nmb bank

गृहपृष्ठ दाजु बोकर स्कुल जान्छिन् बहिनी

दाजु बोकर स्कुल जान्छिन् बहिनी

दाजु बोकर स्कुल जान्छिन् बहिनी

धुवाँकोट –सुस्मिता बराम कक्षा २ मा पालुङटार नगरपालिका ५ को मदनेडाँडा मावि पढ्छिन् । उनी मात्र १० वर्षकी भइन् । तर उनको थाप्लोमा भने ठुलो जिम्मेवारी आइपरेको छ । आफूभन्दा दुई वर्ष जेठा दाजुलाई थोत्रो सलले पिठ्युँमा बोकेर स्कुल पुयाउनु । यो रहर होइन बाध्यता हो । दाजु लक्ष्मणको दुवै खुट्टा नचल्ने हु“दा पढ्ने रहर पूरा गर्न सुस्मिताले बोकेर स्कुल ल्याउने गरेकी हुन् । दाजुलाई मात्रै होइन, उनले आफ्नो झोला र दाजुका किताब पनि बोक्नुपर्छ । बिहान ८।३० बजे दाजुलाई बोकेर घरबाट निस्केकी उनी बेलुकी पाँच, छ बजेसम्ममा फर्किन्छिन् । उनका दाजु ३ कक्षामा पढ्छन्।
दाजुलाई उनको कक्षाकोठामा बसालिदिएर सुस्मिता आफ्नो कक्षामा जान्छिन् ।  खाना खाएर बिहानै घरबाट निस्किएपछि साँझ घर पुग्ने भएकाले यी बालबालिकासँग पढ्ने समय पनि छैन ।
लक्ष्मणका जन्मजात नै दुवै खुट्टा अशक्त थिए । हजुरआमा मनमाया बराम भन्छिन्, ‘म सधैं बोकेर पु¥याउन जान सक्दिनँ, नातिनीले बोकेर लैजान्छे, कहिलेकाहीं छिमेकी नानीहरुले झोला बोकेर सघाउँछन् ।’ चंख स्वभावका लक्ष्मण पढ्न रुचि राख्छन्। त्यसो भएर पनि हजुरआमा उनलाई विद्यालय पठाउँछिन् । लक्ष्मणले यसअघि छोप्राकमा मामाघरमा बसेर पढ्दै आएका थिए। आमाले दोस्रो बिहे गरेपछि उनी हजुरआमासँग धुवाँकोट आएर मदनेडाँडा माविमा भर्ना भएका हुन्।
विद्यालयका प्रधानाध्यापक रुद्रप्रसाद उप्रेतीले भने, ‘हामीले विद्यालयमै राखेर पढाउन सक्ने अवस्था छैन । यहाँबाट हुने सहयोग, छात्रवृत्ति दिएका छौं, आवासीय सुविधा नभएकाले लक्ष्मणलाई धेरै गाह्रो भएको छ ।’ ‘आफ्ना सबै किताब बोकेर हिँड्न त समस्या हुने उमेरकी बालिका, दाजुसहित बोक्नु पर्दाको पिडा कल्पना गर्दा पनि मुटु सिरिंग हुन्छ’, उनले भने । आमाले छाडेर गएपछि ६० वर्षे हजुरआमासँग बस्दै आएका यी बालबालिकाको दैनिकी निकै दुःखदायी छ । बाबु भक्तपुरमा ज्यालामजदुरी गर्छन् । बाबुले पठाएको अलिकति पैसाले हजुरआमाले गुजारा चलाएकी छन् । चार हलको पाखो बारीबाहेक अन्य जायजेथा बराम परिवारको छैन।

प्रकाशित समय : ०८:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु