गृहपृष्ठ तामुटारमा पक्की पुल निर्माण
तामुटारमा पक्की पुल निर्माण
भोजपुर । भोजपुरको उत्तरी क्षेत्रमा पर्ने षडानन्द नगरपालिका र साल्पासिलिछो गाउँपालिकालाई जोड्ने तामुटारमा पक्की पुल निर्माण सम्पन्न भएपछि स्थानीयलाई सहज भएको छ । कोशी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालय भोजपुरको ६ करोड ३३ लाख लागतमा यहाँ पक्की पुल निर्माण सम्पन्न भएको हो ।
पक्की पुल नहुँदा वर्खामा खोलामा बाढी आउँदा आवतजावत पूर्ण रूपमा ठप्प हुने गरेको थियो । विशेषगरी बिरामीलाई उपचारका लागि लैजान, गर्भवतीलाई अस्पताल पु¥याउन, विद्यार्थीलाई विद्यालय पठाउन तथा दैनिक उपभोग्य सामग्री ओसारपसार गर्न निकै कठिनाइ हुने गरेको थियो । पक्की पुल निर्माण भएपछि दुई स्थानीय तहका नागरिकलाई प्रत्यक्ष लाभ पुगेको स्थानीयवासी तेजबहादुर घलेले बताए ।
पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले ५० मिटर लम्बाइको पक्की पुल निर्माण सम्पन्न भएको जानकारी दिए । विसं २०८२ चैतमा निर्माण सम्पन्न भएर पुल सञ्चालमा आएको हो । यो पुलले षडानन्द नगरपालिका–१ र साल्पासिलिछो गाउँपालिका–३ लाई जोडेको छ ।
प्रकाशित समय : १०:४४ बजे



















