गृहपृष्ठ न्यूटन आचार्यको ‘पर्वतनन्दिनी’ सार्वजनिक, कम उमेरमै उपन्यास लेखेकोमा प्रशंसा
न्यूटन आचार्यको ‘पर्वतनन्दिनी’ सार्वजनिक, कम उमेरमै उपन्यास लेखेकोमा प्रशंसा
काठमाडौं । साहित्यकार न्यूटन आचार्यबाट लिखित पहिलो उपन्यास ‘पर्वतनन्दिनी’ लोकार्पण गरिएको छ । शनिबार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच उक्त उपन्यास सार्वजनिक गरिएको हो ।
उपन्यास सार्वजनिकपछि वरिष्ठ साहित्यकार डा.नवराज लम्सालले युवा लेखकको सिर्जनात्मक साहसको प्रशंसा गर्दै लेखकमा निर्भिकता आवश्यक हुने बताए ।
उनले भने, ‘हामी प्रत्येकसँग भय हुन्छ, त्यो भय वा डरलाई निर्भिकतासँग निकाल्न सक्ने सामथ्र्य लेखकमा चाहिन्छ । यति धेरै मानिस उपस्थित भएर न्यूटनबारे सकारात्मक कुरा गरिरहँदा, उनले ‘मैले राम्रो लेख्न सकिन कि ?’ भन्ने डर बोकेका छन् भने त्यो भय हटेर गएको छ । यसलाई नोबेल पुरस्कार पाएजस्तै सम्झनुहोस् ।’
लम्सालले २०५९ सालमा जन्मिएका न्यूटनले कम उमेरमै पुस्तक लेखेर सबैलाई एउटै मञ्चमा जोड्न सफल भएको उल्लेख गरे । उनले शिक्षक र चेतनाको विषयमा पनि धारणा राख्दै भने, ‘मैले सँधै रेडियोमा, बीबीसीमा भनेको छु— शिक्षकहरू समाजकै गुरु हुन् । समाज रूपान्तरणको तहमा मानिसहरू आलोचनात्मक चेतनाको कुरा गर्छन्, तर चेतना सत्य हो । चिन्ता, चिन्तन र चैतन्य साश्वत कुरा हुन् । समाजलाई चेतनाशील बनाउने काम गुरुहरूले नै गर्छन् ।’
कार्यक्रममा लेखक न्यूटन आचार्यले आफ्नो पहिलो उपन्यास पर्वतनन्दिनीको लोकार्पण समारोहमा उपस्थित सबैप्रति आभार व्यक्त गरे ।
प्रकाशित समय : १७:५८ बजे



















