गृहपृष्ठ प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह
प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासको पक्षमा छः मुख्यमन्त्री शाह
कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले प्रदेश सरकार सञ्चार क्षेत्रको समग्र विकासका पक्षमा रहेको बताएका छन ।
सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने सङ्घीय सरकारको परिपत्रको विरोधमा नेपाल पत्रकार महासङ्घ केन्द्रीय समितिले घोषणा गरेको दबाबमूलक अभियानअन्तर्गत महासङ्घको सुदूरपश्चिम प्रदेश समितिले आज धनगढीमा आयोजना गरेको छलफल कार्यक्रममा मुख्यमन्त्री शाहले सरकारले पत्रकारिता क्षेत्रलाई सहयोग पुग्ने वातावरण बनाउनुपर्ने उल्लेख गर्दै प्रदेश सरकार त्यसमा प्रतिवद्ध रहेको बताए ।
मुख्यमन्त्री शाहले सुदूरपश्चिम प्रदेशसभामा आमसञ्चार विधेयक टेबुल भएको जानकारी दिँदै त्यसलाई सम्पूर्ण मिडिया क्षेत्रले अपनत्व गर्नेगरी तथा समग्र सञ्चार क्षेत्रको विकासमा टेवा पुग्ने गरी छलफल गरेर पास गरिने बताए । उनले सङ्घीय सरकारको परिपत्रले विशेषगरी निजी क्षेत्रका मिडिया समस्या परेका उल्लेख गर्दै यसमा सरकारले निश्चित मापदण्ड बनाउनुपर्ने सुझाव दिए ।
निजी तथा सरकारी सञ्चारमाध्यमलाई निश्चित मापदण्ड बनाएर अगाडि बढाउन मुख्यमन्त्री शाहले सङ्घी सरकारलाई आग्रहसमेत गरे । सूचना सम्प्रेषण सँगसँगै सञ्चार क्षेत्रमा लागेकाको जीविकोपार्जनको वातावरण सरकारले बनाउनुपर्ने उनको भनाइ थियो ।
छलफलमा महासङ्घका प्रदेश अध्यक्ष भरतबहादुर शाहले मिडिया क्षेत्रको समग्र अवस्थाका बारेमा मुख्यमन्त्री शाहलाई जानकारी गराएका थिए । उनले निजी क्षेत्रका मिडिया धारासायी बन्दै गएकाले त्यसतर्फ प्रदेश सरकारको ध्यान जानुपर्ने बताए ।
प्रकाशित समय : १६:०३ बजे



















