गृहपृष्ठ प्रथम छायानाथ अल्ट्रा रेसको उपाधि धीरबहादुर र सुनमायालाई
प्रथम छायानाथ अल्ट्रा रेसको उपाधि धीरबहादुर र सुनमायालाई
मुगु । मुगुम कार्मारोङ गाउँपालिकाको आयोजना तथा अल नेपाल स्पोट्र्स फाउन्डेसनको सहकार्यमा आयोजित ‘प्रथम छायाँनाथ अल्ट्रा रेस’मा पुरुषतर्फ धीरबहादुर बुढा र महिलातर्फ सुनमाया बुढा प्रथम भएको छ । आज बिहान ६ः४० बजे किम्रीबाट सुरु भएको ३३ किलोमिटर दूरीको उक्त प्रतियोगितामा १२ महिला र ४६ पुरुष गरी कुल ५८ जना धावक सहभागी भएका थिए । किम्रीदेखि सुरु भएको दौड छायाँनाथ, चिताइकुना हुँदै पुलुमा पुगेर समापन भएको थियो ।
पुरुषतर्फको दौडमा धीरबहादुर बुढाले तीन घण्टा ५७ मिनेट २५ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै पहिलो हुनुभयो । साथै दलबहादुर कुँवरले चार घण्टा दुई मिनेट १० सेकेन्ड दौड पूरा गर्दै दोस्रो भयो भने तेस्रो हुनुभएका चन्द्रबहादुर रावतले चार घण्टा पाँच मिनेटमा दौड पूरा गर्नुभयो । त्यसैगरी अर्जुन कुलुङ राईले चार घण्टा २४ मिनेट र रमेश लिम्बुले चार घण्टा ३० मिनेट १० सेकेन्ड दौड पूरा गर्दै क्रमशः चौथो र पाँचौ भयो ।
गाउँपालिकाका सूचना अधिकारी सोबिन्द्र मल्लका अनुसार महिलातर्फ सुनमाया बुढा पहिलो हुनुभयो । उहाँले पाँच घण्टा २५ मिनेट ५० सेकेन्डमा दौड पूरा गर्नुभयो । दोस्रो भएकी राममाया बुढाले पाँच घण्टा २६ मिनेट ४० सेकेन्ड र तेस्रो हुनुभएकी कल्पना बुढाले पाँच घण्टा ३५ मिनेट २० सेकेन्ड दौड पूरा गर्नुभयो । साथै सम्जेदा बुढाले पाँच घण्टा ४० मिनेट १० सेकेन्ड र निर्मला राईले पाँच घण्टा ४८ मिनेट दौड पूरा गरी क्रमशः चौथो र पाँचौ भयो ।
आयोजकका अनुसार प्रतियोगितामा सहभागीमध्ये २३ जना अन्तरराष्ट्रिय मापदण्डका खेलाडी थिए । साथै दुई जना एलिट, पाँच जना इन्टरमिडिएट, नौ जना एड्भान्स तथा सात जना एक्सप्लोर वर्गका धावकको सहभागिता थियो ।
अल नेपाल स्पोट्र्स फाउन्डेसनका संजय अधिकारीका अनुसार नेपालका विभिन्न प्रतिष्ठित दौड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिसकेका चर्चित धावकहरूको सहभागिताले प्रतियोगिता थप रोमाञ्चक बनेको थियो । एभरेस्ट, मञ्जुश्री, चाँगुनारायण, जुम्ला–रारा तथा रारा ट्रेल रनलगायत देश–विदेशका विभिन्न म्याराथनमा विजयी खेलाडीहरू समेत सहभागी भएका थिए । प्रतियोगिताको प्राविधिक सहयोग नेपाल एड्भेन्चर रनिङ महासंघले गरेको थियो ।
मुख्य अल्ट्रा रेससँगै स्थानीयस्तरमा पाँच किलोमिटर दूरीको ‘फन रन’ पनि सोमबार बिहान सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगिताका लागि अनलाइन तथा अफलाइन दुवै माध्यमबाट दर्ता खुला गरिएको थियो । सोमबार विजेतालाई नगद पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । महिला तथा पुरुषतर्फ प्रथम हुनेले जनही दुई लाख, दोस्रो हुनेले रु एक लाख ५० हजार, तेस्रो हुनेले एक लाख, चौथो हुनेले ७५ हजार तथा पाँचौँ हुनेले ५० हजार पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी स्थानीय पाँच किलोमिटर ‘फन रन’तर्फ प्रथम हुनेलाई ३० हजार, दोस्रोलाई २० हजार र तेस्रोलाई १० हजार पुरस्कार प्रदान गरिनेछ ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले छायाँनाथ क्षेत्रलाई धार्मिक तथा साहसिक खेल पर्यटनको अन्तरराष्ट्रिय गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । यस्ता कार्यक्रमले स्थानीय संस्कृति, प्राकृतिक सम्पदा तथा हिमाली जीवनशैलीलाई विश्वसामु परिचित गराउन मद्दत पुग्ने उनको विश्वास छ ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवासचन्द्र रावलले प्रतियोगिताले स्थानीय पर्यटन, होटल व्यवसाय तथा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पार्ने बताए । आयोजकका अनुसार प्रतियोगिताले छायाँनाथ धामको धार्मिक, सांस्कृतिक तथा प्राकृतिक महत्वलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय स्तरमा चिनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ । साथै हिमाली क्षेत्रको पर्यटन प्रवद्र्धन र स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन समेत यसले सहयोग पुग्ने विश्वास गरिएको छ ।
प्रकाशित समय : १५:२६ बजे



















