गृहपृष्ठ कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
कर्णालीमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव, पर्यटन प्रवर्द्धनमा जोड
सुर्खेत । कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ शुक्रबारदेखि वीरेन्द्रनगरमा सुरु भएको छ । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले शुक्रबार महोत्सव उद्घाटन गरे । महोत्सव उद्घाटन गर्दै मुख्यमन्त्री कँडेलले कर्णालीको कला साहित्य र सांस्कृतिक बिकासका लागि प्रज्ञा प्रतिष्ठान सम्बन्धि ऐन पारित गरी संस्थागत पहल थालिएको बताए ।
उनले कर्णालीको भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि यहाँको सम्भावनाको खोजी गरिनु पर्नेमा जोड दिए । कर्णालीका प्राकृतिक सम्पदाहरुले रमणीय छ । यहाँका धेरै सम्भावनाको पहिचान गरी प्रचार प्रसार गर्नु पर्ने आवश्यकता रहेको मुख्यमन्त्री कँडेलको भनाई छ ।
‘कर्णालीमा सिमित स्रोतसाधनहरुको अधिकतम् प्रयोग गरी कर्णालीका सम्भावनाहरुको खोजि गर्नुपर्छ’ उनले भने, ‘कर्णालीको नकारात्मक प्रचारलाई रोकेर पर्यटन बिकासमा लाग्नुपर्दछ ।’
कार्यक्रम उद्घाटनमा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्रबहादुर शाहीले कर्णालीका सम्पदाहरुको पहिचान गराउन चलचित्र क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । चलचित्र निर्माणका लागि प्रर्याप्त स्थानहरु हुँदापनि भौगोलिक विकटताका कारण चलचित्र छायाङकनको लागि रोजाइमा पर्न नसकेको बताए ।
‘काठमाडौंदेखि टाढा भएपछि यहाँ चलचित्र सुटिङ गर्न निर्माताहरु आउन मान्ने अवस्था छैन,’ उनले भने, ‘त्यसका लागि सिमित समयसम्मका लागि भएपनि कर्णालीमा छायाङ्कन गर्न आउँदा भाडामा सहुलियत दिनुपर्छ ।’
महोत्सवमा विभिन्न बिषयहरुमा छलफल र बहसका श्रृङ्खलाहरु चलाइएको छ । कर्णालीको पर्यटन सम्भावना र राज्यको दायित्व बिषयमा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राजिव बिक्रम शाह, नेपाल उद्योग वाणिज्य महासंघका कर्णाली प्रदेशका अध्यक्ष घनबहादुर रावतलगायतले छलफल गरेका थिए ।
नेपाली चलचित्रको प्रवद्र्धनसँगै चलचित्र पर्यटनको सम्भावनालाई उजागर गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको आयोजकले बताएका छन् ।
‘घूमौं कर्णाली, हेरौं कर्णाली’ भन्ने नारा तय गरिएको छ । कर्णाली क्षेत्रलाई चलचित्र र पर्यटनको केन्द्रबिन्दुका रूपमा स्थापित गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गरिएको बताइएको छ ।
कर्णालीका प्रचुर सम्भावना हुँदाहुँदै पनि पर्यटन विकास तथा चलचित्रसम्बन्धी गतिविधि न्यून रहेको अवस्थालाई मध्यनजर गर्दै विगत तीन वर्षदेखि महोत्सवले नयाँ अभियानको थालनी गरेको महोत्सवका निर्देशक चक्रबहादुर चन्दले बताए ।
कर्णालीका कथा, भाषा, भेषभूषा, कला, संस्कृति, परम्परा र जीवनशैलीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पुर्याउन महोत्सवले भूमिका खेल्ने उनको भनाई छ । ‘कर्णालीमा चलचित्र पर्यटनको अत्यन्तै ठूलो सम्भावना छ, उनले भने,‘यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउन महोत्सवले सेतुको काम गर्नेछ ।’
महोत्सवका सल्लाहकार डा. महेन्द्रकुमार मल्लले चलचित्र र पर्यटनको संयोजनले समग्र देशको आर्थिक विकासमा टेवा पुग्ने बताए । उनका अनुसार चलचित्र पर्यटनको माध्यमबाट कर्णाली मात्र होइन, समग्र राष्ट्रको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न सकिन्छ । महोत्सवले चलचित्रमार्फत जलवायु परिवर्तनको सन्देश प्रवाह गर्ने तथा यस विषयमा बनेका चलचित्रलाई प्रोत्साहन गर्ने योजना पनि डा मल्लको भनाई छ ।
महोत्सवमार्फत कर्णालीका पर्यटकीय तथा धार्मिक स्थल, सम्भावित छायाङ्कन क्षेत्र तथा मौलिक संस्कृतिलाई चलचित्रकर्मीहरूमाझ पुर्याउने योजना रहेको छ । महोत्सवले यसवर्ष कर्णालीका लुकेका कथालाई उजागर गर्ने उद्देश्यले चलचित्र कथा प्रतियोगिता पनि घोषणा गरेको छ । हाल विशेषज्ञहरूबाट कथा छनोट प्रक्रिया जारी रहेको र विजेतालाई एक लाख रुपैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ ।
शुक्रबार सुर्खेतमा सुरु भएको महोत्सव शनिबार सल्यानको कुपिन्डे दहमा हुनेछ । सरकारले घोषणा गरेको ‘घुम्नै पर्ने १०० पर्यटकीय गन्तव्य’ सूचीमा समावेश कुपिण्डे तालको प्रचार–प्रसार गर्दै आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको बनगाड कुपिन्डे नगरपालिकाले जनाएको छ ।
नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष, नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत, चलचित्र निर्माता–निर्देशक तथा राष्ट्रियस्तरका कलाकारहरूको विशेष उपस्थिति रहने जनाइएको छ । महोत्सवमार्फत चलचित्र पर्यटन र स्थानीय कला–संस्कृतिको प्रवर्धन गर्ने लक्ष्य राखिएको छ । कार्यक्रममा स्थानीय लोकनृत्य, भेषभूषा तथा मौलिक सांस्कृतिक प्रस्तुति समेत समावेश गरिनेछ ।
नगरप्रमुख कर्णबहादुर बुढाथोकीले प्राकृतिक सौन्दर्यले भरिपूर्ण कुपिण्डे ताललाई चलचित्र पर्यटनसँग जोडेर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा परिचित गराउने लक्ष्य रहेको बताए । ‘स्थानीय कला, संस्कृति र मौलिक पहिचानलाई संरक्षण गर्दै पर्यटन विकासमा नयाँ आयाम थप्ने अपेक्षा गरेका छौँ ।’
प्रकाशित समय : १६:३६ बजे



















