nmb bank

गृहपृष्ठ रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ४ पालिकाका ५० हजार बढी नागरिकलाई सेवा प्रवाहमा सहज

रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ४ पालिकाका ५० हजार बढी नागरिकलाई सेवा प्रवाहमा सहज

रास्कोटमा इलाका प्रशासन कार्यालय सञ्चालन, ४ पालिकाका ५० हजार बढी नागरिकलाई सेवा प्रवाहमा सहज

सुर्खेत । कालिकोटको रास्कोट नगरपालिकामा इलाका प्रशासन कार्यालय स्थापना गरिएको छ । सोमबारदेखि कार्यालयबाट सेवा सञ्चालन गरिएको छ ।

कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले एक समारोहकाबिच इलाका प्रशासन कार्यालय तथा नागरिक सेवाको उद्घाटन गरेका हुन् । लामो समयको प्रतीक्षापछि रास्कोटवासीले घर नजिकै प्रशासनिक सेवा पाउने भएका छन् ।

इलाका प्रशासन कार्यालय सञ्चालनसँगै कालिकोटका चार स्थानीय तहका नागरिकले एक दिनको यात्रामा सदरमुकाम आएर नेपाली नागरिकताको प्रमाण पत्र र राष्ट्रिय परिचय पत्र बनाउनु पर्ने सास्ती अन्त्य भएको छ । इलाका प्रशासनबाट रास्कोट नगरपालिका, सान्नि त्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सेवा लिन सहज हुनेछ ।

इलाका प्रशासन कार्यालयबाट सेवा शुभारम्भ गर्दै कर्णालीका पूर्व मन्त्री तथा प्रतिनिधिसभा सदस्य महेन्द्रबहादुर शाहीले संघीयताको मर्म अनुसार रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गरिएको बताए । आफूले चुनावको बेला गरेको प्रतिबद्धता अनुरूप इलाका प्रशासन कार्यालय स्थापनाका लागि लागेको उनको भनाई छ ।

‘२०७९ सालको चुनावी घोषणापत्रमा हामीले रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने प्रतिबद्धता गरेका थियौ’ उनले भने, ‘त्यही प्रतिबद्धता पूरा गर्न हामी अहोरात्र खट्यौ । अरू दलहरू र स्थानीय सरकारले सहयोग गरे पछि इलाका प्रशासन स्थापना गर्न सफल भयौँ ।’जनतालाई सहज सेवामा पहुँच पुर्याउनु संघीयताको मर्म भएको भन्दै उनले संघीय व्यवस्थामा मात्र जनताले घरदैलोमा सहज सेवा पाउने बताए ।

पछिल्ला दिनमा संघीयता जोगाउनु चुनौती भएको भन्दै यो व्यवस्था जोगाउन सबै दलहरू एकजुट हुनु पर्ने आवश्यकता उनले औँल्याए ।‘संघीयता जोगाउन सके मात्र जनतालाई सहज सेवा, पूर्वाधार विकास र सामाजिक न्यायका काम गर्न सकिन्छ’ उनले भने, ‘त्यसैले संघीय व्यवस्था कायम राख्दै बाँकी उपलब्धि हासिल गर्नु पर्छ ।’कालिकोटका प्रमुख जिल्ला अधिकारी गोकर्णराज सुयलले संघीयता र समावेशिताको अवधारणा अनुरूप रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गरी नागरिकलाई सहज सेवा प्रवाहको सुरुवात भएको बताए ।‘नागरिकको घरदैलोमा सेवा पु¥याउन सरकार लागिरहेको छ’ उनले भने, ‘राहदानी घरदैलोमै पुगाउने कामको थालनी भएको छ, अब राष्ट्रिय परिचय पत्र कसरी पु-याउन सकिन्छ भन्ने विषयमा छलफल भईरहेको छ ।’रास्कोटमा इलाका प्रशासन कार्यालय स्थापना गर्न सबै राजनीतिक दल र चार वटै स्थानीय तहको भूमिका रहेको भन्दै उनले त्यसको प्रशंसा गरे । हाल इलाका प्रशासन कार्यालयमा ६ जना जनशक्तिबाट सेवा प्रवाह गरिने उनले जानकारी दिए ।शाखा अधिकृत कार्यालय प्रमुख रहने र नायब सुब्बा २ जना, कार्यालय सहयोग २ जना र एक जना सहायक कम्युटर अपरेटरको दरबन्दी रहेको उनले जानकारी दिए । रास्कोटमा इलाका प्रशासन संचालन भएपछि चार पालिकाका ५० हजार बासिन्दालाई सहज हुने छ ।

स्थानीयवासी खुसीकालिकोटको पचालझरना गाउँपालिका–४ कि सलिना सेजुवालले पहिलो पटक रास्कोट इलाका प्रशासन कार्यालयबाट नागरिकताको प्रमाण पत्र लिइन् । नागरिकता लिएपछि घर नजिकै नागरिकता लिन पाउँदा खुसी लागेको बताइन् । एक घण्टाको यात्रापछि रास्कोट पुगेर नागरिकता प्रमाणपत्र प्राप्त गरेकी सलिनाले इलाका प्रशासन कार्यालयको स्थापनाले आफूजस्तै धेरैलाई सहज हुने बताइन् ।‘मान्म जानु परेको भए धेरै दिन लाग्थ्यो ।

होटेलमा बस्नु पथ्र्यो’ उनले भनिन्, ‘घर नजिकै नागरिकता लिन पाउँदा खुसी लागेको छ । यसले समय र खर्च जोगिएको छ ।’रास्कोट नगरपालिका–५ का ८२ वर्षीय सर्जन रोकायाले सोमबार नागरिकताको प्रतिलिपि रास्कोटबाटै लिए पछि खुसी व्यक्त गरे । एक वर्ष अगाडि हराएको आफ्नो नागरिकताको प्रतिलिपि लिन टाढा भएकोले सदरमुकाम नगएको उनले बताए । ‘एक वर्ष अघि नागरिकता हरायो’ उनले भने, ‘मान्म गएर प्रतिलिपि लिन समय र खर्च दुवै लाग्ने भए पछि बुढेसकालमा झन्झट मानेको थिएँ । घर नजिकै भए पछि पहिलो दिनमै लिएँ ।’रास्कोटमा इकाका प्रशासन कार्यालय स्थापना भई सेवा शुभारम्भ भए पछि सलिना र सर्जन जस्तै रास्कोट नगरपालिका, शान्नित्रिवेणी, पचालझरना र पलाता गाउँपालिकाका नागरिकलाई सहज सेवा लिन सजिलो भएको छ । चार स्थानीय तहका नागरिकले तत्काल नागरिकता प्रमाण पत्र र राष्ट्रिय परिचय पत्रको सेवा इलाका प्रशासन कार्यालयबाट लिन पाउने भएका छन् ।

प्रकाशित समय : ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु