गृहपृष्ठ जन्मदिनमा उद्योगी निरौलाद्वारा निःशुल्क स्वास्थ्य शिविर र जुत्ता वितरण
जन्मदिनमा उद्योगी निरौलाद्वारा निःशुल्क स्वास्थ्य शिविर र जुत्ता वितरण
विराटनगरका उद्योगी चेतन निरौलाले जन्मदिनको अवसरमा आफू जन्मेर हुर्किएको गाउँमा पुगेर निःशुल्क स्वास्थ्य शिविर र स्थानीय सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थीलाई जुत्ता वितरण गरेका छन् । उनले ४४औँ जन्मदिवसका अवसरमा लायन्स क्लब अफ विराटनगर युनिक, लियो क्लब अफ विराटनगर युनिक र विराट मेडिकल कलेजसँगको सहकार्यमा झापाको बुद्धशान्ति गाउँपालिका–७ स्थित राष्ट्रिय विजय माविको प्रांगणमा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेका हुन भने सोही विद्यालयमा अध्यनरत बालबालिकालाई स्कुल जुत्ता वितरण गरेका छन् ।
स्वास्थ्य शिविर उद्घाटन कार्यक्रममा उद्योगी निरौलाले बुद्धशान्ति गाउँपालिका–७ स्थित राष्ट्रिय विजय माविमा अध्ययनरत विद्यार्थीसहित अन्य दुई विद्यालयमा अध्यनरत ४ सय विद्यार्थीलाई ४ सय जोर स्कुल जुत्ता वितरण गरे । स्कुल जुत्ता नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङका महासचिव गोपाल काफ्ले, लायन्स क्लबका जोन चेयर पर्सन विनोद राउत, विराट व्यापार संघका महासचिव तथा लायन्स क्लब अफ विराटनगर यूनिकका प्रेसिडेन्ट सुजन थापा, लियो क्लब अफ विराटनगर युनिकका फस्ट भाइस प्रेसिडेन्ट पेरिस सुवेदी, बुद्धशान्ति गाउँपालिका–७ का वडाध्यक्ष मात्रिका पौडेललगायतले वितरण गरेका थिए ।
उद्योगी निरौलाले २५ वर्षअघि अध्ययन गरेको विद्यालयमा शिविर र स्कुल जुत्ता वितरण गर्न पाउँदा खुसी लागेको बताए । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रामप्रसाद तिम्सिनाले आफ्नो विद्यार्थी सफल उद्यमी बनेर यसप्रकारको परोपकारी कार्य गर्दाा गौरव महसुस भएको बताए । विलासिताका वस्तुमा ठूलो धनराशि खर्च गरेर जन्मदिन मनाउनुभन्दा शिविर आयोजना र जुत्ता वितरण गरेर जन्दिन मनाएर निरौलाले उदाहरणीय कार्य गरेको उनको धारणा छ ।
स्वास्थ्य शिविरमा बुद्धशान्ति गाउँपालिकाका २ सय ८ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविरमा स्त्री तथा प्रसूति, जनरल फिजिसियन, नाक कान घाँटी, बालरोगलगायतको परीक्षण गरिएको निरौलाले जानकारी दिए । निरौला २०५२ सालमा अध्ययनको शिलशिलामा विराटनगर आएका थिए । केही वर्ष विराटनगरको एउटा जुत्ता उद्योगका काम गरेर अनुभव बटुलेका उनले पछि आफ्नै ग्यालेक्सी सुज उद्योग सञ्चालन गरेका हुन् । हाल उनी विराटनगरको प्रतिष्ठित व्यवसायीका रुपमा परिचित छन् । निरौला नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको प्रथम उपाध्यक्षसमेत हुन् ।
उद्योगी निरौलासँगको अन्तर्वार्ता पनि पढ्नुहोस्
सरकारले उद्योगीमाथि कर थोपर्नमात्र जानेको छ : चेतन निरौला
प्रकाशित समय : २१:०६ बजे
















