गृहपृष्ठ जापानद्वारा सुरक्षा कारणले विदेशी अधिग्रहण रोक्ने तयारी
जापानद्वारा सुरक्षा कारणले विदेशी अधिग्रहण रोक्ने तयारी
राष्ट्रिय सुरक्षासम्बन्धी जोखिमलाई आधार बनाउँदै जापान सरकारले एक प्रमुख औद्योगिक मेसिन निर्माता कम्पनीको विदेशी अधिग्रहण प्रयास रोक्ने तयारी गरेको छ । दक्षिण कोरियामा आधारित निजी इक्विटी कोष एमबीके पार्टनर्सद्वारा टोकियोस्थित माकिनो मिलिङ कम्पनी खरिद गर्ने प्रस्तावलाई सरकारद्वारा निलम्बन गर्न सिफारिस गरिएको अधिकारीहरूले जनाएका छन् ।
अर्थमन्त्री सात्सुकी कटयामाले बिहीबार पत्रकारहरूलाई जानकारी दिँदै माकिनो मिलिङलाई पूर्ण रूपमा अधिग्रहण गर्ने एमबीके पार्टनर्सको प्रस्तावलाई रोक्नुपर्ने निष्कर्षमा सरकार पुगेको बताए । उनका अनुसार माकिनो मिलिङका उत्पादनहरू जापानका रक्षा उपकरण निर्माणमा व्यापक रूपमा प्रयोग हुने भएकाले यस प्रकारको लगानीले राष्ट्रिय सुरक्षामा जोखिम निम्त्याउन सक्ने मूल्याङ्कन गरिएको छ ।
सरकारी सिफारिस बुधबार नै जारी गरिएको हो । जापानको विदेशी मुद्रा तथा व्यापार कानूनअनुसार राष्ट्रिय सुरक्षासम्बन्धी जोखिम रोक्न यस्तो निलम्बन आदेश जारी गरिएको यो दोस्रो घटना भएको पनि उल्लेख गरिएको छ ।
सन् १९३७ मा स्थापना भएको माकिनो मिलिङ कम्पनीले एयरोस्पेस, अटोमोबाइल, चिकित्सा उपकरण तथा सेमिकन्डक्टर उद्योगका लागि अत्यावश्यक मेसिन उपकरण उत्पादन गर्दै आएको छ । कम्पनीले आफ्नो वेबसाइटमार्फत आफूलाई विश्वस्तरीय औद्योगिक मेसिन उपकरण निर्माता भनेर परिचित गराएको छ ।
एमबीके पार्टनर्सले भने जापान सरकारबाट प्राप्त सूचनाप्रति आश्चर्य व्यक्त गरेको छ । कम्पनीका अनुसार माकिनो मिलिङका उत्पादनहरूमा सैन्य प्रयोगको उच्च सम्भावना भएका संवेदनशील सामग्रीहरू समावेश रहेको जानकारी सरकारले दिएको छ । अधिग्रहण प्रक्रिया जुन महिनाको अन्त्यसम्म स्वीकृत हुने अपेक्षा गरिएको अवस्थामा यस्तो निर्णय आएको कोषले जनाएको छ ।
एमबीके पार्टनर्सले अब सरकारको निलम्बन सिफारिसलाई स्वीकार गर्ने वा नगर्ने विषयमा मे १ सम्म निर्णय गर्नुपर्नेछ । यस निर्णयले जापानको विदेशी लगानी नीति र राष्ट्रिय सुरक्षाबीचको सन्तुलनमाथि पुनः बहस सुरु गराएको छ ।
प्रकाशित समय : १५:३९ बजे



















