nmb bank

गृहपृष्ठ वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा

वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा

वर्षौंदेखि जीर्ण नहर मर्मत नहुँदा किसान मर्कामा

पर्वत । वर्षौंदेखि जीर्ण अवस्थामा रहेको सिँचाइ नहर मर्मत नहुँदा धानखेतीको पकेट क्षेत्रका रूपमा रहेको पर्वतको फलेवासका किसान पर्कामा परेका छन् । फलेवास नगरपालिका–४, ५ र ६ का किसानले सिँचाइका लागि ४० वर्षदेखि प्रयोग गर्दै आएका उक्त सिँचाइ नहर मर्मत नहुँदा समस्यामा परेका हुन् ।

विसं २०४१ मा निर्माण भएको नहर हालसम्म मर्मत नभएको स्थानीय बताउछन् । सात किलोमिटर लामो नहर फलेवास र माटेदवल गरी दुई शाखामा विभाजन गरिएको छ । शाखा नहर पनि मर्मत नहुँदा जीर्ण अवस्थामा पुगेको किसानको गुनासो छ ।

नहरबाट करिब एक हजार १०० परिवार लाभान्वित हुँदै आएका फलेवास–६ देविस्थानका कृषक ओमप्रसाद भुसालले जानकारी दिए। धान, आलु, गहुँ, तोरी, फापर, जौलगायत विभिन्न खाद्यान्न बाली उत्पादन हुँदै आएको उनले बताए । उक्त नहरबाट २९६ हेक्टर जमिनमा सिँचाइ हुँदै आएको छ ।

लमायखोलाको मुहानबाट सुरु हुने फलेवास सिँचाइ नहर जिल्लाको सबैभन्दा ठूलो र लामो नहरका रूपमा चिनिने फलेवास जल उपभोक्ता समितिका सचिव किशोर रेग्मीले जानकारी दिए ।

नहर मर्मत नहुँदा हिउँदे सिँचाइ ठप्प बनेको छ भने वर्षायाममा धानको बीउ राख्न र रोपाइँ गर्न समस्या हुँदै आएको किसान भुसालले गुनासो गरे । नहर मर्मतका लागि कुनैपनि निकायवाट पहल नभएको उहाँको भनाइ छ । “सिँचाइ नहर मर्मत नहुँदा पानी पाइँदैन, खेतबारीमा उब्जनी पनि घट्दै गएको छ । कतिपय खेत बाँझै राख्नुपर्ने अवस्था छ । बर्खामा खेती गर्ने ठाउँमा नहर नबन्दा हिउँदमा खेती गर्न पाइएको छैन । हरेक वर्ष पहिरो पन्छाउँदै नहर सफा गर्दै पानी ल्याउनुपर्ने बाध्यता छ”, उनले भने ।

पछिल्लो समय जीर्ण नह् मर्मत नहुँदा समस्या झन् जटिल बन्दै जाँदा बर्सेनि पहिरोको जोखिम पनि बढाएको किसान रमेश चापागाईंले बताए । वर्षायाम सुरु भएसँगै नहरका विभिन्न स्थानमा पहिरो खस्ने र संरचना भत्किने क्रम दोहोरिने गरेकाले सरोकार भएका निकायले तत्काल समस्या समाधान गर्नुपर्नेमा जोड दिए । किसानले सामान्य मर्मत गरेर प्रयोग गरे पनि केही समयपछि पुनः बिग्रने भएकाले समस्या दीर्घकालीन रूपमा समाधान हुन नसकेको भनाइ छ ।

तीनै तहका सरकारको बेवास्ताका कारण उर्बराभूमि बाँझो हुँदै गएको चापागाईंले बताए । एकातिर पानीको स्रोत सुक्ने, अर्कोतर्फ नहर मर्मत नहुने कारणले किसानको खेतीपातीतर्फ आकर्षण घट्दै गएको चापागाईंले धारणा राखे । नहर सुधारका लागि बर्सेनि बजेट आउने गरेको भन्दै त्यो अत्यन्त न्यून हुने गरेकाले दीर्घकालीन समाधान भने हुन नसकेको बताए ।

फलेवास जल उपभोक्ता समितिका सचिव रेग्मीका अनुसार नहर मर्मतका लागि आवश्यक बजेट नहुँदा समस्या झन् जटिल बन्दै गएको छ । गत आर्थिक वर्ष २०८१/०८२ मा नहर मर्मतका लागि ७० लाख बजेट आएको जनाउँदै उहाँले यस वर्ष घटेर १० लाखमा सीमित भएको बताए ।

“गत वर्ष आएको बजेटले करिब ३०० थान ग्यावियन जाली भर्ने र ४५ मिटर वाल लगाउने काम ग-यौँ, तर त्यो पनि पर्याप्त भएन । अझै थप काम गर्नुपर्ने देखिएको छ”, रेग्मीले भने । उनका अनुसार यस वर्ष आएको १० लाखबाट देवीस्थानस्थित नगर अस्पताल नजिकको शाखा नहरमा मेसिनरी वाल लगाउने तयारी गरिएको छ ।

नहरलाई दीर्घकालीन रूपमा सुधार गर्न कम्तीमा रु तीन करोड आवश्यक पर्ने समितिका सचिव रेग्मीले अनुमान गरे । “त्यो रकम उपलब्ध भए अझै करिब पाँच किलोमिटर नहर आरसिसी गर्न पाएमा सिँचाइ तथा पहिरोको समस्या कम हुने थियो”, उनले भने ।

हाल मुख्य नहरका स्लेपहरू जीर्ण भइसकेका छन् भने शाखा नहरहरूको अवस्था पनि उस्तै छ । माटोको कुलो भएकाले पानी चुहिने समस्या बढ्दै गएको छ । उपभोक्ता समितिका सदस्य दुर्गादत्त तिवारीले नहर मर्मत तथा व्यवस्थापनमा नगरपालिका र प्रदेश सरकारले विशेष पहलसहित समस्या समाधान गर्नुपर्नेमा जोड दिए । दीर्घकालीन रूपमा समस्या समाधान नहुँदा स्थानीय किसान प्रत्यक्ष मारमा परेका उनको भनाइ छ ।

तिवारीका अनुसार किसानले दीर्घकालीन समाधानका लागि पक्की नहर निर्माण, पहिरो नियन्त्रणका ठोस उपाय, पानीका स्रोतको संरक्षण तथा पर्याप्त बजेट विनियोजन गर्न सम्बन्धित निकायसँग माग गरेका छन् । सिँचाइको समस्या समाधान नहुँदा कृषिमा निर्भर अधिकांश किसान प्रत्यक्ष मारमा परेका हुन् ।

प्रकाशित समय : १६:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु