शाखा विस्तारमा आक्रामक बन्दै ज्योति विकास बैंक
वि.सं.२०७५ मंसिर १९ बुधवार १७:१८
shares

शाखा विस्तारमा ज्योति विकास बैंक आक्रामक देखिएको छ । वित्तीय पहुँच विस्तार गर्ने राष्ट्र बैंकको योजनालाई सहयोग पुर्याउने गरी नयाँ–नयाँ ठाउँमा शाखा खोल्ने कामलाई तीव्रता दिइएको बैंकका सीईओ मनोज ज्ञवालीले बताए । सोमबारमात्रै बैंकले एकै दिन चार नयाँ शाखा विस्तार गरेको छ ।
बैंकले रुपन्देहीको भैरहवा, पडसरी र अमवामा तथा कपिलवस्तुको जीतपुरमा शाखा खोलेको हो । भैरहवा शाखाको उद्घाटन नेपाल राष्ट्र बैंक सिद्धार्थनगरका कामु निर्देशक ऋषिराम बराल र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे ।
यस्तै पडसरी शाखाको उद्घाटन ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट राहुल र बैंकका सञ्चालक ध्रुव कोइराला, अमवामा शाखाको सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारु र बैंकका संचालक जगदीश्वरप्रसाद अधिकारीले गरे भने जीतपुर शाखाको उद्घाटन वाणगङ्गा नगरपालिकाका प्रमुख मंगलप्रसाद थारु र बैंकका अध्यक्ष हरिचन्द्र खड्काले गरे ।
नयाँ चार शाखा थपिएसँगै बैंकका कुल शाखा संख्या ८० पुगेको छ । चालू आर्थिक वर्षभित्रै थप १० वटा शाखा तथा २७ स्थानमा एटीएम संचालनमा ल्याउने सीईओ ज्ञवालीले बताए । बैंकका २२ वटा एटीएमबाट पनि ग्राहकले सेवा पाइरहेका छन् ।
बैंकले २३ अर्बभन्दा बढी निक्षेप संकलन गरी १० हजारभन्दा बढी ऋणीमार्फत १८ अर्बभन्दा बढी कर्जा लगानी गरेको छ । यो बैंकको चुक्ता पुँजी २ अर्ब ५९ करोड छ । हाम्रो विकास बैंकलाई प्राप्त गरी एकीकृत कारोबार सुरु गरेपछि बैंकको चुक्ता पुँजी ३ अर्ब १० करोड पुग्नेछ ।
























