गृहपृष्ठ सांसद सुब्बाद्वारा ग्रामीण चक्रीय अर्थतन्त्रमा जोड

सांसद सुब्बाद्वारा ग्रामीण चक्रीय अर्थतन्त्रमा जोड

सांसद सुब्बाद्वारा ग्रामीण चक्रीय अर्थतन्त्रमा जोड

काठमाडौं । प्रतिनिधिसभाका सदस्य सन्तोष सुब्बाले कृषि क्षेत्रको बजेट कटौतीप्रति असहमति जनाएका छन ।

प्रतिनिधिसभाको आजको विशेष समयमा भाग लिँदै उनले ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउने गरी सरकारको नीति तथा कार्यक्रम पुनःविचार गरिनुपर्ने धारणा राखे। कृषि क्षेत्रमा लगानी बढाउनुपर्नेमा मन्त्रालयकै बजेट घटाइनु नीतिगत असन्तुलन भएको जनाउँदै सांसद सुब्बाले आर्थिक रूपमा सक्रिय जनशक्तिको ठूलो हिस्सा कृषि, वन तथा मत्स्य क्षेत्रमा संलग्न रहेकाले त्यसरी बजेट विनियोजन गरिनु नहुने तर्क प्रस्तुत गरे ।

उनले कृषि क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा करिब एक चौथाइ योगदान दिइरहेको अवस्थामा बजेट कटौतीले किसान, उत्पादन र ग्रामीण अर्थतन्त्रमा प्रतिकूल असर पार्ने उनको भनाइ छ ।

सांसद सुब्बाले भने, “कृषिमा विनियोजित बजेटको ठूलो हिस्सा प्रशासनिक संरचना र रासायनिक मलमा खर्च हुने गरेको छ । उत्पादन तथा उत्पादकत्व वृद्धि, भण्डारण, प्रशोधन र दीर्घकालीन पूर्वाधारमा अपेक्षित लगानी हुन सकेको छैन ।”

उनले सरकारको नीति तथा प्राथमिकतामा ‘चक्रीय सहरी अर्थतन्त्र’ प्रवर्द्धन गर्ने विषय उल्लेख भए पनि पर्याप्त रूपमा नसमेटिएको भनी गुनासो गरे । “चक्रीय सहरी अर्थतन्त्र प्रवर्द्धन गर्ने कुरा राम्रो छ, तर चक्रीय ग्रामीण अर्थतन्त्रको कुरा कहीँ उल्लेख छैन”, सांसद सुब्बाले भने, “यसले हामीलाई कहाँ पुर्याउँदैछ भन्ने विषयमा सरकारले समयमै सचेत भएर पुनःविचार गर्नुपर्छ ।”

ग्रामीण क्षेत्रमा रोजगारी र आर्थिक अवसरको अभावका कारण विशेष गरी हिमाली तथा पहाडी क्षेत्रबाट बसाइँसराइ बढिरहेको उल्लेख गर्दै उनले बसाइँसराइको समस्यालाई कृषि, शिक्षा, स्वास्थ्य र स्थानीय अर्थतन्त्रसँग जोडेर हेर्नुपर्ने बताए।

 

प्रकाशित समय : १७:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु