गृहपृष्ठ ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी
ललितपुरमा वाणिज्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुने, मेगा कलेजले थाल्यो तयारी
काठमाडौं । समकालीन वाणिज्यका मुद्दाहरुसँग सम्बन्धित दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन जेठ १ र २ गते ललितपुरमा हुने भएको छ ।
नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेज कुमारीपाटी ललितपुरले दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागेको हो । सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरुले प्रवचन तथा प्रस्तुति दिनेछन् ।
आयोजक मेगा कलेज कुमारीपाटीका प्राचार्य डा.घनश्यामप्रसाद साहका अनुसार सम्मेलनमा नेपाल र भारतसहित विभिन्न देशका प्राध्यापक, व्यवस्थापनविद्, नीति निर्माता तथा विद्यार्थीहरुको सहभागिता रहनेछ । मेगा कलेज कुमारीपाटीको अडिटोरियमक हलमा आयोजना हुने सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे गहिरो विमर्श हुने डा.साहले बताए ।
यो अन्तर्राष्ट्रिय सम्मेलन मुख्यतः उद्योग, व्यापार, वाणिज्यजस्ता क्षेत्रमा विश्वभर चलेको ट्रेन्डको अध्ययन गर्न, नेपालजस्तो देशले लिनुपर्ने नीतिको फ्रेमवर्क तयार पार्न तथा अनुसन्धानकर्ताहरुको ज्ञानका दृष्टिले निकै महत्वपूर्ण रहनेछ । अर्थतन्त्रका विद्यार्थीदेखि विज्ञसम्मले यसबाट प्रत्यक्ष लाभ लिन सक्नुहुनेछ’, साहले भने । यसअघि मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।
यसपटक सम्मेलनअन्तर्गत रणनीतिक व्यवस्थापन र नेतृत्व, डिजिटल रूपान्तरण तथा नवप्रवर्तन, बजार व्यवस्थापन र उपभोक्ता व्यवहार, वित्त तथा दिगोपन, उद्यमशीलता र साना तथा मझौला उद्योग, मानव संसाधन व्यवस्थापन, अन्तर्राष्ट्रिय व्यापार तथा आर्थिक नीति, हरित अर्थतन्त्र र जिम्मेवार व्यवसाय, साथै कर तथा कानुनी पक्षजस्ता विविध विषयमा शोत्रपत्र र कार्यपत्रहरु प्रस्तुत एवं छलफल हुनेछ ।
सम्मेलनबाट विशेषगरी अनुसन्धानकर्ता, प्राध्यापक, उद्योगी–व्यवसायी, नीति निर्माता तथा स्नातकोत्तर तहका विद्यार्थीहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।
सहभागीहरूले आफ्ना अनुसन्धान प्रस्तुत गर्ने, अन्तर्राष्ट्रिय अनुभव भएका विज्ञहरूसँग अन्तरक्रिया गर्ने तथा सहकार्यका नयाँ अवसरहरू खोज्ने अवसर प्राप्त गर्ने आयोजक मेगा कलेज कुमारीपाटीले जनाएको छ ।
सम्मेलनबाट प्राप्त निष्कर्षहरूले नेपालको व्यापार तथा व्यवस्थापन शिक्षालाई अन्तर्राष्ट्रिय स्तरअनुसार अद्यावधिक गर्न, नीतिगत सुधारका लागि आधार तयार गर्न तथा नवप्रवर्तन र उद्यमशीलतालाई प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको
प्रकाशित समय : १६:५८ बजे




















