गृहपृष्ठ जलजलामा हिमाल र बादलको लुकामारी
जलजलामा हिमाल र बादलको लुकामारी
म्याग्दी । पहाडको उच्च स्थानमा फैलिएको समथर घाँसेमैदान, हरियाली पहाडको पृष्ठभूमिमा लहरै देखिने हिमाल, छिनछिनमा बादल र हिमालको लुकामारी, शीतल हावापानी तथा शान्त वातावरणका कारण म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा रहेको जलजला पर्यटकको आकर्षक गन्तव्य बन्दै गएको छ ।
समुद्री सतहदेखि तीन हजार ४१४ मिटर उचाइमा रहेको जलजलाबाट सिस्ने, पुथा, गुर्जा, मानापाथी, धवलागिरि, नीलगिरि, अन्नपूर्ण, माछापुच्छ्रे र मनास्लु हिमालसहित सूर्योदय र सूर्यास्तको मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।
धवलागिरि गाउँपालिका–७ की शान्ति थापाले जलजलाको समथर फाँटमा बसेर आँखैअगाडि हिमालको लर्कन हेर्दा चित्रकारले कोरेको क्यानभासजस्तो अनुभूति भएको बताइन् । “छिनछिनमा हुने बादल र हिमालको लुकामारी जलजलाको फरक आकर्षण रहेछ,” उनले भनिन्, “दृश्यावलोकनसँगै गुर्जाघाट, छेन्तुङ, ढोरपाटनको जनजीवन, उत्तरगङ्गाको दर्शन तथा घोडा सवारीले यात्राको थकान नै बिर्सायो ।”
बर्खायाममा पशुगोठ, समथर फाँट, वनजङ्गल र पहाडी भूगोल तथा वसन्त ऋतुमा गुराँसे जङ्गल अवलोकन गर्न पाइने भएकाले जलजलाको आकर्षण थपिएको धवलागिरि गाउँपालिका–३ का नरेश विश्वकर्माले बताउनुभयो ।
जलजला क्षेत्रको जङ्गलमा दुर्लभ वन्यजन्तु हाब्रे (रेडपान्डा)को बासस्थान भएकाले थप महत्व रहेको छ । समुन्द्री सतहबाट दुई हजार २०० देखि चार हजार ५०० मिटरको उचाइमा बसोबास गर्ने रेडपान्डालाई सरकारले सङ्कटापन्न वन्यजन्तुको सूचीमा राखेको छ ।
दातृ निकाय टोलेडोजुको सहयोगमा जैविक विविधता संरक्षण समाज नेपाल (वायोकस) नेपालले जलजलामा तीन वटा क्यामेरा जडान गरिएकोमा दुई वटामा रेडपान्डा भेटिएको थियो । सो क्षेत्रमा छदेखि २५ वटासम्म रेडपान्डाको बसोबास भएको वायोकस नेपालका कार्यक्रम अधिकृत पवन राइले बताए ।
स्थानीयवासीले विसं २०८० को असोजमा ढोरपाटन सिकार आरक्षको गुर्जाघाट, २०८१ को मङ्सिर र २०८३ वैशाख ३१ गते मुनाको दहपातल सामुदायिक वनको बञ्चरेडाडा क्षेत्रमा हाब्रे भेटिएको तस्बिर भिडियो सार्वजनिक गरेका थिए ।
विसं २०७३ मा विश्व वन्यजन्तु कोषको र हरियो वन कार्यक्रमको आर्थिक सहयोगमार्फत रेडपान्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले जलजला क्षेत्रमा पर्ने मरेनीमा रेडपान्डाको दिसा भेट्टाएका थिए । रेडपान्डाका कारण जलजला क्षेत्रमा साहासिक पदयात्रामा रमाउन चाहने पर्यटकहरुलाई आकर्षित गर्न सकिने धवलागिरि गाउँपालिका–३ का भोम पुनले बताए।
सडक सुविधापछि पर्यटक बढे
माथिल्लो जलजलामा ६ वर्षदेखि ‘गोठ स्टे’ सञ्चालन गर्दै आउनुभएका धवलागिरी गाउँपालिका–२ लुलाङका फुलबहादुर विकले दैनिकजसो पर्यटकहरु आउन थालेका बताए । “यसअघि ढोरपाटनमा आएका सीमित पर्यटकहरु मात्रै जलजलामा आउने गरेका थिए,” उनले भने “म्याग्दी–ढोरपाटन र पूर्वी रुकुम जोड्ने सडकको मार्ग खुलेपछि दैनिकजसो चार/पाँच वटा गाडी तथा १५–२० वटा मोटरसाइकलमा पर्यटकहरु आउन थालेका छन् ।”
बेनी देखि १२२ किलोमिटर दूरीमा रहेको तकसेरा जोड्ने सडकको गत फागुन महिनामा मार्ग खुलेपछि पूर्वी रुकुमको पुथाउत्तरगङ्गा र बागलुङको ढोरपाटन उपत्यका घुम्न आउनेहरु जलजलादेखि मुना हुदै फर्कने ‘रुट’ बनाउन थालेका छन् ।
मोटरसाइकल र गाडीमा यात्रा गर्नेहरुका लागि जलजला साहासिक र आकर्षक गन्तव्य बनेको छ । तकसेरा–ढोरपाटन–जलजला हुँदै पोखराको यात्रा गरेकी बागलुङकी सपना रोकाले नयाँ मार्गमा साहासिक र रोमाञ्चक यात्रा भएको अनुभव सुनाए ।
जलजला प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थान भएको धवलागिरि गाउँपालिका–७ का विविधजङ थापाले बताए। नेपालको एक मात्र ढोरपाटन सिकार आरक्षको दुई वटा मनसुुन र बार्से ब्लकसहित १३ प्रतिशत भूगोल म्याग्दीमा पर्छ । जलजला ढोरपाटन सिकार आरक्षको ‘भ्यू पोइन्ट’का रुपमा विकास हुन थालेको छ । आवास र खानेपानी अभाव जलजलाको मुख्य समस्या बनेको छ ।
पूर्वाधार निर्माण र प्रवर्द्धन अभियान सुरु
गुरिल्ला र म्याग्दी हुँदै डोल्पा जाने पदमार्गमा पर्ने जलजलामा पर्यटक आगमन बढ्न थालेपछि धवलागिरी गाउँपालिकाले पूर्वाधार निर्माण र प्रर्वद्धनको काम थालेको छ ।
जलजलाको सम्भावनाको उजागर, समस्या समाधानका लागि साझा मुद्दा तय गरि जिल्ला, प्रदेश, संघीय तहमा पहल गर्ने उद्देश्यले यसै हप्ता पर्यटन प्रर्वद्धन कार्यक्रम सम्पन्न गरेको धवलागिरी गाउँपालिकाले खानेपानीको ब्यवस्था मिलाएको र शौचालय निर्माण थालेको उपाध्यक्ष रेशम पुनमगरले जानकारी दिए ।
ताकमकोत, मुनामालिका, जलजला, गुर्जाघाट, रुघाचौर, गुर्जा, धौलागिरि आधार शिविर जोड्ने पदमार्गको अवधारणा अघि सारिएको छ । बस्ती देखि टाढा होटल र रेष्टुरेन्ट नभएको जलजलामा म्याग्दीको लुलाङका विकले गोठमा पाहुनालाई खाना खुवाउने र बसोबासको व्यवस्था मिलाउँदै आृका छन् । च्याउ, टुसाका परिकार, ढकायोको सागको अचार, गाईभैंसीको दूध, दही, भेडा र खसीको मासु गोठस्टेका परिकार हुन् । क्याम्पिङ गर्ने पर्यटकले आफैं बन्दोबस्तीको सामान लगेर जानुपर्छ ।
ढोरपाटन सिकार आरक्ष, प्रदेश र सङ्घीय सरकारसँग समन्वय गरेर पर्यटकहरुका लागि आश्रयस्थल, पदमार्ग निर्माण, विद्युत् र सञ्चार सुविधा विस्तारका लागि पहल गर्न कार्यक्रममार्फत सातबुँदे जलजला घोषणापत्र जारी गरिएको धवलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुनले जानकारी दिए ।
‘चिनौँ जलजला, घुमौँ जलजला’ डिजिटल अभियान सुरु गरिएको उनले जानकारी दिए । जलजला देउरालीलाई धार्मिक पर्यटकीय स्थलका रुपमा विकास गर्न सकिने अध्यक्ष पुनले बताए ।
मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक
म्याग्दीको बेनी हुँदै बागलुङको ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास हुने सम्भावना देखिएको छ । हालै मार्ग खुलेको १२२ किलोमिटर दूरीको बेनी–ढोरपाटन–तकसेरा सडक बागलुङ–काँक्री खण्डभन्दा करिब ५० किलोमिटर छोटो रहेको छ ।
ढोरपाटनको पाखाथरबाट जलजलासम्म पुग्न कच्ची सडकमा जिप तथा मोटरसाइकलमार्फत करिब एक घण्टा तीन मिनेट यात्रा गर्नुपर्छ । धवलागिरि गाउँपालिकाको केन्द्र मुनाबाट जिप वा मोटरसाइकलमा करिब दुई घण्टाको यात्रापछि जलजला पुगिन्छ ।
दुवै तर्फबाट पैदलयात्रा गरेर जलजला पुग्न पाँचदेखि छ घण्टा लाग्ने स्थानीयवासीले बताएका छन् ।
म्याग्दी प्रदेशसभा निर्वाचन क्षेत्र नं १ ९ख० बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम जुग्जालीले मुना हुँदै ढोरपाटन र पूर्वी रुकुमको तकसेरा जोड्ने सडक खोल्नुको मुख्य उद्देश्य जलजलालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नु रहेको बताए।
“पुरानो पदमार्गलाई आधार मानेर खोलिएको यो सडक स्तरोन्नति गर्न सके पूर्वी र पश्चिम रुकुम, जाजरकोट र डोल्पाका बासिन्दालाई पोखरा र काठमाडौँ आउजाउ गर्न छोटो र सहज हुनेछ,” उनले भने, “यो सडक स्तरोन्नति भए मध्य पहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प तथा उच्च पहाडी राजमार्ग बन्न सक्ने सम्भावना छ ।”
हाल सडकको विभिन्न स्थानमा स्तरोन्नति र खोलामा मोटर चल्ने पुल निर्माण गर्न बाँकी रहेको छ । यद्यपि नयाँ मार्ग सञ्चालनमा आएपछि ढोरपाटन, जलजला र तकसेरा भ्रमण गर्ने पर्यटकलाई सहज भएको छ ।
प्रदेश सांसद जुग्जालीका अनुसार बेनी–ढोरपाटन–तकसेरा सडकलाई मध्य पहाडी लोकमार्गको वैकल्पिक मार्गका रूपमा विकास गर्न प्राथमिकता दिइएको छ ।
प्रकाशित समय : १०:३२ बजे


















