गृहपृष्ठ सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती
सिँचाइ कुलो निर्माणले बाँझो जमिनमा खेती
मान्म । स्थानीय नरहरिनाथ गाउँपालिका–७ माल्कोट गाउँमा सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको छ । माल्कोट गाउँको धाँचुकोटमा गच्चेकाटिया सिँचाइ कुलो निर्माण भएपछि सयौँ हेक्टर जमिनमा सिँचाइ सुविधा पुगेको हो ।
रातिमाटादेखि धाँचुकोटसम्म सिँचाइ कुलो निर्माण भएपछि विगतमा सिँचाइ सुविधा नभएको बाँझो जमिनमा बालीनाली लगाउन थालिएको छ ।
खानेपानी तथा ऊर्जा विकास कार्यालय कालीकोटको आर्थिक लगानीमा पक्की सिँचाइ कुलो निर्माण भएको नरहरिनाथ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण रानामगरले बताए।
“सिँचाइ कुलो निर्माणका लागि खानेपानी तथा ऊर्जा विकास कार्यालयको २० लाख लगानी भएको छ”, उनले भने, “सिँचाइ कुलो निर्माणले माल्कोट गाउँको सयौँ हेक्टर जमिनमा सिँचाइको सुविधा पुगेको छ ।”
वर्षौँदेखि गाउँमा सिँचाइ नहुँदा खेतीयोग्य जमिन बाँझै रहेकामा अहिले सिँचाइ कुलोबाट पानी आउन थालेपछि सहज भएको स्थानीय रामबहादुर बटालाले बताए । “सिँचाइ कुलो निर्माण भएपछि पहिलाको जस्तो जग्गा बाँझो राख्नुपरेको छैन”, उनले भने, “अहिले तरकारीखेती, अन्नबाली समयमा लगाउनका लागि सहज भएको छ ।”
सिँचाइ कुलो निर्माणले गाउँको उत्पादनसमेत वृद्धि हुने गच्चेकाटिया सिँचाइ कुलो निर्माण योजनाका अध्यक्ष ध्रुवबहादुर शाहीले बताए । “यसबाट करिब एक हजार घरपरिवार लाभान्वित भएका छन् । पाँच सय मिटर लामो सिँचाइ कुलो निर्माण भएको छ”, उनले भने, “सिँचाइ कुलो निर्माणका लागि अझै केही लगानी कम भएको छ ।”
सिँचाइ कुलो नहुँदा जमिन बाँझो राख्नुपर्ने समस्या रहेको अब कुलो निर्माणसँगै त्यो समस्या हटेकोे वडाध्यक्ष खाम्मबहादुर बटालाले बताउनुभयो ।
प्रकाशित समय : १३:०४ बजे



















