गृहपृष्ठ लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
लाहोरमा शिक्षण केन्द्रको छत खस्यो, १४ बालबालिकाको मृत्यु
पाकिस्तानको पूर्वी सहर लाहोरस्थित एक निजी शिक्षण केन्द्रमा निर्माणाधीन भवनको छत खस्दा कम्तीमा १४ जना विद्यालय उमेरका बालबालिकाको मृत्यु भएको छ भने आठ जना घाइते भएका छन् । प्रहरीका अनुसार भग्नावशेषमा थप बालबालिका फसेको आशङ्कामा उद्धार कार्य जारी छ । घटनापछि शिक्षण केन्द्रका सञ्चालक र अर्का एक जनालाई पक्राउ गरिएको छ ।
वरिष्ठ प्रहरी अधिकारी फैसल कामरानका अनुसार पुरानो भवनमा सञ्चालन भइरहेको शिक्षण केन्द्रको अपूर्ण दोस्रो तलाको छत कमजोर निर्माणका कारण भत्किएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घाइते बालबालिकाको अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।
छत खस्नेबित्तिकै एम्बुलेन्स, सुरक्षाकर्मी र उद्धार टोली घटनास्थलमा पुगेका थिए । स्थानीय बासिन्दाले पनि बेलचा र खाली हातले भग्नावशेष हटाउँदै फसेका बालबालिकाको खोजीमा सहयोग गरेका थिए ।
घटनापछि अस्पताल र शिक्षण केन्द्र रहेको क्षेत्रमा शोकको वातावरण छाएको छ । बालबालिकाको शव परिवारलाई बुझाइँदा आफन्तहरू भावविह्वल बनेका थिए । अधिकांश पीडित स्थानीय बासिन्दा भएकाले मङ्गलबार नै अन्त्येष्टि गरिने तयारी गरिएको थियो ।
स्थानीय बासिन्दाले असुरक्षित र जीर्ण भवनमा कक्षा सञ्चालन गरेको आरोप लगाउँदै शिक्षण केन्द्रका सञ्चालकमाथि कडा कारबाहीको माग गरेका छन् । एक स्थानीय बासिन्दा जफर इकबालले एउटै टोलका धेरै परिवारले आफ्ना सन्तान गुमाएकाले कसको घरमा पहिले समवेदना व्यक्त गर्न जाने भन्ने अवस्था समेत नरहेको बताए ।
पाकिस्तानमा कमजोर निर्माण गुणस्तर, सुरक्षा मापदण्डको बेवास्ता र जीर्ण भवनका कारण भवन भत्किने घटना पटक–पटक हुने गरेका छन् ।
राष्ट्रपति आसिफ अली जरदारी र प्रधानमन्त्री शाहबाज सरिफले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्ेका छन । उनहरूले घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै यस्ता दुर्घटना दोहोरिन नदिन प्रभावकारी सुरक्षा व्यवस्था लागू गर्न सम्बन्धित निकायलाई आग्रह गर्ेका छन ।रासस
प्रकाशित समय : १२:५७ बजे



















