global ime bank Long Banner Ad

गृहपृष्ठ बाँके र बर्दियाका सम्पदा ‘पर्यटक पर्खिदै’

बाँके र बर्दियाका सम्पदा ‘पर्यटक पर्खिदै’

बाँके र बर्दियाका सम्पदा ‘पर्यटक पर्खिदै’


कमल डाँगी । बाँके । ‘हामीसँग यति ठूलो प्राकृतिक सम्पदा छ, तर हामी वर्षमा केही सय अथवा त्यो भन्दा बढि हजार पर्यटक भित्रिए भन्दै समाचार लेखिरहेका हुन्छौं ।’ नागरिक समाज बर्दियाका अध्यक्ष समेत रहेका अग्रज पत्रकार बालकृष्ण ओली अनौपचारिक कुराकानीमा भन्दै थिए,‘ हजारको संख्यामा पर्यटक आउ“दैमा सबथोक पुग्यो भन्न मिल्ला ?’ देशकै ठूलो मध्येमा पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज पर्ने जिल्लाका बासिन्दा ओली ‘पर्यटक भित्र्याउने नसकिएको’मा खिन्न थिए ।
‘चितवन राष्ट्रिय निकुञ्जले त्यसक्षेत्र पर्यटकले भरिभराउ हुने’ ओलीले भने, ‘हाम्रो क्षेत्रमा थोरै पर्यटकमै चित्त बुझाउनुपर्ने किन ?’ पश्चिम क्षेत्र सम्पदा भएर पनि ठगिएको महसुस गर्छन्, पर्यटन क्षेत्रमा नेपालगन्जमा बसेर कलम चलाएका पत्रकार शरण कर्माचार्य । उनी भन्छन्, ‘बर्दिया संसारकै उत्कृष्ट पर्यटकीय गन्तव्य बन्न सक्छ । चर्को गर्मीका बीच साहारा मरुभूमि आसपासका अफ्रिकी राष्ट्रिय निकुञ्जहरु संसारकै प्रकृतिप्रेमीहरुका लागि गन्तव्य बन्न सक्छन् भने हाम्रो बर्दिया किन बन्न नसक्ने ? तर पनि ओझेलमा परेको र पारिएको छ बर्दिया ।’
प्राकृतिक सम्पदाले भरिभराउ बर्दिया राज्यबाट ठगिएकै छ । भौतिक पूर्वाधार निर्माणदेखि प्रचारप्रसारमा उचित ध्यान नदिदा त्यो क्षेत्र ‘केही पर्यटक’मै चित्तबुझाउन बाध्य छ । जसले गर्दा आफ्नो क्षेत्र पर्यटकीयस्थल बनेर आर्थिक उपार्जन होला भनेर बसेका सर्वसाधारण खिन्न भएका छन् । उनीहरु पर्यटनलाई व्यवसायीका रुपमा ग्रहण गर्न सकिरहेका छैनन् । निकुञ्ज आसपासमा पर्यटन विकासका लागि होमस्टे सञ्चालन गरिरहेका सर्बसाधारणहरुले भने आफ्नो कला, संस्कृतिक संरक्षण संगै महिनामा ‘घरखर्च’ चलाउने पैसा कमाइरहेका छन् ।


बर्दिया डल्लामा होमस्टे सञ्चालन गर्दै आएका एक सर्वसाधारणले भने, ‘दिन काट्ने बाटोबाहेक अरु केही छैन ।’ पर्यटक खचाखच भरिएलान् र साँच्चिकै पैसा कमाइएला भन्ने आश भने मरिसकेको छैन, उनमा । नेपालमा सबैभन्दा बढी बाघ भएको निकुन्ज यही हो । बर्दियामा मात्र ८० भन्दा बढी बाघ, १ सयको संख्यामा हात्ती, १ सय बढी बाह्सिङ्गे, ५० बढी गोही रहेका छन् । चित्तल र जरायो त बर्दियामा हजारौको संख्यामा देख्न सकिन्छ । त्यसो त, बर्दियामा पर्यटकहरुका लागि २ दर्जन बढी रिसोर्ट र होटलहरु पनि रहेका छन् । तर पनि बर्दिया सुनसान छ ।
सामान्यदेखि सुविधासम्पन्न होटलहरुमा व्यवसायीहरुले करोडौं लगानी गरे पनि अधिकांस समय बर्दियाका होटलहरु सुनसान जस्तै देखिने गर्छन् । बाघ, हात्ती, बाह्रसिंङ्गे र गोहीको संख्या दिनदिनै बढेपनि बर्दियामा गैंडाको संख्या भने घट्दो रहेको निकुञ्ज बर्दियाले जनाएको छ । बर्दिया राष्ट्रिय निकुन्जको अर्को समस्या निकुन्ज छेउछाउका स्थानीयबासीहरुसंगको बिबाद पनि हो । बन्यजन्तुले बालीनाली नष्ट गरिदिएको भन्दै अवरोध गर्न खोज्ने र निकुन्ज क्षेत्रबाटै घाँसदाउरा गर्ने स्थानीय परम्परा बर्दियाको समस्या रहेको बर्दिया राष्टिय निकुन्जका प्रमुख संरक्षण अधिकृत अशोक भण्डारी बताउँछन् ।
त्यसो त निकुन्जले स्थानीय अतिक्रमण न्यून गर्न १२२ मिटर बिद्युतीय तार समेत बिच्छाएको छ । स्थानीयलाई जनावरले नखाने खालको नगदेबाली लगाउन समेत निकुन्जले प्रेरित गरेको छ । बर्दियाका पर्यटकहरु नजानुको अर्को कारण हो, यातायातको अत्याधिक खर्च । समान्यतया काठमाडौंबाट बर्दिया पुग्दा हवाई यातायातमा ४० हजार खर्च हुने गर्छ । जबकी त्यो खर्चले चितवन र पोखरामा ३ पटक यात्रा गर्न पुग्ने गर्दछ । राजमार्गदेखि ठाकुरद्वारासम्म पुग्ने सडकको जिर्ण अवस्था पनि बर्दिया निकुन्जमा पर्यटक कम पुग्नुको अर्को कारण हो ।
नेपालगन्जबाट पुर्व पश्चिम राजमार्गको अम्बासा पुगेपछि झण्डै १२ किलोमिटर सडक जीर्ण छ । बीचमा पर्ने अम्बासा खोलामा पुल नहुँदा बर्षादका बेला घण्टौ पर्खनुपर्ने पनि हुन सक्छ, जसका कारण पर्यटकहरु ठाकुरद्वारा पुग्न नसकेको बताउँछन्, बर्दिया टाईगर रिसोर्टका सञ्चालक रामजी थापा । बर्दियामा यति ठूलो सम्भावना भएरपनि बर्दिया निकुन्जलाई राज्यले अहिलेसम्म पर्यटन गन्तव्यस्थल घोषणा गरेको छैन । पर्यटनको जिम्मा बोकेको पर्यटन बोर्डले समेत नेपालको पूर्वीभेगको तुलनामा पश्चिमलाई अपहेलित गर्नु पनि बर्दियाको अर्को समस्या हो भन्दा फरक पर्दैन ।


बर्दियाको पर्यटन विकासमा राज्यको दृष्टि कहिले पुग्ला, स्थानीय पर्यटन व्यवसायीहरु यही दिन कुरेर बसेका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले पर्यटक तान्न नसकिरहेका बेला छिमेकी जिल्ला बा“केमा अर्को निकुञ्ज बन्यो, बाँके राष्ट्रिय निकुञ्ज । बाँके राष्ट्रिय निकुञ्ज बनेपछि पर्यटन क्षेत्रमा सुनसान बन्दै आएको नेपालगन्ज भने चर्चामा छ । बाघ संरक्षणका लागि बनाइएको सो निकुञ्जले पर्यटक तान्न आफ्ना गतिबिधि अघि बढाइरहेको छ । साच्चिकै भन्दा अहिले बाँके निकुञ्ज पर्यटनका लागि ‘बामे सर्दैछ’ । निकुञ्जलाई लक्षित गरी बैजनाथ गाउपालिकाको गाभरमा होमस्टे सन्चालन गर्दै आएका कृष्ण चौधरीले पर्यापर्यटनलाई जोड लगाइरहेका छन् ।
‘प्राकृतिक सम्पदालाई हामीले उपयोग गर्ने हो,’ हौसिँदै चौधरी भन्छन्, ‘आज नभए भोली त्यसले पर्यटक तान्छ ।’ नेपालगन्ज बिमानस्थल भन्दा दश किलोमिटरभित्रै पर्ने भएका कारण बर्दिया राष्ट्रिय निकुञ्जले भन्दा बाँके राष्ट्रिय निकुञ्जले पर्यटक तान्ने निश्चित छ, तर त्यो दिन हेर्न अझै केही समय पर्खिनै पर्छ । यता डोरपाटन राष्ट्रिय निकुञ्जले पनि अपेक्षाकृत पर्यटन तान्न सकिरहेको छैन । यो प्राकृतिक सम्पदा उपयोग गर्न पनि जाँगर चलाउनुपर्ने देखिन्छ । ‘प्राकृतिक आनन्द लिन हिमाली भागको दृश्यावलोकन र बन्यजन्तु शिकारको रोमाञ्च अनुभूति लिन चाहनेका लागी ढोरपाटन एकमात्र आरक्ष मानीन्छ ।’ केवी मसालको तर्क छ, ‘त्यहाँ पुग्ने विदेशि अथवा स्वदेशि कुनै पनि पर्यटकहरुलाई त्यहाको प्राकृतिक र सांस्कृतिक सजावटले जो कोहिलाई पनि मनमुग्ध बनाउँछ ।’
ढोरपाटनमा अहिलेसम्मको तथ्याङक अनुसार विदेशि पर्यटकहरुमा अमेरीकि, फ्रान्सेलि, स्पेनि, बेलायति र रुसी नागरिकहरु शिकार खेल्न जाने गरेको पाइएको छ । काठमाडौंबाट टुइनेटर अथवा हेलिकप्टरको हवाई उडान अथवा काठमाडौं–वाग्लुङ मोटर मार्ग हुँदै बाग्लुङ जिल्लाको बुर्तीबाङबाट अधिकारी चोक र वोवाङको बाटो हुदै एक दिनको पैदल यात्रामा ढोरपाटन पुग्न सकिन्छ । अथाहा सम्भावनायुक्त ढोरपाटनबाट त्यसक्षेत्रका नागरिकहरुले आर्थिक उपार्जन गर्न सक्छन् तर भौतिक पूर्वाधार निर्माणमा खासै चासो नदिदा त्यसो गर्न सकिरहेको छैन ।

प्रकाशित समय : २३:०० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु