गृहपृष्ठ इभी मोटर क्षमतासम्बन्धी स्पष्ट, व्यवहारिक र एउटै मापदण्ड बनाउन सरकारसँग नाइमाको माग
इभी मोटर क्षमतासम्बन्धी स्पष्ट, व्यवहारिक र एउटै मापदण्ड बनाउन सरकारसँग नाइमाको माग
काठमाडौं । विद्युतीय सवारी साधन (इभी) को मोटर क्षमता सम्बन्धमा पछिल्लो समय विभिन्न माध्यममा भइरहेका टिप्पणी, चर्चा तथा व्याख्याप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चरर्स एशोसिएसन (नाइमा) को ध्यानाकर्षण भएको छ। नाइमाले यस विषयलाई यसअघि अर्थमन्त्री, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसँगको छलफलमा समेत उठाउँदै इभी मोटर क्षमता परीक्षण, प्रमाणीकरण तथा प्राविधिक मूल्यांकनका लागि स्पष्ट, व्यवहारिक र एकरूप व्यवस्था आवश्यक रहेको धारणा राखेको जनाएको छ।
नाइमाका अनुसार नेपालमा आयात भइरहेका विद्युतीय सवारी साधनहरू अन्तर्राष्ट्रिय मान्यता प्राप्त उत्पादक कम्पनीहरूले जारी गरेका आधिकारिक प्राविधिक विवरण, परीक्षण प्रतिवेदन तथा प्रमाणीकरण प्रक्रियाका आधारमा आयात हुँदै आएका छन्। विश्व अटोमोबाइल उद्योगमा एउटै मोडलका सवारी साधन विभिन्न देश, नियामकीय संरचना तथा बजार आवश्यकताअनुसार फरक–फरक प्राविधिक स्पेसिफिकेसनमा उत्पादन हुनु सामान्य अन्तर्राष्ट्रिय अभ्यास भएकाले केवल वेबसाइटमा उपलब्ध विवरण, मोडल नाम वा बाह्य जानकारीका आधारमा मोटर क्षमता सम्बन्धी निष्कर्ष निकाल्नु प्राविधिक रूपमा विश्वसनीय नहुने नाइमाको भनाइ छ।
हाल नेपालमा इभी सवारी साधनसँग सम्बन्धित मोटर क्षमता परीक्षण तथा प्रमाणीकरणका लागि स्पष्ट राष्ट्रिय प्राविधिक मापदण्ड, संस्थागत परीक्षण प्रणाली तथा एकीकृत कार्यविधि पूर्ण रूपमा कार्यान्वयनमा आइनसकेको नाइमाले जनाएको छ। यही अस्पष्टताका कारण विभिन्न तहमा भ्रम, अन्योल तथा फरक–फरक व्याख्या उत्पन्न भइरहेको उल्लेख गर्दै नाइमाले इभी सवारी साधनको प्राविधिक मूल्यांकन आधिकारिक उत्पादक कम्पनीबाट जारी प्रमाणित विवरण, अन्तर्राष्ट्रिय रूपमा मान्यता प्राप्त परीक्षण निकायका प्रमाणपत्र तथा स्थापित प्राविधिक मापदण्डका आधारमा गरिनुपर्नेमा जोड दिएको छ। साथै सम्बन्धित सरकारी निकायहरूबीच एकरूप व्याख्या तथा कार्यान्वयन सुनिश्चित गर्न स्पष्ट प्राविधिक कार्यविधि, परीक्षण पूर्वाधार तथा प्रमाणीकरण प्रणाली तत्काल विकास गर्नुपर्ने आवश्यकता औंल्याएको छ।
नाइमाले विद्युतीय सवारी साधन नेपालको स्वच्छ ऊर्जा उपयोग, दिगो यातायात प्रणाली विकास तथा हरित अर्थतन्त्र प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित हुँदै गएको उल्लेख गरेको छ। इभी क्षेत्रको विस्तारले स्वदेशी स्वच्छ ऊर्जाको प्रभावकारी उपयोग बढाउनुका साथै वातावरणीय प्रदूषण न्यूनीकरण र ऊर्जा तथा यातायात क्षेत्रको दीर्घकालीन दिगोपनामा सकारात्मक योगदान पुर्याइरहेको नाइमाको भनाइ छ।
विद्युतीय सवारी क्षेत्रसँग सम्बन्धित प्राविधिक तथा नीतिगत विषयहरू पर्याप्त अध्ययन, प्रमाणित तथ्य तथा स्थापित अन्तर्राष्ट्रिय अभ्यासका आधारमा विश्लेषण गरिनुपर्ने नाइमाको धारणा छ। अपुष्ट सूचना वा फरक–फरक व्याख्याले बजारमा अनावश्यक अन्योल सिर्जना गर्नुका साथै उपभोक्ता विश्वास, लगानीको वातावरण तथा विद्युतीय सवारी क्षेत्रको दीर्घकालीन विकास प्रक्रियामा असर पार्न सक्ने नाइमाले जनाएको छ।
सरकार तथा सम्बन्धित निकायहरूसँग समन्वय र सहकार्यलाई निरन्तर सुदृढ गर्दै स्पष्ट, पारदर्शी तथा व्यवहारिक प्राविधिक प्रणाली विकासका लागि रचनात्मक भूमिका निर्वाह गरिरहने प्रतिबद्धता पनि नाइमाले व्यक्त गरेको छ। नाइमा नेपालका अटोमोबाइल आयातकर्ता तथा उत्पादकहरूको साझा मञ्च हो, जसले “सबैका लागि गतिशीलता” को अवधारणालाई आत्मसात गर्दै सरकार तथा निजी क्षेत्रसँग सहकार्यमा रही आर्थिक वृद्धि, औद्योगिक विकास तथा समावेशी पहुँच विस्तारका लागि सक्रिय रूपमा काम गरिरहेको जनाएको छ।
प्रकाशित समय : १५:५४ बजे


















