Nepalese Flag २०७८ असार ५ गते शनिबार   |   June 19, 2021

गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण तीव्र

दिनेश बिष्ट कैलाली वैशाख २५, २०७८       

गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माण तीव्र

गेटा मेडिकल कलेजमा आइसोलेसन निर्माणको कार्य तीव्र गतिमा अगाडि बढेको छ । संघीय सरकार तथा धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको संयुक्त लगानीमा आइसोलेसन निर्माण हुन लागेकाे हाे । सुदूरपश्चिममा कोरोना संक्रमणदर बढ्दै गएपछि बेड अभाव भएर संक्रमितले ज्यानै गुमाउनु पर्ने अवस्था आएकाे छ । 

आइसाेलेसनका लागि विद्युत आपूर्तिकाे व्यवस्थापन भइसकेकाे छ । अक्सिजन प्राप्त हुनेबित्तिकै आइसोलेसन सञ्चालन हुने धनगढी उपमहानगरले जनाएको छ । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण नियन्त्रणबाहिर गएपछि संघीय सरकारले बृहत आइसोलेसन बनाउनका लागि गेटा मेडिकल कलेज रोजेको थियो । कोभिड- १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)ले पनि निर्णय गर्दै गेटा मेडिकल कलेजमा आइसोलेसन बनाउन निर्देशन गरेको थियो । संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपस्थित भएर आइसोलेसन निर्माणको काम अगाडि बढाएका थिए ।

अहिले आइसोलेसनकाे काम युद्धस्तरमा भइरहेकाे आइसोलेसनका सम्पर्क व्यक्ति तथा गोदावरी नगरपालिकाका प्रवक्ता सर्मानन्द भट्टले बताए । ‘बिजुलीको ट्रान्समिटर जडान गरिसकेका छौं, सरसफाई सकिएको छ,’ उनले भने, ‘भित्री धेरै काम सकिएको छ । अहिले बेड निर्माण गरिरहेका छौं । छिट्टै अक्सिजन उपलब्ध हुनेछ । त्यसपछि उपचार थाल्छाैं ।’

आइसोलेसन निर्माणका लागि मन्त्री भट्टका प्रमुख स्वकीय सचिव हितेश ओझा सहितका टोली खटिएका छन् । ‘हामीले धेरै चाँडो निर्माण गर्न खोजेका छौ,’ मन्त्री भट्टका प्रमुख स्वकीय सचिव ओझाले भने, ‘ढिलो भएजस्तो लागे पनि काम धेरै थियो, निरन्तर काम भइरहेको छ। अहिलेको अवस्थामा हामी पनि जतिसक्दो चाँडो आइसोलेसन निर्माण गर्छाैं । हामीले ५ सय शय्याबाट सुरु गर्ने भनेका थियौं ।’ अब तयार भएका शय्यामा अक्सिजन उपलब्ध हुनेबित्तिकै बिरामी भर्ना सुरु हुने उनले बताए । उनले भने, ‘अहिले आउने बिरामी भनेको अक्सिजन आवश्यकता भएकै बिरामी हुन् । त्यसकारण बाहिरबाट अक्सिजन मगाएका छौं । त्यो अक्सिजन आएपछि यहाँ आइसोलेसन सुरु हुन्छ ।’

ओझाले प्रदेश संघ र स्थानीय तहकै सहकार्यमा आइसोलेसन बनाउने भनिए पनि प्रदेशले यता चासो नदेखाएको बताए । ‘प्रदेशलाई आउन आग्रह गरेका हौं, उहाँहरु आउनुभएन,’ उनले भने, ‘जसो भए पनि हामी आइसोलेसन बनाएर उपचार गर्छौं । हामीलाई कसैको जस चाहिएको छैन ।’

जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) कैलालीको मातहतमा रहने गरी धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाको सहकार्यमा मंगलबारदेखि आइसोलेसन निर्माण कार्य सुरु गरिएको हो । धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले आवश्यक पूर्वाधार निर्माणमा जनशक्ति खटाउनुका साथै स्वयंसेवकहरुले अहिले काम गरिरहेका छन् । आवश्यक पर्ने स्वास्थ्य जनशक्तिका लागि गोदावरी र धनगढी उपमहानगरपालिकाले खटाउने भएकाे छ ।

धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले काम तीव्र गतिमा भइरहेको बताए । ‘हामी तीन तहकै सरकार समन्वय गरी काम गर्न चाहिरहेका छौं,’ नगरप्रमुख वडले भने, ‘धनगढी उपमहानगरपालिकाले आवश्यक उपकरण, स्वास्थ्यकर्मी उपलब्ध गराउने छ, साथै अन्य आवश्यक पर्ने काम हामी दुवै नगरपालिकाले गरिरहेका छौं ।’ गोदावरी नगरपालिकाका नगरप्रमुख हरिसिहं साउदले पनि आफ्नो तर्फबाट हुने काम पूर्ण रुपले गरिरहेको बताए । ‘गेटा मेडिकल कलेजमा अक्सिजन आवश्यक परेका बिरामीहरुलाई राख्नेछौं,’ उनले भने, ‘जटिल समस्या भएका बिरामीहरुलाई सेती प्रादेशिक अस्पताल र मालाखेती अस्पताल पठाउने छौं ।’

साथै अवकाश प्राप्त चिकित्सक तथा स्वास्थ्यकर्मीलाई समेत सो आइसोलेसनमा सहयोगका लागि अपिल गरिएको छ । आइसोलेसनमा आवश्यक पर्ने स्वास्थ्य उपकरणका लागि सहयोग गर्न यहाँका निजी संघ-संस्थालाई पनि अपिल गरिएको छ । तत्काललाई अक्सिजन सहितको बेड मात्रै राखिए पनि बिस्तारै भेन्टिलेटरसहित जडान गर्नुपर्ने हुँदा विभिन्न क्षेत्रलाई सहयोग गर्न अपिल गरिएको हो ।

यससँगै कैलाली उद्योग वाणिज्य संघले पनि सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । संघका अध्यक्ष पुष्पराज कुँवरले आवश्यक सहयोग गर्ने बताए । ‘हामीले पहिलो चरणको कोरोना कहरमा पनि धेरै सहयोग गरेका हौं,’ उनले भने, ‘अहिले गेटा मेडिकल कलेजका लागि सहयोग गर्न आग्रह गर्नुभएको छ । संघका सबै टिमसँग छलफल गरेर आवश्यक सहयोग गर्नेछौं ।’

दुई हजार क्षमताको आइसोलेसन निर्माण गर्ने भए पनि पहिलो चरणमा केही बेड भए पनि सञ्चालनमा ल्याइने भएको हो । यो आइसोलेसन तयार भएपछि बेड अभावमै छटपटिनु पर्ने अवस्थाको अन्त्य हुने अपेक्षा लिइएको छ ।

सम्बन्धित खबरहरु