अभाव गरेका छैनन् । कम्पनीबाटै महँगो भएर आएको सामानलाई यहाँका व्यापारीले महँगै बेच्नुपर्छ,’ उनले मूल्य वृद्धिको कारणबारे बताए । कँडेलले बजारमा नियमितजसो अनुगमन गर्ने गरेका कारण कृत्रिम अभाव नभएको दाबी गरे । 

सुर्खेतका सहायक प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले महँगीको खासै गुनासो प्रशासनमा नआएको बताए । ‘सामानको कृत्रिम अभाव र महँगी भए गुनासो गर्न पाइन्छ,’ उनले भने, ‘तर यस्तो खालको गुनासो कतैबाट पनि आएको छैन ।’ उनले फलफुल तथा तरकारीको मूल्य निषेधाज्ञामा झनै घटेर आएको बताए । 

जिल्ला प्रशासन कार्यालयले दैनिक सुर्खेत भित्रिने सामानहरुको बिलको एकप्रति सुब्बाकुनामा रहेको प्रहरी पोष्टमा बुझाउनुपर्ने गरी निर्देश गरेको र सोहीअनुरुप निगरानी गरिएको सहायक प्रजिअ महतले बताए । फलफुल तथा तरकारी व्यवसायी संघले समेत दैनिक रुपमा सामानको बिल प्रशासनलाई बुझाउने गरेको जानकारी दिए । प्रशासन, उद्योग वाणिज्य संघ लगायतले दैनिकजसो बजार अनुगमन गर्दै आएको र कतै पनि कालो बजारी र कृत्रिम अभाव नदेखिएको उनले सुनाए । कतै कालोबजारी भएको खण्डमा जिल्ला प्रशासन कार्यालयमा फोन गरी गुनासो गर्न सकिने उनले जानकारी दिए ।

सम्बन्धित खबरहरु