गृहपृष्ठ भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा
सिद्धार्थनगर । सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खानले भैरहवालाई नमूना पर्यटकीय सहर बनाउने घोषणा गरेका छन ।
यहाँ आयोजित ‘भैरहवा सहरः उद्योग, पर्यटन र व्यापार’ विषयक बहसपछि साझा प्रतिबद्धता जनाउँदै नगर प्रमुख खानले भैरहवालाई नेपालको नमूना पर्यटकीय सहरका रूपमा विकास गर्न नगरपालिकाले नीति तथा कार्यक्रममार्फत पहल गर्ने बताए ।
बहसमा सहभागी पर्यटन व्यवसायी चन्द्रप्रकाश श्रेष्ठ (सिपी)ले स्थल र हवाईमार्गबाट सहज पहुँच रहेको भैरहवालाई पर्यटकीय हबका रूपमा विकास गर्न ढिलाइ गर्न नहुने धारणा राखे ।
होटल एसोसिएसन नेपालका केन्द्रीय सदस्य तथा सिद्धार्थ होटल एसोसिएसन (सान)का अध्यक्षसमेत रहेका उनले आगामी बजेट तथा कार्यक्रममा भैरहवालाई पर्यटकीय सहरका रूपमा प्राथमिकता दिनुपर्ने बताए ।
स्थलमार्ग हुँदै तेस्रो मुलुकका सबैभन्दा बढी पर्यटक भित्रिने बेलहिया नाका भैरहवामै पर्दछ । बेलहिया र भैरहवाबाट नेपालका विभिन्न स्थानमा सिधा बस सेवा सञ्चालन हुँदै आएको छ । सिद्धार्थ यातायात र पश्चिम नेपाल बस समितिले सञ्चालन गरेका सयौँ बसले दैनिक सेवा दिइरहेका छन् ।
बहसमा सहभागीहरुले पर्यटकीयस्तरका होटल, स्पा, क्यासिनो, क्लब तथा पर्यटकीय रेष्टुराँ पर्याप्त रहेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलबाट देशका विभिन्न स्थानमा आन्तरिक उडान विस्तार गर्न नगर सरकारले पहल गर्नुपर्ने सुझाव दिएका थिए ।
निर्माण व्यवसायी महासङ्घका पूर्वकेन्द्रीय उपाध्यक्ष टोपबहादुर रायमाझीले भैरहवालाई सुन्दर र पर्यटकीय सहरका रूपमा विकास गर्न निर्माण व्यवसायीले पूर्ण साथ दिने बताउनुभयो । उहाँले निर्माण व्यवसायीले गरेको कामको ठूलो रकम अझै भुक्तानी नपाए पनि भैरहवालाई पर्यटकीय र व्यवस्थित सहर बनाउन सहयोग जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा चेम्बर अफ कमर्स लुम्बिनीका कोषाध्यक्ष खिमबहादुर खत्रीले भैरहवाको व्यापार र पर्यटनमैत्री वातावरणलाई थप व्यवस्थित बनाउन नगर सरकारले विशेष ध्यान दिनुपर्ने बताए ।
महिला उद्यमी सलुजा रामदमले भैरहवालाई महिलामैत्री सहरका रूपमा विकास गर्न सके पर्यटन र उद्यमशीलता दुवै क्षेत्र विस्तार हुने धारणा राखे । उनले महिला उद्यमीलाई प्रोत्साहन गर्ने विशेष कार्यक्रम आवश्यक रहेको बताए ।
–––
प्रकाशित समय : १२:५७ बजे



















