global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ आवास बिमा कार्यक्रम : विपद्का बेला नागरिकको सहारा बन्दै

आवास बिमा कार्यक्रम : विपद्का बेला नागरिकको सहारा बन्दै

आवास बिमा कार्यक्रम : विपद्का बेला नागरिकको सहारा बन्दै

बाँके । ‘त्यो रात अझै सम्झिन्छु । लगातार पानी परिरहँदा घर चर्किन थालेको थियो । केही समयमै एक भाग भत्कियो । हामी सबैले ज्यान जोगाउन भाग्नुप-यो । बच्चाहरू निकै डराएका थिए । त्यसपछि सबैभन्दा ठूलो चिन्ता फेरि घर कसरी बनाउने भन्ने थियो ।’ नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ निवासी उत्तमसिंह पञ्जावीले गत वर्षको भदौमा आएको अविरल वर्षापछि आफूले भोगेको पीडा सुनाउँदै भने ।वर्षौँको मेहनत र दुःखले बनाएको घर क्षतिग्रस्त भएपछि उनको परिवार लामो समय तनावमा रह्यो । आर्थिक अवस्था कमजोर भएका कारण तत्काल घर मर्मत गर्ने अवस्था पनि थिएन । परिवारलाई सुरक्षित राख्ने र पुनः घर निर्माणका लागि आवश्यक रकम जुटाउने चिन्ताले उनलाई सताइरह्यो ।

तर नेपालगञ्ज उपमहानगरपालिकाले लागू गरेको आवास बिमा कार्यक्रम उनका लागि संकटको समयमा ठूलो सहारा बन्यो ।राष्ट्रिय बिमा कम्पनीमार्फत गरिएको बिमा अन्तर्गत उनले रु दुई लाख ३२ हजार ९ सय दाबी भुक्तानी प्राप्त गरे । रकम प्राप्त भएपछि उनको घर पुनः निर्माण सम्भव भएको छ । अहिले परिवार फेरि आफ्नै घरमा सुरक्षित रूपमा बस्न थालेको छ । पञ्जावी भन्छन्, ‘पहिले घरको बिमा किन गरिरहनुप¥यो र भन्ने लाग्थ्यो । तर जब आफ्नै आँखाअगाडि घर भत्कियो, त्यसपछि मात्रै बिमाको महत्त्व थाहा भयो । अहिले त्यही बिमाका कारण फेरि घरमा बस्ने अवस्था बनेको छ । विपद्को समयमा गरिब र न्यून आय भएका परिवारका लागि यस्तो कार्यक्रम साँच्चिकै ठूलो सहारा रहेछ ।’नेपालगञ्ज उपमहानगरपालिकाले विपद्जन्य जोखिम न्यूनीकरणका लागि वडा नं ३ र ७ बाट आवास बिमा कार्यक्रम सुरु गरेको थियो । जोखिमयुक्त तथा कमजोर संरचनामा बसोबास गर्ने परिवारलाई लक्षित गरी सञ्चालन गरिएको कार्यक्रममा हालसम्म एक सय ८४ परिवार आबद्ध भइसकेका छन् । पछिल्लो समय यस कार्यक्रमप्रति समुदायको विश्वास र आकर्षण बढ्दै गएको नगरपालिकाले जनाएको छ ।

नगरप्रमुख प्रशान्त विष्टले विपद् आएपछि राहत बाँड्नेभन्दा विपद् आउनुअघि नै नागरिकलाई सुरक्षित बनाउने सोचका साथ कार्यक्रम सुरु गरिएको बताए । उनले भने,‘विपद् कहिले आउँछ भन्ने निश्चित हुँदैन । तर त्यसको असर कम गर्न पूर्वतयारी गर्न सकिन्छ । यही उद्देश्यले सुरु गरिएको आवास बिमा कार्यक्रम अहिले प्रभावकारी रूपमा अघि बढिरहेको छ ।’उनका अनुसार सुरुमा दुई वडामा सीमित रहेको कार्यक्रम अहिले वडा नं ८ र ११ मा पनि विस्तार गरिएको छ । आगामी दिनमा नेपालगञ्जका सबै जोखिमयुक्त परिवारलाई कार्यक्रममा समेट्ने योजना रहेको उनले जानकारी दिए ।नेपालगञ्जले सुरु गरेको यो कार्यक्रमबाट प्रभावित हुँदै नरैनापुर गाउँपालिका, कोहलपुर नगरपालिका र खजुरा गाउँपालिकाले पनि यसै आर्थिक वर्षदेखि यस्तै कार्यक्रम कार्यान्वयन गर्ने तयारी गरेका छन् । स्थानीय तहहरूले विपद् व्यवस्थापनमा दीर्घकालीन सुरक्षा उपायका रूपमा आवास बिमालाई प्राथमिकतामा राख्न थालेका हुन् ।विपद् सम्पर्क व्यक्ति दिपेन्द्र श्रेष्ठले आवास बिमा कार्यक्रमले समुदायमा विपद्बारे सचेतना बढाउनुका साथै विपद्पछिको पुनःस्थापनामा महत्वपूर्ण सहयोग पुगेको बताए ।

उनले भने,‘पहिला नागरिकले बिमा प्रक्रियालाई झन्झटको रूपमा हेर्थे । तर अहिले प्रत्यक्ष लाभ पाउन थालेपछि समुदायमा विश्वास बढ्दै गएको छ । अन्य स्थानीय तहले पनि यसलाई लागू गर्न चासो देखाउनु सकारात्मक पक्ष हो ।’कार्यक्रमअन्तर्गत बिमाको प्रिमियम रकम उपमहानगरपालिकाले नै व्यहोर्ने गरेको छ । क्षतिको अवस्थाअनुसार बिमित परिवारलाई रु १५ लाखसम्म क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसले विशेषगरी आर्थिक रूपमा कमजोर परिवारलाई विपद्पछि पुनःस्थापित हुन सहज बनाउने विश्वास गरिएको छ । स्थानीयवासीका अनुसार पछिल्ला वर्षहरूमा बाँकेमा अविरल वर्षा, डुबान र हावाहुरीका घटना बढ्दै गएका छन् ।कमजोर संरचनामा बसोबास गर्ने परिवार यस्ता विपद्बाट बढी प्रभावित हुने गरेका छन् । यस्तो अवस्थामा आवास बिमा कार्यक्रमले जोखिम न्यूनीकरणका साथै विपद्पछिको पुनःस्थापनामा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ । यस कार्यक्रम कार्यान्वयनमा विपद् पूर्वतयारी तथा व्यवस्थापनमा सञ्चालित सुपर कार्यक्रमले प्राविधिक सहयोग गर्दै आएको छ ।

प्रकाशित समय : १०:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु