गृहपृष्ठ लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु
लेक लागेर ९ विदेशीसहित १३ जनाको मृत्यु
मुस्ताङ । पर्वतीय हाइअल्टिच्युडका कारण लेक लागेर मुस्ताङमा चालु आवको जेठ १५ गतेसम्म ९ विदेशी नागरिकसहित १३ पर्यटकले ज्यान गुमाएका छन् । यहाँको पर्वतीय उच्च उचाइको पवित्र धार्मिकस्थल मुक्तिनाथ दर्शन गर्न आएका धार्मिक पर्यटकमध्ये लेक लागेर उक्त सङ्ख्यामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले उल्लेख गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालका अनुसार चालु आवको साढे १० महिनामा हाइअल्टिच्युडका कारण लेक लागेर १३ पर्यटकको मृत्यु भएको बताए। मृत्यु हुनेमध्ये नेपाली पर्यटकतर्फ तीन पुरुष र एक महिला तथा विदेशी पर्यटकतर्फ सात पुरुष र दुई महिला रहेका छन् । धार्मिक तीर्थाटनका लागि मुस्ताङ आएका पर्यटक सबै वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकामा लेक लागेर प्रदेश अस्पताल जोमसोममा उपचार गराउने क्रममा मृत्यु भएको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।
मुस्ताङमा हाइअल्टिच्युडका कारण लेक लागेर बढी मात्रामा भारतीय पर्यटकको मृत्यु हुने गरेको प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ । बेँसीको समथरिलो स्थानबाट हिमाली जिल्ला मुस्ताङको पर्वतीय क्षेत्रमा आउने पर्यटकलाई पर्याप्त रूपमा आवश्यक स्वास्थ्य सावधानी र सतर्कता अपनाउन नसक्दा लेक लागेर मृत्यु हुने समस्या देखिएको हो । समुद्री सतहको तीन हजार मिटरमाथिको उच्च उचाइको पर्वतीय क्षेत्रमा अक्सिजनको लेबल कम भई यहाँ आएका पर्यटकलाई लेक लाग्ने समस्या रहने गरेको प्रहरी निरीक्षक बस्यालले उल्लेख गरे ।
यहाँका सरोकारवाला सरकारी कार्यालयले हाइअल्टिच्युडका कारण लेक लाग्ने समस्या कम गर्न जनचेतनामूलक कार्यक्रमसमेत सञ्चालन गर्ने गरेका छन् । प्रदेश जनस्वास्थ्य कार्यालय, एक्याप, मुक्तिनाथ विकास समिति, स्थानीय तह र सुरक्षा निकायलगायतले हाइअल्टिच्युडसम्बन्धी विभिन्न क्रियाकलाप सञ्चालन गर्ने गरिएको छ ।
राष्ट्रिय गौरवको बेनी—जोमसोम सडकखण्डअन्तर्गत म्याग्दी र मुस्ताङको सिमाना थासाङ–४ घाँसामा लेक लाग्ने समस्यासम्बन्धी सचेतनामूलक साइन बोर्ड राखिएको छ । एक्यापले चालु वर्ष घाँसादेखि मुक्तिनाथसम्म पर्यटकीय चहलपहल हुने स्थानमा बोर्ड टाँस गरेको एक्याप प्रमुख राजेश गुप्ताले जानकारी दिए । त्यसैगरी, प्रदेश जनस्वास्थ्य कार्यालयले पनि हाइअल्टिच्युडसम्बन्धी साइन बोर्ड तथा ब्रोसर छपाएर पर्यटकलाई वितरण गर्ने गरेको वरिष्ठ जनस्वास्थ्य अधिकृत विद्या तामाङले बताइन् ।
हाइअल्टिच्युडको जोखिम कम गर्न तथा पर्यटकको स्वास्थ्य रक्षाका लागि वारागुङ–१ मुक्तिक्षेत्रका सबै होटलमा प्रोटेबल अक्सिजन सिलिन्डरसहित लेक नलाग्ने औषधिको व्यवस्थापन गरिएको मुक्तिनाथ होटल एसोसिएसनका अध्यक्ष सुरज गुरुङले जानकारी दिए । मुस्ताङ भ्रमणमा आउने पर्यटकलाई सम्बन्धित ट्राभल एजेन्सी र होटलहरूले पर्याप्त हाइअल्टिच्युडसम्बन्धी जानकारी दिन नसक्दा लेक लाग्ने घटना न्यूनीकरण हुन नसकेको हो । विभिन्न पर्यटक ट्राभल्स कम्पनीहरूले यहाँ आउने पर्यटकलाई होल्डिङ नगरी एकसाथ गन्तव्यमा पुर्याउने परिपाटीका कारण पनि लेक लाग्ने समस्या जटिल बनेको हो । उच्च स्थानमा हाइअल्टिच्युडको जोखिमबाट सुरक्षित रहन ठाउँठाउँमा होल्डिङ गर्दै यात्रा गर्नुपर्ने यहाँका स्वास्थ्यकर्मीहरू बताउँछन् ।
मुक्तिनाथ दर्शनार्थीहरूको स्वास्थ्य रक्षाका लागि प्रदेश अस्पताल जोमसोम र वारागुङ मुक्तिक्षेत्रले मुक्तिनाथ मन्दिरमा ‘हाइअल्टिच्युड ट्रिटमेन्ट सेन्टर’ व्यवस्थापन गरिएको वारागुङ मुक्तिक्षेत्रका स्वास्थ्य संयोजक खगेन्द्र बोहोराले जानकारी दिनुभयो । मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने सिँढीबाटो नेपाली सेनाले निर्माण गरेको विश्रामस्थलमा गरी दुई ठाउँबाट उक्त सेवा प्रदान गरिएको संयोजक बोहोराले उल्लेख गरे । बेँसीको समथर ठाउँबाट हिमाली जिल्लाको उच्च क्षेत्रमा यात्रा गर्ने पर्यटकमध्ये शारीरिक रूपमा अशक्त, अपाङ्गता, ज्येष्ठ नागरिक र दीर्घरोगीलाई हाइअल्टिच्युडको समस्या देखिने गरेको छ ।
प्रकाशित समय : ०६:१२ बजे


















