global ime bank Long Banner Ad
nmb bank

गृहपृष्ठ सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय

सडक किनारका जोखिमयुक्त रुख हटाउँदै वन कार्यालय oplus_9216

चितवन । डिभिजन वन कार्यालय चितवनले सडक किनारका जोखिमयुक्त रुख हटाउन सुरु गरेको छ । आँपटारीदेखि देवघाटसम्मका जोखिमका रुपमा पहिचान गरिएका रुख कटान थालिएको हो । देवघाट क्षेत्र विकास समितिले १० वर्षअघिदेखि निरन्तर रुपमा रुख कटानका लागि पहल गर्दै आएकामा यस वर्ष आँपटारीदेखि देवघाटसम्मका २५ वटा रुख कटान सुरु गरिएको छ । सो सडकमा रहेका ६२ वटा रुख जोखिममा रहेको भन्दै समितिले कटानका लागि अनुरोध गरेको थियो । डिभिजन वन कार्यालय चितवनका प्रमुख विष्णुप्रसाद आचार्यका अनुसार सो सडक खण्डका १० वटा रुख सुकेकाले यसअघि नै कटान गरिसकिएको थियो । नियमित प्रक्रियाअन्तर्गत ती रुख कटान गरिएका हुन् । अन्य रुखको हकमा वन नियमावली २०७९ को तेस्रो संशोधनको नियम ३६ को उपनियम ६ अनुसार जङ्गलभित्रको बाटो, विद्युत्, टेलिफोन टावर, हवाई सुरक्षालाई जोखिम परेको अवस्थामा हाँगाबिँगा वा रुखै हटाउनसक्ने व्यवस्थाअनुरुप कटान सुरु गरिएको हो । थप रुख पनि अध्ययन गरी कटान गरिने उहाँले जानकारी दिए । वैशाख महिनाभित्रमा देवघाट क्षेत्र विकास समितिले रुख कटान गरी वन कार्यालयलाई बुझाउने र जेठ महिनामा ती काठ बोलपत्र आह्वान गरी बिक्री गरिनेछ । धार्मिक महत्व बोकेको देवघाट आवतजावत गर्ने सडकमा रुख परेपछि आवतजावतमा कठिनाइ भएको थियो । कतिपय रुख जुनसुकैबेला ढल्नसक्ने अवस्थामा रहेका थिए । ती रुख बरण्डाभार वन क्षेत्र र सतनचुली एवं जलदेवी सामुदायिक वनमा पर्दछन् । पूर्वपश्चिम राजमार्गको टिकौली क्षेत्रमा, भरतपुरदेखि कालिका नगरपालिका जाने भोजाडदेखि हरिपुर पोष्टसम्म र लामाटोलदेखि पदमपुरसम्मका सडक किनारका जोखिमयुक्त, रुख पहिचानको काम सुरु गरिएको छ । सो क्षेत्र वरण्डाभार र नवजागृति सामुदायिक वनमा पर्दछ । कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर अगाडिको खगेरी नहरमा रहेको रुख कटानका लागि अनुगमन सुरु गरिएको छ । भरतपुर महानगरपालिकाको आग्रहमा वन कार्यालयले वैशाखभित्रमा जोखिम रहे नरहेको अध्ययन गरी जोखिमयुक्त भएमा कटानका लागि प्रक्रिया अगाडि बढाउने आचार्यले बताउनुभयो । उहाँले सडक छेउ र अन्य जोखिम क्षेत्रमा रहेका रुखलाई प्रचलित कानुनबमोजिम हटाइ जोखिम न्यूनीकरणमा वन कार्यालय लागेको बताए ।

प्रकाशित समय : १४:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु